बेइजिङ डायरी
नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी साइकलमा सवार एउटा फोटो अहिले पनि नेपाली सञ्चार माध्यममा देखा पर्छ।
नेपालका कम्युनिस्ट नेताको 'सादगीपन' झल्काउने उक्त फोटो अहिलेका 'सुविधाभोगी' नेताहरूलाई व्यंग्य प्रहार गर्न पनि प्रयोग भइरहन्छ।
नेपाली समाजमा साइकल आर्थिक तथा सामाजिक वर्ग विभाजनको द्योतक पनि बन्छ। साइकल चढ्नेलाई हेयभावले हेर्ने चलनका पछाडि समाजको समृद्धि होइन, लघुताभास लुकेको हुन्छ भन्ने कुरा छिमेकी मुलुक चीनबाट थाहा हुन्छ।
यति बेला चीन विश्वको दोस्रो ठूलो अर्थतन्त्र हो। विश्वका धनी मान्छेहरूमध्ये चीनमा पनि धेरै छन्। विश्वका सबभन्दा महँगा वस्तु उपभोग गर्ने सबभन्दा ठूलो संख्या चीनमै छ।
चीनमा सबभन्दा महँगा कारहरू सडकमा यत्रतत्र देखिन्छन्। बेइजिङमा मात्र ५५ लाख २९ हजार निजी कार छन्। यी मध्ये ६ लाख ४२ हजार विद्युतीय कार रहेको बेइजिङको राष्ट्रिय आर्थिक तथा सामाजिक विकास तथ्यांक–२०२४ मा उल्लेख छ।
त्यसो त बेइजिङमा कार किन्न त्यति सहज छैन। नगरपालिकाको चिठ्ठामा पर्नुपर्छ। कार किन्न चाहने व्यक्तिले आफ्नो आयस्रोत र कर तिरेको विवरण सहित नगरपालिकामा निवेदन दिनुपर्छ। नगरपालिकाले हरेक महिना चिठ्ठा खोल्छ। जसको नाम चिठ्ठामा पर्छ, उसले कार किन्न पाउँछ। नाम नपर्नेले अर्को महिनाको चिठ्ठा कुर्नुपर्छ।
कतिपयले पाँच वर्षसम्म कुरेर बसेका उदाहरण पनि छन्। वातावरण प्रदूषण र ट्राफिक जाम कम गर्न बेइजिङ नगरपालिकाले यस्तो प्रावधान अपनाएको हो।
यो राजधानी सहरका सडकमा महँगा कार मात्र होइन, साइकल पनि उत्तिकै देखिन्छन्। यहाँका धनीमानीले साइकल चलाउँछन्। कसैलाई देखाउन वा बाध्यताले होइन, आफ्नो समय व्यवस्थापन गर्न, स्वास्थ्यमा ख्याल गर्न र वातावरण प्रदूषण कम गर्न चिनियाँहरू साइकल चलाउँछन्।
चीनमा उच्च तहमा रहेका व्यक्तिले पनि साइकल चलाउँछन्। यसै सन्दर्भको एउटा घटना यहाँ उल्लेख गर्छु।
सन् २०१५ मा कान्तिपुर दैनिकका तत्कालीन सम्पादक सुधीर शर्मा र द काठमाडौं पोस्टका तत्कालीन सम्पादक अखिलेश्वर उपाध्याय नेपाली पत्रकारको टोलीमा बेइजिङ आएका थिए। बेइजिङमा रहँदा शनिबार अलिक फुर्सदको समय भएकाले सम्पादकद्वयले चिनियाँ प्रोफेसर हु शिसङसँग भेट गर्न समय मिलाइदिन मलाई अनुरोध गरे।
चिनियाँ समसामयिक अन्तर्राष्ट्रिय सम्बन्ध अध्ययन संस्था 'सिआइसिआइआर' को एसिया तथा ओसियानिक विभागका निर्देशक हुन् प्रोफेसर हु शिसङ। चिनियाँ राज्य परिषदको अधिनस्त यो 'थिंकट्यांक' ले चीनको वैदेशिक नीति बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। प्रोफेसर हु नेपालविज्ञ पनि हुन्। उनले दर्जनौं पटक नेपाल भ्रमण गरेका छन्।
सडकपेटीमा मिलाएर राखिएका साइकल। तस्बिरः चेतनाथ आचार्य
मैले प्रोफेसर हुसँग फोनमा कुरा गरेँ। शनिबार परेकाले उनले साँझको समयमा भेट्न सकिने बताए। दुवै पक्षको भनाइ, सो भेटघाटमा म पनि उपस्थित हुनुपर्ने थियो। किनभने दुवै पक्षबीच आपसमा चिनजान थिएन।
सम्पादकद्वय बसेको होटल वानशौमा भेट गर्ने कुराकानी अनुसार म साँझ ट्याक्सी चढेर होटल पुगेँ। ट्याक्सीबाट झरेर होटल छिर्नलाग्दा ट्रिङट्रिङ साइकलको घन्टी बज्यो।
पछाडि फर्किएर हेरेको, प्रोफेसर हु रहेछन्। उनी साइकलमा आएका थिए।
भेटघाटको अभिवादन र छोटो संवादपछि मैले सोधेँ, 'आज किन गाडी नल्याउनुभएको?'
