किन भएनन् स्त्रीहरु ‘बौद्धिक’?

नेपालका बुद्धिजीवी श्रृंखला-९


नौ वर्षअघि एउटा ‘अल्ट्रा’ वामपन्थी/समानतावादी (वामपन्थ अर्थात कम्युनिज्मको अन्तिम लक्ष्य समानता हो शायद र यसभित्र महिलाको समान सामाजिक उपस्थिति पनि पर्छ) भनेर चिनिएको (अद्यापि चिनिने) दैनिक पत्रिकामा आएको एक ‘वरिष्ठ’ पत्रकार/लेखकको अन्तरवार्तामा भनिएको रहेछ– ‘स्त्रीहरु बौद्धिक हुँदैनन्।’

आज शहरका एक हुल स्त्रीहरुको हातहातमा यो अन्तरवार्ता पुगेको छ र उनीहरु जिल खाएका छन्। पढ्दै जाँदा आफूलाई जति छोडायो त्यति रस आउने ‘रहस्यमयी’ जुनारसँग तुलना गरिएको देखेर उनीहरुको दिमाग यसरी फ्रिज भएको छ, जसरी नौ वर्षसम्म लगातार कोल्ड स्टोरमा राखेर निकालिएको जुनार।

आफ्ना आमाहरु विपरीत आफूले पढ्न लेख्न पाएकोमा यत्रो वर्ष फुर्किएका उनीहरु आज अधबैंसे उमेरमा आइपुग्दा ‘पढेलेखेका हाइफाइहरु त चाइनिज जुत्ताजस्ता हुन्छन्, धेरै टिक्दैनन्’ भन्ने आफ्नोबारेको वर्णन देखेर चकित परेका छन्। अझै पनि बालिका र महिला शिक्षाका लागि यति धेरै पैरवी र सचेतनामूलक कार्यक्रम गरिनुपर्ने समाजमा यो ‘बौद्धिकतापूर्ण’तर्क शिक्षाविद्हरुको कानमा नौ वर्षअघि परेका भए देशमा बालिका र महिला शिक्षाका कस्ताकस्ता योजना बन्ने थिए होलान् भनेर यी स्त्रीहरुले जिब्रो टोकेका छन्।

अन्तर्वार्ताको अर्को प्रश्नोत्तर प्रसंग छ- यो सुनेर (स्त्रीहरु बौद्धिक हुँदैनन् भनेको सुनेर) शहरमा महिलावादीको जुलुस निस्क्यो भने के होला? – ‘निस्के मलाइ के हुन्छ? मलाई लागेको बोल्ने हो।’ नेपाली समाजका बहुसङ्ख्यकलाई यस्तै लाग्छ– स्त्रीहरु बौद्धिक हुँदैनन्। बहुसङ्ख्यकलाई यो पनि लाग्छ– स्त्रीहरु बौद्धिक नहुनु,  हुन नसक्नु वा नपाउनु ‘महिलावादी’को मात्र समस्या हो।

हजारौं वर्ष पुरानो सिंगो सामाजिक संरचना यसमा कतै पनि जिम्मेवार छैन। यो सब सुनेर महिलावादी जुलुस निकाल्दैनन् पनि किनकि घरभित्र र बाहिर उनीहरुका अरु सयथरीका लडाईं छन्। त्यसैले सबै ‘बौद्धिक’हरु आफूलाई ‘मन लागेको’ बोलिरहन्छन्। समाजमा त जतासुकै यस्ता व्यक्ति छन्, त्यो कुनै नौलो कुरा भएन।

तर समावेशी र समतामूलक समाजको वकालत गर्ने, महिलाको सम्मानजनक सामाजिक सहभागिताको रटान लगाउने ‘राष्ट्रिय’ मिडियामा समेत यस्ता व्यक्तिहरु पुस्तापिच्छे कुण्डली मारेर बसेका देखिन्छन्, जसले कहिलेकाहीं निरास बनाउँछ। स्त्रीहरु बौद्धिक हुँदैनन् भनेर सोच्नेकै नयाँ ‘नस्ल’ समेत हुर्किरहेको छ र त्यसले देशका प्रतिष्ठित सञ्चारमाध्यमहरुको ‘जाज्वल्यमान’ पुस्ताको रुपमा आफ्नो छवि बनाएको छ, जुन अत्यन्त अफसोचजनक कुरा हो।

कुनै ‘आधुनिक’ महिलाले सार्वजनिक रुपमा कुनै ‘ठूला’ भनिएका व्यक्ति(पुरुष)सँग सवालजवाफ गरेको देख्नेबित्तिकै यी जाज्वल्यमानहरुको दिमागमा यही ‘स्त्रीहरु बौद्धिक हुँदैनन्’ले घन्टी बजाउन थाल्छ।

किनकि आजसम्म समाजमा ‘आइमाई भएर बढ्ता नबोल्’ मात्र सुनेर हुर्केको, घरमा आमालाई बाउले गरेको व्यवहार देखेको, सानैदेखि आफूले दिदीबहिनी वा आज श्रीमतीलाई त्यही भनेको र ‘आइमाईको बुद्धि हुँदैन’को रटान लगाउने ‘अग्रज’द्वारा नै दीक्षित, उनलाई नै पितातुल्य, दाजुतुल्य ठान्ने उनीहरुलाई ‘आइमाई’हरु पनि निर्धक्क बोल्न सक्छन् भन्ने विश्वास मनदेखि नै छैन। उसले तर्क गरेको सुन्न/सहन सक्ने क्षमता नै छैन।

कुनै ‘आइमाई’सँग साँच्चिकै आत्मविश्वासपूर्वक बोल्ने क्षमता होला र बहस गर्नका लागि उसँग साँच्चिकै कुनै मुद्दा नै थियो होला भनेर यो जमात विश्वासै गर्न सक्दैन।

