'अमेरिका सपनाको देश हो।'
यो वाक्य धेरैले भने। तर धेरैले यो भन्न छुटाए — अमेरिका सपनाको देश हो जहाँ सपना किन्न निद्रा बेच्नुपर्छ।
त्यही सपनाको देशमा नेपालको क्रिकेट टोली आएको थियो — विश्वकपको सपना बाँच्न।
देश सपना खेल्न अमेरिका आएको थियो।
अनि रंगशालामा दर्शकको त के कुरा गरौं! अमेरिकाले जीवनमा पहिलोपटक दसौं हजार चन्द्रसूर्य एकै ठाउँमा, एकै पटक देख्यो।
यी चन्द्रसूर्यहरू यहीँ टेक्सासबाट मात्रै आएका थिएनन्। अमेरिकाका कुना कुनाबाट, युरोपबाट, अस्ट्रेलियाबाट, अरबबाट, हाम्रै नेपालबाट आएका थिए। आफ्नो कामलाई, बिदालाई, खर्चलाई — सबैलाई थुम्थुम्याउँदै आएका थिए।
त्यति टाढाबाट उनीहरू रंगशालामा खेलाडीलाई यत्ति भन्न आएका थिए — हाम्रा शासकहरूले देशको सपनामाथि खेलिरहेका छन्, तपाईंहरू चाहिँ देशको सपनाका लागि खेल्नुहोला।
हामी नदीहरूको देशका मान्छे। क्रिकेट हेर्न संसारभरिबाट एक एक नदी भएर बग्दै बग्दै त्यो रंगशालामा आएर मिसिएका थियौं। रातो र निलो रङको हाम्रो देशको जर्सी लगाएका हामीले रंगशालालाई रातो र निलोले पोतेका थियौं। त्यो देखेर आइसिसी वर्ल्ड कपले भावुक हुँदै आफ्नो फेसबुक पेजमा नेपाली दर्शकको फोटो राख्यो। अनि एउटा काव्यिक क्याप्सन लेख्यो — रातो र निलो रङको एउटा समुद्र।
उता नेपालीमा मोबाइल फोनले, टिभीले, चोक, गल्ली र मैदानहरूमा राखिएका प्रोजेक्टरहरूले छक्क पर्दै नेपालीहरूलाई सोधिरहेथे, 'यसपालि दसैं जेठमै छ हो?'
नेपालीले क्रिकेटलाई माया गरेको देखेर संसार छक्क पर्दै सोचिरहेको छ — नेपालीहरू क्रिकेटलाई किन यति माया गर्छन्?
नेपालीहरूले उत्तर दिएका त छैनन् तर कीर्तिपुरको मैदानमा होस्, या संसारको कुनै मैदानमा होस्, त्यहाँ क्रिकेट हेर्न पुगेका नेपालीका छातीले भनिरहेका हुन्छन् — इतिहासभरि हामीले सधैं टुक्रा टुक्रामा जित्यौं। कहिले कुनै राज्यले, कहिले कुनै राज्यले जित्यो। कहिले शाहले जिते, कहिले राणाले जिते। तर सिंगै देशले जितेन। दशकौंदेखि कहिले एउटा पार्टीले, त कहिले अर्को पार्टीले जिते। तर सिंगै देशले कहिल्यै जितेन। इतिहासभरि हामीले सधैं टुक्रा टुक्रा 'मा' जित्यौं। टुक्रा टुक्रा 'ले' जित्यौं।
फाट्टफुट्ट बाहेक सिंगो देशले जितेको हेर्ने भाग्य नेपालीले पाएनौं।
जब नेपाली क्रिकेटले जित्न थाल्यो, तब सिंगै देशले जित्न थाल्यो।
कसैलाई नमारी देशले जित्न थाल्यो।
देशले पूरापूर जितेको दुर्लभ आनन्द दिने कारण बन्यो — नेपाली क्रिकेट।
जिन्दगीमा पूरापूर जित्नु दुर्लभ खुसी हो।
त्यो खुसी हामीलाई क्रिकेटले दियो।
सिंगोमा मिसिएर जित्नु दुर्लभ खुसी हो।
त्यो खुसी हामीलाई क्रिकेटले दियो।
एउटा हिन्दी गजल छ —
तुम इतना जो मुस्कुरा रहे हो
क्या गम है जिस को छुपा रहे हो
संसारभरिका नेपालीका लागि जिन्दगीका र देशका तमाम दुःख लुकाएर मुस्कुराउने कारण बनेको छ — नेपाली क्रिकेट।
हुन त दुःखहरूलाई ठेल्दै ठेल्दै पर सार्ने बहाना खोज्नु नै जिन्दगी बाँच्ने कला होला।
खेलको साक्षी
हामीले टी-ट्वान्टी विश्वकपको पहिलो खेल नेदरल्यान्ड्ससँग हार्यौं।
'खेलाडीले खेल हारे पनि मन जिते' जस्ता बासी वाक्य खर्च नगरौं। के भएर हार्यौं र कसो गरेको भए जित्थ्यौं भन्नेतिर म जान्नँ। त्यो कुरा त्यसैको विज्ञले गर्नुहोला।