उनले सामान्य रूपमा जबाफ दिए, 'मसँग गाडी छैन। मेरो घर यहाँबाट ८ किलोमिटर दुरीमा रहेकाले साइकलमा आएँ।'
सन् २०१८ मा उनै प्रोफेसरसँग उही सम्पादकद्वयको बेइजिङमा दोस्रो भेटघाटको चाँदोपाँजो मिलाउने जिम्मा पनि मलाई दिइएको थियो।
त्यति बेला शर्मा र उपाध्याय बेइजिङको स्विसोटेल होटलमा बसेका थिए। उक्त होटल बेइजिङको पूर्वतिर रहेकाले प्रोफेसर हुको घरभन्दा २० किलोमिटर दुरीमा पर्थ्यो।
भेट्नासाथ मैले प्रोफेसर हुलाई सोधेँ, 'केमा आउनुभयो?'
मुसुक्क हाँस्दै भने, 'तिथ्येमा आएँ। यो स्थान मेरो घरबाट टाढा भएकाले साइकलमा आउन अलिक कठिन हुन्छ। ट्याक्सीमा महँगो पर्छ, फेरि ट्राफिक जाम पनि त्यत्तिकै। त्यही भएर तिथ्ये रोजेँ।'
प्रोफेसर हुले भनेको 'तिथ्ये' सबवे हो। जमिनमुनिबाट चल्ने मेट्रो रेल अर्थात् सबवेलाई चिनियाँ भाषामा 'तिथ्ये' भनिन्छ।
'तपाईंले अझै गाडी किन्नुभएको छैन,' मैले यस पटक चाहिँ प्वाक्कै सोधेँ।
मेरो प्रश्नलाई सामान्य लिँदै उनले भने, 'धेरै विदेशी साथीहरू मलाई यो प्रश्न गर्छन्। खासमा बेइजिङमा कार किन्न निकै कठिन छ। त्यसमाथि म नजिकैको दुरीमा साइकलमै यात्रा गर्न रूचाउँछु। अलिक टाढा भए तिथ्येले भनेकै समयमा पुर्याउँछ। अहिले त तिथ्ये नपुग्ने ठाउँमा पब्लिक साइकलले अझ सहज भएको छ। तिथ्येबाट निस्किएपछि पब्लिक साइकल लिन्छु।'
विश्वका विभिन्न देशले चिनेको चिनियाँ प्रोफेसर राजधानी बेइजिङमा विदेशीलाई भेट्न जाँदा साइकलमा जान्छन्। बेइजिङको जनजीवनलाई साइकलले सहज बनाएको छ। त्यही भएरै हो, बेइजिङलाई साइकलको अधिराज्य अर्थात् 'किंगडम अफ बाइसाइकल' पनि भनिन्छ।
सन् २००५ मा बेलायती गायिका केटी मेलुवाले गाएको 'नाइन मिलियन बाइसाइकल' अर्थात् ९० लाख साइकल गीत बेइजिङमा भएका साइकलबारे लेखिएको हो।
केटी मेलुवाका म्यानेजर माइक वाट बेइजिङ घुम्न आएको समयमा गाइडले बेइजिङमा ९० लाख साइकल रहेको जानकारी दिएका रहेछन्। यसपछि उनले गीत लेखेर केटी मेलुवालाई गाउन दिए। यो गीत उक्त समयमा बेलायतमा लोकप्रियताका हिसाबले उच्च पाँच स्थानभित्र पर्न सफल भएको थियो।
भाडाका लागि मेट्रो रेल स्टेसन नजिकै राखिएका साइकल। तस्बिरः चेतनाथ आचार्य
कति छन् बेइजिङमा साइकल
सन् २००५ मै बेइजिङमा ९० लाख साइकल थिए भने अहिले पक्कै पनि एक करोडभन्दा बढी हुनुपर्छ। तर यति बेला बेइजिङमा ठ्याक्कै कति साइकल छन् भन्ने तथ्यांक कतै भेटिँदैन। यहाँ निजी साइकल त छन् नै, मोबाइलबाट क्युआर कोड स्क्यान गरेर भाडामा साइकल चलाउन पनि सकिन्छ।