‘अरे! फलानीजस्ती ‘भुरे–टाकुरे’ले फलानोजस्तो ‘ठूलो’ मान्छेसँग सवालजवाफ कसरी गर्न सकी? यत्तिकै त पक्कै सकिन।’ ‘दाइ–दाइ’ भनेर ‘अग्रज’हरुका अगाडि हात मात्र माड्न अभ्यस्त उनीहरुको टाउको आश्चर्यले रिंगेको रिंग्यै हुन्छ। ‘पक्का रक्सी खाइ र रक्सीकै सुरमा के–के बोली बोली’, उनीहरु निष्कर्ष निकाल्छन्। भोलिपल्टै शहरका गसिप अड्डामा पुगेर बान्ता गरिवरि त्यो रिंगटा शान्त पार्छन्– ‘फलानीले रक्सी खाएर फलानो(ठूलो मान्छे)लाई ‘कुटी’।’

यो सब देख्दा-सुन्दा किशोरी उमेरमा छिमेकमा देखेको एउटा बिहाको याद आउँछ। सानैमा बाबुआमा गुमाएर दाजुभाउजुको संरक्षणमा हुर्केकी एकजना दिदी अन्मिएर जानुअघि भाउजुलाई अँगालो हालेर बेस्सरी रोइन्।

भोलिपल्टै छिमेकीहरुले भने ‘अघिल्लो दिन शिवरात्री थियो, गाँजा खाइहोली, त्यही ‘लागेर’ रोएकी हो, नत्र त्यति चर्को स्वरमा को रुन्छ?’ ‘गाँजा लागेकी’ उनले त्यति लामो ९–१० घन्टाको वैवाहिक प्रक्रियाभरि किन ‘असामान्य’ व्यवहार देखाइनन् र अन्मिने बेलामा मात्र किन रोइन् भनेर सोच्नका लागि समाजका ठेकेदारहरुसँग शायद फुर्सद र दिमाग दुवै थिएन।

आखिर बलात्कृत महिलालाई ‘उसैले उक्साइहोला र पुरुष ‘बाध्य’ भयो’ भनिने समाज र यसैका उत्पादन न हौँ हामी सबैजना। ‘कलियुगको बेलैमा जोसमा हुन्न होस, उनकै छोरी तरुनी हामीलाई केको दोष’ शीर्षकको ‘लोकप्रिय’ गीत वर्षौवर्ष घन्काउने सरकारी रेडियो सुनेर हुर्केकाहरुले भरिपूर्ण देश न हो यो।

पुस्तापिच्छे हुर्कने यस्ता केही विशेष नस्लका मर्दहरुलाई लाग्छ, कसैले लगाउने लुगादेखि बोल्ने शब्द र जिब्रोको स्वादसमेत उसको लिंगको आधारमा तोकिनुपर्छ र यो तोकिदिने अधिकार उनीहरुलाई मात्र छ।

आइमाईहरुको आहारविहार, जीवनशैली, कथित आचरण, चरित्र र सिंगो जीवनकै ‘शुद्धता’को चेकजाँच गर्ने गर्ने स्वघोषित जिम्मा लिएको यो नस्ललाई ‘आइमाई’हरुले आफ्नो निर्णय आफैं गरेको र उनीहरुप्रति जवाफदेही नभएको, उनीहरुसँग ‘दकस नमानिदिएको’मा छटपटी हुन्छ।

संसारमा आविष्कार भएका अत्तरदेखि अम्मलसम्मका एक–एक थोपामा आफ्नो मात्र एकाधिकार छ भन्ने ठानेर हुर्केको ‘मर्द’हरुको यो विशेष नस्ललाई यी चीजहरुका एक थोपामात्रैमा पनि कुनै ‘आइमाई’को पहुँच पुगेकोमा असह्य हुन्छ र छाती पोल्छ।

यही पोलेको छाती शान्त पार्न यो जमात अर्की कुनै महिलालाई उक्साउँछ– ‘तिमी त शालीन नि, उ… तिनीहरुजस्ती ‘आतंकवादी’ कहाँ हौ र? तिमी त सीधासादी (दुध पिउनेवाली)।’ र हामी कसरी थाहै नपाई यो जालोमा फँस्छौ र उनीहरुकै ‘माउथपिस’ बनेर बोलिदिन्छौं- ‘म तपाईले सोचेजस्ती आतंकवादी होइन।’

कति चलाखीपूर्वक उनीहरु हामीहरुबीचमै दुध पिउने ‘शालीन’ र रक्सी पिउने ‘आतंकवादी’को फौज तयार पार्छन् र लडाउँछन्। कसरी हामीबीचमा अरुभन्दा कम आक्रामक, शालीन र ‘पुरुषमैत्री’ देखिन तँछाडमछाड चल्छ। दिनहुँ पतिद्वारा आगोले पोलिएका पत्नी र बाबुबाजेद्वारा बलात्कृत र गर्भवती समेत भएका छोरीनातिनीको चित्कारलाई बलपूर्वक दबाइने समाजमा हामीलाई उनीहरुको आवाजको प्रतिनिधित्व गरेर पैरवी गरिरहेका– ‘महिलालाई बिना यातना सामान्य मानवसरह बाँच्न देउ न’ मात्रै भनिरहेका आफूनै साथीहरुको याचना ‘चर्को’, ‘एग्रेसिभ’, ‘उग्र’, ‘आतंकवादीको जस्तो’ र समग्रमा ‘पुरुषविरोधी’ लाग्छ।

कसरी अक्षर खेलाउन जान्ने थरी–थरीका नारी(वादी)हरुको यो साँढे जुधाइमा बझाङको खिरातडीमा कुपोषणले क्लान्त बनेकी साढे चार वर्षीया करिश्मा कुँवरजस्ता बालिकाहरु बाछा मिचाइमा पर्छन् र ज्यान गुमाउँछन्। उनलाई हेरेर परिवारले भन्छन् ‘छोरी मरे अर्की जन्माउँला’ (हेर्नुहोस् यही शीर्षकको समाचार महिलाखबर २०७४–३–१)।

छोरी जन्माएकोमा कपिलवस्तुकी २२ वर्षीया सबिना खातुनजस्ता युवतीहरु घर निकाला भइरहन्छन् (हेर्नुहोस् कान्तिपुर दैनिक २०७४-४-१५ ‘छोरी जन्मेपछि घर निकाला’)। यहाँसम्मको स्थिति आइपुग्दा समेत हामी लेखिरहन्छौं/भिडिरहन्छौं– तिमी शालीन म उग्रवादी। तिमी रक्सी खाने र म दुध पिउने।

सयौं करिश्माहरुले छोरी भएकै कारण ज्यान गुमाउन्जेलसम्म हामीलाई पत्तै हुँदैन, हामीले हाम्रा अक्षरहरुमार्फत सामूहिकरुपमा लड्नुपर्ने त उनीहरुका लागि पो हो। उनीहरुका लागि बाँच्नलायक समाज पो बनाउने हो।

एक त हरेक युग/पुस्तामा ‘आतंकवादी’हरुले बोलेर–लेखेर, अनेकौं लाञ्छना र बदनामी बेहोरेर, सडकमा प्रदर्शन गरेर वा कुटिएर–मारिएर समेत ल्याएको परिवर्तनको अनुकूलनको फाइदा ‘शालीन’हरुलाई बिना कुनै मेहनत मिलेकै हुन्छ। त्यसैले उनीहरु ‘आतंकवादी’ उपाधि टाउकोमा बोक्ने दुख बेहोर्दैनन्।

अर्को हाम्रो साँढेजुधाई देखेर फेरि उही ‘जाज्वल्यमान मर्द’हरुको समूह गसिप अड्डामा अर्को राउण्ड बान्ता गर्न पुग्छ– ‘देख्यौ महिला महिला आफैंआफैंमा लडे। अर्थात् स्त्रीहरुको त बुद्धि नै हुँदैन।’ (अर्थात् उनीहरूलाई लडाइराखेर आफ्नो सत्ता टिकाइराख्ने हाम्रो पितृसत्तात्मक रणनीति सफल भयो)।

कुनै एक महिलाले अर्की महिलाको लेखाइ-बोलाइप्रति देखाएको असहमतिलाई ‘महिला महिला लडेको’ उपाधि भिराइदिने यही जमात फेरि कुनै पुरुषले अर्को पुरुषसँग सार्वजनिक रुपमा देखाएको असहमतिलाई ‘स्वस्थ बौद्धिक बहस’को संज्ञा दिन्छ।

अष्ट्रेलियन सामाजिक भाषाविद् डेल स्पेण्डरले आफ्नो पुस्तक ‘म्यान मेड ल्यांग्वेज’मा लेखेअनुसार समाजमा कसैलाई दिइने उपाधिका लागि प्रयोग हुने एउटै शब्दले समेत पुरुष र महिलाको छुट्टै–छुट्टै अवस्थाको वर्णन गर्दछन्। जस्तो कि ‘प्रो’ अर्थात ‘प्रोफेसनल’ शब्द कुनै पुरुषका लागि प्रयोग भएमा त्यसको अर्थ हुन्छ आफ्नो पेशामा पोख्त कुनै पेशाकर्मी, डाक्टर, वकिल, प्राध्यापक वा अरु केही।

तर त्यही ‘प्रो.’ उपाधि महिलाका लागि प्रयोग हुँदा उसलाई ‘व्यवसायिक रुपमा देहव्यापार गर्ने महिला’ भनेर बुझिन्छ। स्पेण्डरको यही लेखाइलाई उनै ‘जुनार विज्ञ’ वरिष्ठ लेखक/पत्रकारको अन्तर्वार्ताको अर्को प्रसंगसँग जोड्न सकिन्छ। जसमा उनले त्यतिन्जेलसम्म तीन सयजना (९ वर्षपछि यो आँकडा निकै बढिसकेको पनि हुनसक्छ) स्त्रीसँग ‘संगत गरिसकेको’ सगर्व बताएका छन्।

यही स्तरको संवाद कुनै महिला सेलिब्रिटीको आएको भए के हुने थियो होला? सयौं पुरुषहरुसँग ‘बिटुलिएकी’ उनलाई छोइछिटो गर्ने समाजका ‘सुसंस्कृत’हरुको सङ्ख्या कति हजारमा हुने थियो होला।

‘धेरै प्रश्न नगर, तिम्रो टाउको फुट्ला’, आफूसँग शास्त्रार्थ गरिरहेकी गार्गीलाई चुप लगाएका ऋषि याज्ञवल्क्यको कथा पढेर हुर्केको हाम्रो समाजमा याज्ञवल्क्यकै नयाँ संस्करण आज पनि प्रश्न गर्ने कुनै महिलालाई झपार्छ- मैले शब्दसँग ‘खेल्न’ सुरु गर्दा तँ जन्मेकी पनि थिइनस्।’

‘स्त्रीहरु बौद्धिक हुँदैनन्’ भनेको एक दशकपछि अझ दश कदम अगाडि बढ्दै प्रश्न उठाउने स्त्रीहरुको सिंगो समूहको मानमर्दन गरेर उ एक्लैले भन्ने ‘जुर्रत’ गर्छ- ‘तिमीहरुको बुद्धि पनि देखियो।’ कति मूर्खतापूर्ण र हास्यास्पद भ्रम छ उसलाई कि पहिला जन्मनु र पहिला अक्षर चिन्नु कुनै ठूलै ‘कारनामा’ हो र पछि जन्मेकै आधारमा कुनै महिलालाई उसका खेलवाडपूर्ण र वाहियात टिप्पणीहरुमा प्रश्न गर्ने अधिकार रहँदैन।

प्रश्न गर्ने महिलाहरुलाई आफूलाई गार्गीसरहकी विदूषी ठान्ने दुस्साहस गरेको भन्दै ‘शास्त्रीय’ विद्वानहरुको अर्को टोली पनि समानान्तर रुपमा प्रश्नकर्ता महिलाहरुमाथि खनिइ नै रहेको हुन्छ। रमाइलो कुरा याज्ञवल्क्यका नयाँनयाँ संस्करण पुस्तापिच्छे प्रकट भइरहन्छन्।