बेइजिङ नगरपालिका यातायात आयोगले सन् २०२५ मे ३० तारिख जारी गरेको सूचना अनुसार बेइजिङमा इन्टरनेट मार्फत भाडामा साइकल दिने तीन वटा कम्पनी छन्।
बेइजिङ मोबाइक टेक्नोलोजीको 'मैथुआन', शाङहाई हेल्लो फुखुई टेक्नोलोजीको 'हारो' र क्वाङ्रचौ छिआन टेक्नोलोजीको 'तिती छिनछिउ' साइकलहरू फरक फरक रङमा सडकपेटीमा राखिएका देखिन्छन्।
यी कम्पनीबाट सञ्चालित भाडाका साइकलहरू सन् २०२४ मा एक अर्ब १४ करोड ४० लाख पटक प्रयोग भएका थिए। दैनिक सरदर ३१ लाख २५ हजार ८ सय पटक प्रयोग भएको पाइन्छ।
भाडामा लिइने यस्ता साइकल सडकपेटीमा राखेर मात्र हुँदैन। व्यवस्थित पार्किङ, मेट्रो रेल स्टेसनबाहिर रहेको साइकलको भिड व्यवस्थापन, त्यस्ता ठाउँमा साँझपख थुप्रिएका साइकललाई अन्यन्त्र लगेर राख्ने कामका लागि उल्लिखित हरेक कम्पनीले दैनिक सरदर २ हजार ७ सय ९१ पटकमा एक लाख ७७ हजार वटा साइकल सम्बन्धित ठाउँमा मिलाउँछन्।
डिजिटल युगमा क्युआर साइकल
सन् २००८ मा सम्पन्न २९ औं गृष्मकालीन ओलम्पिकको पूर्वसन्ध्यामा बेइजिङ नगरपालिकाले साइकल भाडामा लगाउने प्रणाली स्थापना गर्यो। बेइजिङ सहरभरि ३० हजार वटाभन्दा बढी साइकललाई एक हजार वटाभन्दा बढी स्टेसनमा राखिएको थियो।
यस्ता साइकल एक घण्टासम्म निःशुल्क चलाउन पाइन्थ्यो। त्यसपछि एक घण्टाको एक चिनियाँ युआन लाग्थ्यो। नगरपालिकाका यस्ता साइकल स्टेसनमै जडान गरेर राखिएका हुन्थे। आफूले प्रयोग गरेपछि त्यस्तै स्टेसनमा छोड्नुपर्थ्यो।
लगभग ८ वर्ष अगाडि यस्ता साइकल पूर्ण रूपमा विस्थापित भए।
अहिले निजी कम्पनीहरूले क्युआर कोडमार्फत चल्ने साइकल ल्याएका छन्। यस्ता साइकल चलाएको आधा घण्टाको डेढ युआन लाग्छ। साइकल लगेर जहाँ राखे पनि हुन्छ। मोबाइलबाट खुल्ने र मोबाइलबाटै लक हुने भएकाले कसैले चोरेर लाने सम्भावना निकै कम हुन्छ। किनभने मोबाइलबाट खुल्ने भएकाले साइकल कहाँ छ भन्ने सहजै ट्र्याक हुन्छ।
पार्किङमा मिलाएर राखिएका साइकल। तस्बिरः चेतनाथ आचार्य
व्यवस्थापनका लागि ठाउँ सारिँदै गरेका साइकल। तस्बिरः चेतनाथ आचार्य
साइकल चोरी
यसका बाबजुद बेइजिङमा साइकल चोरी हुनु सामान्य मानिन्छ।
चीनमा एउटा भनाइ नै छ — यदि तिम्रो साइकल हराएको छैन भने तिमी बेइजिङवासी नै होइनौ!