आफूलाई खाँट्टी मार्क्सवादी (अर्थात समानतावादी) भनाउने नयाँ पुस्ताको कुनै पत्रकार/सम्पादक याज्ञवल्क्यकै नवोदित शैलीमा कुनै अन्तरवार्तामार्फत सामाजिक मुद्दाहरुमा लामो बहस गरेकी लेखक ‘आइमाई’को बारेमा टिप्पणी गर्छ ‘त्यसको त यति लामो अन्तरवार्ता दिने ‘हैसियत’ भएकै छैन।’ एककदम अगाडि बढेर ऊ अन्तरवार्ताकारलाई नै हियाउँछ, ‘तिमी त कस्ताकस्ता (ठूला) मान्छेहरुको अन्तरवार्ता लिएको मान्छे।’

पूँजीवादको अभ्यास गरिने समाजमा बस्छौं हामी। हरेक चीजको मूल्य तोकिने यो दुनियामा बजारले ‘बौद्धिक’ भनिनेहरुको पनि टाउकोको मूल्य तोकिसकेको छ। त्यसैले जतिसुकै समानतावादी भनेर आफूलाई चिनाउनेले पनि यही पूँजीवादी तरिकामा चुर्लुम्म डुबेर कुनै महिलाको बौद्धिकताको मूल्य तोक्दै भन्छ ‘त्यसको त यति बोल्ने हैसियत भाको छैन।’

उ कसैको हैसियत, हाइरार्की र गुणस्तर तोकिदिन्छ– ‘यति वर्ष लेखेपछि आधा लेखक, यति शब्दको अन्तरवार्ता दिन लायक, यति शब्द लेखे तीन चौथाई र यतिवटा किताब लेखेपछि पूरा लेखक।’ सार्वजनिक वृत्तमा महिलाको उपस्थितिलाई नकार्दै उनीहरु यहीबारे प्रश्न गरेकी कुनै अन्तर्राष्ट्रिय पहिचान र प्रतिष्ठाप्राप्त महिलालाई समेत निर्लज्जतापूर्वक जवाफ दिने हिम्मत गर्छन् ‘क्वालिटी’ मुख्य शर्त थियो समावेशीभन्दा।’

समानतामा विश्वास राख्ने सिद्धान्त मार्क्सवादले हैसियत, हाइरार्की र महिलाको सामाजिक अवस्थाको व्याख्या कसरी गर्छ भन्ने प्रश्न गरेर उनीहरुको मुर्खतालाई चुनौती दिने कोही हुँदैन। ‘तिमीहरुको चाहिँ ‘क्वालिटी’को परिभाषा, मापदण्ड र प्रमाण के हो’ भन्ने प्रश्न उनीहरुलाई सोधेर शक्ति क्षीण गराइराख्ने हैरानी महिलाले बारम्बार लिंदैनन्।

किनकी माथि नै भनेजस्तो घरभित्र र बाहिर उनीहरुका अरु पनि सयथरीका लडाइँ हुन्छन्। कुनै महिलाले आफ्नो ‘दुई दिन’को जिन्दगीमध्ये चार दिन उनीहरुलाई नै ‘हैसियत’ र ‘गुणस्तर’ प्रमाणित गर्नका लागि खर्च गर्ने वा अरु काम पनि गर्ने? सार्वजनिक जीवनमा राम्रै पहिचान र पहुँच बनाएका महिलाले समेत सामाजिक सञ्जालमा कुनै अति सामान्य प्रश्न वा बहसको उठान गर्नेबित्तिकै उसको हुर्मत लिन सामूहिक प्रतिकारमा उत्रेका, ‘स्त्रीद्वेशी हौं भन्दा म:म: भन’ भनेजस्तो गरी खनिइरहेका ‘असुरक्षित’ ‘मर्द’हरु(जसमा राष्ट्रिय मिडिया ‘धानेका’हरुको संख्या पनि प्रशस्तै हुन्छ)को झुण्ड देखेर बारम्बार मुख आँऽ को आँऽ भइरहन्छ।

यस्तोमा प्रश्न गर्ने कुनै सर्वसाधारण महिलाको हालत गाउँघर र समाजमा के बनाइन्छ होला? सम्झेर कहाली लाग्छ। यस्तो समाजमा बसेर कुनै महिला पब्लिक इन्टेलेक्चुअलको रुपमा स्थापित कसरी हुन सक्छे, हामी अनुमान मात्र गर्न सक्छौं।

‘पश्चिमका थ्योरीहरु ‘बान्ता’ गरेर ‘नेपाली नारीवाद’ कहीं पुग्दैन।’ सार्वजनिक रुपमा लेख्ने-बोल्ने हामीलाई बारम्बार गरिइने कटाक्ष यिनै हुन्। ‘महिलालाई पनि ‘मान्छे’ मानिदेओ न’ भनेर उठाइने आवाज पनि भाषा र भूगोलपिच्छे फरक हुने हुन् त त्यसोभए? हो रहेछ कि क्या हो भनेर पूर्वकै नारीहरु अर्थात् आफ्नै आमा-काकीहरुसँग सोध्न बस्यो, पुषमा स्कूल भर्ना भएको, बैशाखमा आफ्नी आमाको मृत्यू भएपछि स्कुलबाट निकालिएको, सातवर्षको उमेरदेखि सानो भाइलाई डोकोमा बोकेर ढिकीमा धान कुटेर खाएको जस्तो मुटुमा गाँठो पर्ने अनुभव सुनाउनुहुन्छ आमा।

बाग्लुङ बजारमा हुर्केकी रमा काकीलाई आधाघन्टा माथिको मूलपानी गाउँको स्कूलमा कसरी पढ्न पुग्नुभयो?’  भनेर सोध्दा घरबाट ‘बजारमा पढाए पोइला जान्छन्’ भनेर गाउँतिर पठाएको कहानी सुनाउनुहुन्छ। पाँच कक्षासम्म मात्रै पढेकी काकीको त्यतिखेरै पोइला जाने उमेर कति सोचेका थिए होलान् परिवारले, त्यो अपमानपूर्ण बाल्यकाल पनि उहाँले कति सहज भएर सुनाउनुहुन्छ, सम्झेर उदेक लाग्छ। त्योभन्दा विरोधाभाषपूर्ण छ, छोरीको जीवनसाथी चुन्ने नितान्त नैसर्गिक अधिकारलाई ‘पोइला गएको’ भनिने देशमै ‘मर्दका दशवटी’ जस्ता उखान पनि उत्तिकै सहजतापूर्वक प्रचलित छन्।

त्रि.वि. शिक्षण अस्पतालका वरिष्ठ न्यूरोसर्जन ‘प्रा.डा.’ मामाकी दिदी कान्छी काकी चारकक्षा पढेकी हुनुहुन्छ , अर्का वरिष्ठ इन्जिनियर मामाकी दिदी साहिंली काकी पनि चारै कक्षा पढेकी र मेरी आमाको औपचारिक शिक्षाको अवधि तीन महिनामात्र छ।

सामाजिक रुपमा प्रतिष्ठित र तुलनात्मक रूपमा उदार मानिने मेरै परिवारका एक पुस्तामात्र अघिका महिलाको अवस्था यस्तो छ। न्यूरो सर्जरीका ठूलाठूला राष्ट्रिय–अन्तर्राष्ट्रिय सेमिनारमा ‘लेक्चर’ दिने ‘इन्टेलेक्ट’ मामाकी दिदी काकीको बौद्धिकता किन खुम्चियो त घरभित्रै? जन्मँदै उहाँ ‘बुद्धि नभएकी’को रुपमा जन्मेर त पक्कै होइन होला।

सैनिक सेवाजस्तो हिम्मतिलो पेशामा छिरेका मामाको भन्दा एकप्रतिशत पनि कम हिम्मत नभएकी मेरी आमाको हिम्मतलाई चाहिँ मैले सधैँभरि ‘आइमाई भएर पनि बढ्ता बोल्ने आइमाई’को शीर्षकमा दर्ज भएकै किन देखिराखें? यो सबैमा हाम्रो समाजको सामाजिक राजनीति कतै जिम्मेवार छ कि छैन? मेरी आमाले वा काकीहरुले मामाहरुले जत्तिकै अवसर पाएका भए कहाँ हुन्थे? छोरी हुनुको सट्टा छोरा भएको भए मेरी आमाले स्कुल भर्ना भएको तीन महिनामै आमा बितेका कारण ‘घर धान्नका लागि’ स्कुल छोड्नुपर्ने थियो कि थिएन? वा डाक्टर बनेका मामाकी दिदी काकी दिदी नभएर दाइ भएका भए के बन्नुहन्थ्यो होला?

औपचारिक सार्वजनिक बहस वा बहसका सहभागीहरुसँग अनौपचारिक रुपमा पनि निर्धक्क वादविवाद गर्न सक्ने हिम्मत आफूमा आमाबाटै वंशाणुगत रुपमा सरेको हो कि जस्तो सोचेर बेलाबेला मख्ख पर्ने मेरो बारेमा पनि जब ‘त्यो बढी बोल्छे’ भनेर कसैले गरेको टिप्पणी बेलाबेला कानमा पर्छ, त्यतिबेला लाग्छ– ‘आइमाईको बोली सुन्न नसक्ने’ वंशाणुगत गुण भएका व्यक्तिहरुको बाक्लो जमात पनि म सँगसँगै हुर्किसकेको छ।

चोक-चौतारा, चिया पसल, राजनैतिक पार्टीका कार्यालय, रेडियो-टिभी लगायतका सयौं सार्वजनिक वृत्तमा पुरुषहरुको युगीन कब्जा देख्दादेख्दै पनि भनिन छाडिंदैन– ‘महिलाहरु बढ्ता बोल्छन्।’ स्पेण्डरकै भनाइअनुसार महिलाको बोली (टक)बढ्ता यसकारण लाग्छ किनकि त्यसलाई सधैं मौनता (साइलेन्स)सँग दाँजिन्छ।

पुरुषको बोली (टक) र महिलाको बोली (टक)लाई तुलना गरेर हेर्दा महिलाहरु पुरुषको दाँजोमा निकै कम बोल्छन्। उनकै अनुसार ‘हामीसंग दुईवटा मात्र विकल्प छन्- या त चुप्प लागेर सबै सहने वा ‘बढ्ता बोल्ने’ (‘बिची’) को उपाधि भिर्ने।’

प्राध्यापक कमलप्रकाश मल्लले आफ्ना दुई निबन्ध ‘एन इन्टेलेक्चुअल अफ करिडोर्स अफ पावर’ र ‘द इन्टेलेक्चुअल इन नेपाली सोसाइटी’ मा उल्लेख गरेको ‘बौद्धिक’को परिभाषालाई २०७३ असोज १९ गतेको हिमालखबरमा ‘हाम्रा बौद्धिक’ शीर्षकको रिपोर्टमा यसरी उदृत गरिएको छ, ‘बौद्धिक वर्ग समाजमा यस्ता स्थायी प्रतिपक्षी हुन् जसले चलिरहेका संस्था, मूल्य, मान्यता, व्यवहार, रवैया र बेकारका परम्परामाथि सधैँ आलोचनात्मक दृष्टिकोण राख्छन्।’

त्यसोभए नेपाली समाजमा प्रचलित तीजका गीतहरु के हुन्, जसमार्फत महिलाले पितृसत्तात्मक वैवाहिक व्यवस्थाले महिलामाथि गरेको थिचोमिचोको पचासौं वर्षदेखि विरोध गरिरहेका छन्।