कतिपय चिनियाँ त आफ्नो साइकल हराएको कुरालाई औंला भाँचेर गनेपछि मात्र याद गर्छन्।
सन् २००७ मा बेइजिङ प्रहरीले साइकल चोरेको अभियोगमा ३ हजार ७०८ जनालाई पक्राउ गरेको थियो। उनीहरूबाट ११ हजार १११ वटा साइकल बरामद गरेको थियो। त्यस्तै चोरीको साइकल बेच्ने २७ वटा साना बजार पत्ता लागेका थिए।
बेइजिङमा सरदर एक वर्षमा पचास हजार वटाभन्दा बढी साइकल चोरी हुन्थ्यो। अहिले डिजिटल साइकल आएपछि नगन्य हुन थालेको छ।
बेइजिङमा अत्यधिक साइकल चोरी हुने भएकाले सन् २००१ मा साइकल चोरीकै कथामा आधारित 'बेइजिङ साइकल' नामक फिल्म बनाइएको थियो। उक्त फिल्मले बर्लिन अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा महत्त्वपूर्ण पुरस्कार हात पारेको थियो। यो फिल्मले अमेरिकी बक्सअफिसमा पनि राम्रो व्यवसाय गर्न सफल भएको थियो।
निवृत्त शिक्षक मा चिछियाङले पाँच पटक साइकल हराएको कथा चिनियाँ इन्टरनेटमा पाइन्छ।
विश्व विद्यालयका एक प्रोफेसरले थुप्रै पटक साइकल हराएपछि नयाँ किनेको साइकलमा ६ वटा ताला लगाएर 'चोर महोदय, अब पनि चोर्न सक्छौ?' भन्ने सूचना लेखेका थिए रे!
कक्षा लिएर फर्किँदा चोरले उनको साइकल त चोरेको रहेनछ। तर साइकलमा अर्को ताला थपेर सात वटा बनाएर 'के तिमी यो ताला खोल्न सक्छौ?' भन्ने सूचना लेखेको किस्सा निकै रमाइलो छ।
चाइना मिडिया ग्रुपको नेपाली सेवामा कार्यरत सहकर्मी चु मे (नेपाली नाम ललिता) सँग जीप ब्रान्डको गाडी छ। गाडी भए पनि उनी प्रायः साइकलमा यात्रा गरिरहेकी भेटिन्छिन्। उनीसँग दुइटा साइकल छन्।
दुइटा साइकल हुनुको पछाडि रमाइलो किस्सा रहेछ।
केही वर्ष अगाडि उनी मेट्रो स्टेसनको नजिकै साइकल पार्क गरेर मेट्रो रेलबाट कतै गएकी थिइन्। साँझ फर्किएर उनले पार्किङ स्थलमा आफ्नो साइकल खोजिन्। निकैबेर खोज्दा पनि भेटाइनन्। बेइजिङमा साइकल हराउनु सामान्य थियो! प्रहरीकहाँ गएर साइकल हराएको उजुरी गर्न उनलाई संकोच भयो।
विश्वविद्यालय पढ्दा पनि उनको साइकल चोरी भएको थियो।
केही दिनपछि उनले अर्को साइकल किनिन्।
नयाँ साइकल किनेको ६ महिनापछि उनले खाना खाने क्यान्टिन बाहिर आफ्नो पुरानो जस्तै साइकल देखिन्। धेरै समय नचलाएकाले साइकलभरि भूलो थियो। नजिकै गएर हेरिन्। साँच्चै साइकल उनकै थियो। ६ महिना अगाडि हराएको साइकलको साँचो घरमा थियो। साँचो ल्याएर खोल्ने प्रयास गरिन्। साइकल खुल्यो। अनि घर लिएर गइन्।
उनले अट्टहास हाँसोका साथ भनिन्, 'वास्तवमा मेरो साइकल हराएको होइन रहेछ। मैले क्यान्टिन बाहिर राखेर मेट्रो स्टेसनको बाहिरपट्टि खोजेछु। कहाँ राखेको भनेर बिर्सिएकाले अर्को साइकल किन्नुपर्यो।'
आखिर बेइजिङमा साइकल हराउनु सामान्य थियो!
(चेतनाथ आचार्यका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)