आफूलाई पेटभरि खान नदिएकोमा विरोध गरेका छन्, अघाउञ्जेल खान पाउन पनि वर्षमा एकदिन आमाबाबुको घर आउनुपर्ने दारुण अवस्थाको वर्णन गरेका छन्, वैवाहिक अधिकारजस्तो नितान्त वैयक्तिक अधिकारबाट आफूहरुलाई वञ्चित गर्दै अभिभावकले मन नपरेको मान्छेसँग वा मन नपरेको ठाउँमा बिहा गरिदिएको कुरा बोलेका छन्, पढ्न-लेख्न नपाएकोमा आक्रोश पोखेका छन्, पढेलेखेका पतिहरुले आफूलाइ गरेको होलोहोचोको उल्लेख आफ्ना गीतमा गरेका छन्।

हरेक पुस्ताका महिलाले हरेक वर्ष बढेको बजारभाउ वा राजनैतिक नेतृत्वको अयोग्यताबारे समेत गीतमार्फत टिप्पणी गरेकै छन्। जसलाई सडक, मन्दिर वा चौताराजस्ता सार्वजनिक वृत्तहरुमै (आजको समयमा त रेडियो-टिभीजस्ता सार्वजनिक सञ्चारमाध्यमको समेत प्रयोग गरेर) जम्मा भएर चर्को-चर्को स्वरमा वर्षौंदेखि गाएकै छन्। उनीहरुलाई हजारौंको जनसङ्ख्याले झुरुप्प भएर सुनेकै छन्, मुन्टो हल्लाएर सहमत भएकै छन्।

यति हुँदा पनि उनीहरुले पचासौं वर्षदेखि स्थायी प्रतिपक्ष बनेर चलिआएका संस्था, व्यवहार, मान्यता अर्थात् समग्रमा (पुरुषकेन्द्रित सामाजिक) सत्तालाई दिएको चुनौती किन बौद्धिकताको रुपमा दर्ता भएन? बिना लेखपढ, बिना कापीकलमको प्रयोग वा संग्रह गरेर राख्ने कुनै साधन नहुँदासमेत उनीहरुले कुनबेला ती गीत रचना गरे, कुनबेला र कसरी तिनलाई परिमार्जन गरे र सयौं गीतहरु कसरी आफ्ना छातीभित्रै ‘सेभ’ गरेर संकलित राखे? त्यो क्षमतालाई हामीले कसरी मूल्यांकन वा परिभाषित गर्‍यौं? उनीहरुलाई बौद्धिक कसले मान्यो? खै कसले मान्यता दिएको छ उनीहरुलाई ‘स्थायी प्रतिपक्ष’को रुपमा?

स्पेण्डरले नै आफ्नो किताबमा महिलाका योगदान र उपलब्धीहरु नन-डाटा अर्थात गैर–तथ्याङ्कका रुपमा रहिराखे भनेर लेखेको कुरा ठ्याक्क यहींनेर आएर मेल खान्छ। यही नन-डाटाले नै महिलाको रचनात्मकता, ज्ञान, बौद्धिकता र घरभित्रको घन्टौं लामो र बिना पारिश्रमिकयुक्त श्रमलाइ समेत ‘केही पनि नगर्ने’को श्रेणीमा राख्यो।

नत्र त हिउँदमा टन्न फलेको साग र मूला, कर्कलो र कुभिण्डोलाइ जलमग्न भएर केही तरकारी नपाइने बर्खामासका लागि आमाहरुले गुन्द्रुक, मस्यौरा बनाएर महिनौं पहिल्यै गरेको तरकारीको संग्रह वा प्रशस्त पराल भएको समयमा बुनेको गुन्द्रीमा वर्षभरि पाहुनालाई बिराजमान गराएको जस्ता सीपमूलक योगदान उद्यमशीलता र दूरदर्शिताको रुपमा दर्ता हुँदा हुन्। यसको चर्चा हुँदो हो सार्वजनिक वृत्तमा र उनीहरु दूरदर्शी उद्यमीको रुपमा कुनै सार्वजनिक वृत्त कब्जा गरेर बोलिरहेका हुँदाहुन।

लेखक शारदा शर्माले आफ्नो किताब ‘कम्प’मा काठमाडौंका नेवार महिलाको जीवनशैलीको वर्णन गर्दै एकठाउँमा लेखेकी छन् ‘…पुषको पानीमा मेथीको अचार हाल्थे…।

पुषकै पानीमा मेथीको अचार हाल्नुको पछाडि के विशेष कारण छ? त्यसभित्र लुकेको उनीहरुको ज्ञानको खोजखबर गर्ने जाँगर आजसम्म कसले चलायो? महिलाले परिवारका सम्पूर्ण सदस्यको जीवनशैली र स्वास्थ्य व्यवस्थापनमा प्रयोग गरेको ज्ञान र सीप सधैं नन-डाटा नै रहिराख्यो र उनीहरु ‘बुद्धि नभएका’ नै रहिराखे।

औषधिका बारेमा जानकारी राख्ने अक्षर चिनेको कुनै बाबु आयुर्वेदको ज्ञाता बनेर आयुर्वेदबारे प्रवचन दिने ‘बौद्धिक’ बनिरहेको बेला सँगै घरभित्र सुत्केरी छोरी–बुहारीलाइ ज्वानो, गुँदपाक र दुध–बेसार वा दूध–चमसुर खुवाइराखेका निरक्षर आमाहरुको ज्ञानको कति पनि अभिलेख राखिएन।

घरभित्र, परिवारभित्र उनीहरुले प्रदर्शन गरिरहेको स्वाभाविक र मौन बौद्धिकताको अभिलेखिकरण नगरिनुको मुख्य कारण हो, औपचारिक शिक्षा लिएर सार्वजनिक ठाउँमा गुड्डी हाँक्नेलाई मात्र ‘बौद्धिक’ उपाधिले सम्बोधन गरिने सामाजिक ‘न्यारेटिभ’को प्रचलन। औपचारिक शिक्षामा महिलाको पहुँच रहेन र यस्ता औपचारिक उपाधिको प्रचलन चलाउने वा उपाधिले आफूहरुलाई सुशोभित गराउने पद वा ‘पोजिसन’मा उनीहरु पुगेनन्।

पूर्वमै सम्मानपूर्वक नाम लिइने गार्गी वा मैत्रेयीपछि आजसम्मको दिन आइपुग्दाको ‘ग्याप’ ‘छोरीलाइ स्कूल पठाए मट्टितेल सित्तैमा’ जस्ता सरकारी स्कीमको रुपमा भयानक स्वरुपका साथमा उपस्थित छ। त्यसकै कारण समाजमा लामो कालखण्डसम्म कुनै प्रभावशाली महिला लेखक, समाजशास्त्री, वैज्ञानिक, चिकित्सक वा दार्शनिक निर्मित भएनन् जसले महिलाको व्याकरण प्रयोग गरेर बोल्ने-लेख्ने शब्द-भाषा-लवज वा उपाधिको निर्माण गर्न सकुन्।

औपचारिक शिक्षाको बलमा जुन लिंग त्यहाँसम्म पुग्यो उसले सार्वजनिक मञ्चहरु उपयोग गर्दै अक्षर र बोलीको प्रयोगबाट आफ्नो मात्र उपलब्धि र योगदानको अभिलेख राख्यो र आफूलाई मात्र ‘बौद्धिक’को रुपमा स्थापित गरायो। उसले महिलाको ज्ञान र बौद्धिकताको अभिलेखिकरण गरिदिने दरकार महसुस गरेन। गरोस पनि किन? यसले स्वाभाविक रुपमा सोध्न बाध्य बनाउँछ– यो ‘बौद्धिक’ उपाधि पनि पुरुषसत्ता निर्मित भाषा वा भाष्य (म्यान मेड ल्यांग्वेज) नभएर के हो?

‘पब्लिक इन्टेलेक्चुअल’ अर्थात बौद्धिकहरु लेखपढ गर्छन्, ‘पब्लिक’ अर्थात जनताको हितका पक्षमा बोल्छन्। उनीहरु जनताको अहित हुने कुनै काम गरेमा सत्ताधारीहरुको विरोध गर्छन् चाहे उनीहरु जुनसुकै पेशा वा व्यवसायमा संलग्न होउन्। हिजोआज ‘बौद्धिक’का बारेमा सुनिने पढिने चलनचल्तीका परिभाषा यिनै हुन्।

अर्थात् बौद्धिकहरु भनेका समाजशास्त्रीहरु हुन्, लेखक, चिकित्सक, प्राध्यापक वा अध्येताहरु हुन्। तर आज पनि छोरीहरु चाहिँ ‘छोरीलाई स्कुल पठाए मट्टितेल सित्तैमा’ जस्ता स्कीमहरुको निगाहमा पढिरहेका छन्।

बाबुआमाले मट्टितेल नपाउँदाको घडीमा आफ्नो औपचारिक शिक्षा प्राप्तिको दैलो बन्द हुने त्रासबाट निस्केर कतिजना छोरीहरु समाजशास्त्री, डाक्टर, इन्जिनियर, प्राध्यापक बनुन् र तीमध्येकै पनि ‘वरिष्ठ’ बनिसकेपछि मात्र पाइने पब्लिक इन्टेलेक्चुअलको उपाधि र त्यसपछि मात्र ओगट्न पाइने सार्वजनिक वृत्तहरुमा उनीहरु कहिले पुगुन्।

सार्वजनिक वृत्तमा आफ्नो विज्ञताको प्रदर्शन गर्नुअघि, पब्लिक इन्टेलेक्चुअलको रुपमा स्थापित हुनुअघि उनीहरुले ‘आइमाई’ हुनुका हजारवटा परीक्षा पास गर्नु त छँदैछ।

यी सबै परीक्षा पास गरेरै समेत बनेका महिला विज्ञहरुको विज्ञता पनि अब सार्वजनिक वृत्तमा उपस्थिति जनाउन पुग्नेगरी बाक्लो भैसकेको छ। तर सार्वजनिक बहसका आयोजकहरुको आँखामा उनीहरुको विज्ञता अत्यन्त कम पर्छ। आज बल्लतल्ल कुनै बहसमा भाग लिनका लागि ‘टोकन’स्वरुप केही महिला बोलाइन थालेका छन्।

तर आफ्नै सहरमा हुने एकघन्टाको रेडियो कार्यक्रम वा टि. भी. शोमा बोल्नका लागि उनीहरु तीन घन्टाअघि र तीनघन्टा पछिसम्मका घरधन्दा भ्याएर जान्छन्। तीन दिनका लागि कुनै सहरमा आयोजना हुने सार्वजनिक बहसका सम्मेलनमा सहभागी हुन तीन दिनका लागि घरमा खाजा बनाइदिएर पुग्छन्।

उनीहरु सहभागी भएको सम्मेलन कसरी र कस्तो रुपमा शुरु भयो र कसरी सकियो भन्ने चासो बरु कम होला उनीहरुलाई तर केटाकेटीको खाजा नसकिंदै हाम्फालेर घर आइपुग्ने चिन्ता चाहिँ बढ्ता हुन्छ। तीन दिनदेखि हँसिलो र तनावरहित अनुहार लिएर ढुक्कसँग कार्यक्रममा बसिरहेको, सबै छलफल सुनेर त्यहाँको ‘एटमस्फेयर’सँग आफूलाई ‘एड्जस्ट’ गराइराखेको कुनै पुरुष ‘पब्लिक इन्टेलेक्चुअल’लाई घुटुक्क  थुक निलेर हेर्दै उनीहरु आफूचहिँ बहसमा बोल्नका लागि तीन महिनाका बच्चा दिनभरि च्यापेर थकित शरीरका साथ आफ्नो पालो कुर्छन्।

उनीहरुको अतिरिक्त कार्यबोझको अवस्था जहाँको त्यहीं छ, जसले जुनसुकै विषय वा ठाउँमा बोल्दा दिमागमा हानिरहेकै हुन्छ। यही कारण सधैं उनीहरुलाई सार्वजनिक वृत्तमा ‘विचारविहीनता’ मात्र ओकलेको आरोप बोकेर हिंडिरहनु परेको छ।

यी सबैका कारण यो भएन र त्यो पाएनौं भन्नेभन्दा माथिको अर्थात् कथित प्राज्ञिक भनिने बहसको चरणमा त महिलाहरु उक्लिनै पाएका छैनन्। त्यसैको उपज होला, उनीहरु बोलिसकेपछि ‘बहसमा व्यक्तिगत कुण्ठा पोखेको, उग्र भएर बोलेको’ भनेर महिनौं पत्रपत्रिकामा आलोचनात्मक चेतधारी विद्वानहरुबाट श्रृखलाबद्ध आरोप र आक्रमणको शिकार भइ नै रहन्छन्।

किनकि उनीहरुले गरेका घरभित्रका कुरा त विचारको रुपमा कहिल्यै दर्ता नै भएनन्, सधैं व्यक्तिगत कुण्ठा र गनगनको दर्जा मात्र पाए। त्यहीमाथि ‘पोथी बास्नु हुँदैन’ नामक ‘न्यारेटिभ’ले महिलाको मौनतालाई समाजमा यसरी संस्थागत गरिदिएको छ, कुनै सार्वजनिक वृत्तमा कुनै महिलाले ‘के बोली’ भन्दा पहिला ‘कसरी बोली?’ तिर मान्छेहरु थाहै नपाई घुसिसक्छन्। यस्तोमा हामीले महिलाको अतिरिक्त कार्यबोझ कम गर्नेतर्फ र उनीहरुमा भएको बौद्धिकताको सार्वजनिक र ‘प्राज्ञिक’ प्रदर्शन कसरी हुनसक्छ भन्नेतर्फ बहस मोडिएला कि भनेर हाललाई आश गर्नु असम्भवप्राय छ।

‘आइमाईको बुद्धि हुँदैन, आइमाईको बुद्धि शरीरको पछाडि हुन्छ र एक लात हानेपछि अगाडि आउँछ।’ यस्ता कहावतहरु अद्यापि प्रचलित भएको समाजमा बसेर हामीले महिलाको बौद्धिकताको कुनै अभिलेख कसैले राखिदेला भनेर आश गर्नु पनि बेकार छ।

औपचारिक शिक्षाको अवसर पाएका हामी केहीमा पनि पुरुषकेन्द्रित सामाजिक संरचनाका इमानदार ठेकेदारहरुलाई चिढाउन नचाहने र ‘शालीन’ बनिरहन चाहनेहरुको जमात छुट्टै छँदैछ। यसरी हेर्दा हामी अक्षर चिनेका र अक्षरलाई खेलाउन सक्नेहरुकै बीचमा पनि लेख्ने-बोल्ने कामलाई ‘सेलिब्रिटिहुड’भन्दा फरक ठान्ने महिलाहरुको हिस्सामा पर्न आउने मेहनत र जिम्मेवारी दशौं गुणा बढी र गह्रौं छ।

सबभन्दा अफसोचजनक यी सबै खड्गोहरु पार गरिसकेर राष्ट्रिय सञ्चारमाध्यमजस्ता सार्वजनिक वृत्त जहाँ हामीले आफ्ना मुद्दालाई उठान वा अभिलेखिकरण गर्नका लागि प्रयोग गर्छौ त्यहीं नै ‘स्त्रीहरु बौद्धिक हुँदैनन्’ भन्नेहरु पुस्तापिच्छे ‘टाउके’ बनेर बसेका छन्। तर यी सबै असहजताका बाबजुद अर्को सत्य के पनि हो भने आजको दुनियाँमा हामीलाई आफ्नो आवाज पुर्‍याउनका

लागि कुनै पत्रिकाका पेज संयोजक, सम्पादक वा कुनै रेडियोका स्टेसन इन्चार्जको मेहरबानीको जरुरत छैन। आमाहरुले जस्तो छातीभित्र साँचेर राखेको संगिनी वा तीज गीतलाई झिसमिसेमा ढिकिजाँतो गर्दा वा वर्षमा एकपटक तीजमा गाउनुपर्ने जस्तो बाध्यता पनि हामीलाई छैन। हामीसँग आफूलाई अभिव्यक्त गर्ने सूचना प्रविधिका पचासौं माध्यमहरु उपलब्ध छन्।

अब कसैले हामीलाई भिराइदिएको जुनार, जुत्ता वा जँड्याहीको उपाधि स्वीकार्य र सर्वमान्य हुन सक्दैन भनेर उनीहरुलाई मुखभरीको जवाफ र समाजलाई जानकारी दिने जिम्मेवारी हामीमै छ। अब हामीले चर्को स्वरमा हाम्रा आमा हजुरआमासमेत नजन्मदैदेखि शब्दसंग ‘खेलेर’ हामीलाई रिंगाइरहेकाहरुको मात्र हालीमुहाली सार्वजनिक वृत्तमा चल्दैन भनेर हुँकार भर्नु जरुरी छ। हाम्रा आमा हजुरआमा र हाम्रै पुस्ताका मौन तर बौद्धिक लाखौं महिलाको बौद्धिकताको अभिलेखिकरणको दारोमदार पनि अब हाम्रै काँधमा छ ।
श्रृंखलाका अन्य लेखहरू:

के गर्छन् नेपालका बौद्धिकहरु?

कमलप्रकाश मल्ल: नेपाली समाजमा बुद्धिजीवी- भाग १

कमलप्रकाश मल्ल: नेपाली समाजमा बुद्धिजीवी- भाग २

हर्क गुरूङ: नेपाली बुद्धिवादीः एउटा उपाख्यान

जगदीश घिमिरे: को बौद्धिक?

सिके लाल: बजारको छाँयामा हाम्रा बौद्धिक 

पिताम्बर शर्माः अनुसन्धानको अभावमा कमजोर बौद्धिक 

सरिता तिवारीः महिला सापेक्ष ‘बौद्धिकता’को बहस

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.