मलाई रंगशालामा आएका नेपाली दर्शकको कुरा गर्नुछ।
खेलाडीको जित्दा जति आवाज चाहिन्छ, हार्दा झन् बढी आड चाहिन्छ।
त्यो खेलमा नेपालले हार्दै गरेको बेला नेपाली दर्शकहरूले खेलाडीलाई यस्तो साथ दिए कि, त्यो देखेर अमेरिकाको त्यो रंगशालाले पनि गर्व गर्दै भन्यो होला — म त्यो रंगशाला हुँ जहाँ नेपालीले आएर खेल हेरेका छन्।
खेलमा क्याच छुट्नाले खेललाई के असर गर्यो, त्यसको अर्थ छ। तर क्याच छुट्दाको दर्शकको बोलीले खेलाडीलाई के असर गर्यो, त्यसको झन् बढी अर्थ छ।
हामी बसेकोतिर जब रोहितको हातबाट क्याच छुट्यो, तब वरपरका सबै दर्शकले चिच्याउँदै रोहितलाई भने, 'ठीक छ, रोहित ठीक छ। खेलमा कहिलेकाहीँ हुन्छ।'
र, सबैले रोहितका लागि ताली बजाए।
क्याच छुटेपछि निराश र हतास भएर सीमारेखातिर फिल्डिङ गर्न आएका रोहितको अनुहारमा दर्शकको त्यो बोलीले दिएको आड झल्झली देखिन्थ्यो। उनले पनि दर्शकतिर फर्किएर ताली बजाए। रोहित र दर्शकको तालीको दोहोरीमा जुन भाका थियो, मेरो लागि नेपाल त्यही हो। नेपालीपन त्यही हो। हारेको बेला जसले बचाउँछ, उसलाई जिताउनका लागि बाँच्न मजा आउँछ।
खेल सकिने बेलामा सबैतिर सन्नाटा छाएको सही हो। सबै खिन्न भएको सही हो। तर ठ्याक्क खेल हारेपछि रंगशालामा सुनिएको ध्वनी नेपालीहरूको तालीको गड्गडाहट थियो। त्यो तालीले भनिरहेको थियो, 'हामीले हार्यौं तर हामी खेल्दाको नियत सही थियो।'
सही नियतले खेलेर हारेका देशका प्रतिनिधिका लागि बजेको त्यो तालीमा जुन भाका थियो, मेरो लागि त्यो नै नेपालीपन हो।
नियत नै गलत राखेर देशलाई हराउने देशका प्रतिनिधिका लागि सायद देशले अर्कै भाका खोजिरहेछ।
नेपालको न्यास्रो
एउटा कुराले चाहिँ अलि न्यास्रिएँ म। रंगशालामा ९९.९९ प्रतिशत नेपाली दर्शक थियौं। रंगशालाको एक कुनामा भएका केही सय दर्शकहरूले 'वेभ' बनाउन धेरैपटक प्रयास गर्नुभयो। अर्थात्, रंगशालाको एउटा कुनाका दर्शकले दुबै हात उठाउने अनि त्यो सर्दैसर्दै अर्को कुनासम्म पुग्ने। र, त्यसैमा जोडिनुमा रमाउने। तर दुर्भाग्यवस्, जसले सुरू गर्नुभयो उहाँहरूको छेउको समूहले त्यो बुझ्नुभएन र त्यो धेरैपटकमा पनि वेभ बन्न सफल भएन।
म रंगशालाको अर्को कुनाबाट वेभ बनाउन केही गर्न सक्दिनथेँ। र, वेभ बन्नबाट छुट्यो। त्यतिखेर मलाई लाग्यो, विदेशमा जे गरे पनि केही न केही त छुट्दो रहेछ। त्यतिखेर कीर्तिपुरमा हामीले वेभ बनाएको सम्झेर खुब न्यास्रो लाग्यो।
यहाँको रंगशालामा सिटहरू मिलेका र नम्बर अनुसार आफ्नो सिट ठ्याक्क भेटिने व्यवस्था थियो। तर मलाई कताकता कीर्तिपुर भिरालोको झारमा बसेर हेर्नुको न्यास्रो लागिरह्यो। कसैले भुइँमा पत्रिका ओछ्याएर 'यहाँ मेरो साथी आउँदैछ' भन्नुको न्यास्रो लागिरह्यो।
टक्क डलर तिरेर खाजापानी किन्ने ठाउँ पनि थियो। तर मैले बेलाबेला बदाम र पानी बेच्न ल्याउने दाइदिदीहरूलाई सम्झिरहेँ।
हाम्रो देशको रंगशाला त्यस्तै रहनुहुन्न। ती पनि व्यवस्थित हुनुपर्छ। चटक्क। टक्क। मिलेको।
तर सम्झनाहरूले तर्कको भाषा नुबझ्दा रहेछन्।
डिसिजन पेन्डिङ
खेलमा हामीले जम्मा १०६ रन बनायौं। नेदरल्यान्ड्सले ब्याटिङ गर्न थालेपछि एउटा यस्तो समय आयो कि, बाँकी रन ल्याउनका लागि नेदरल्यान्ड्ससँग टन्नै ओभर र विकेट बाँकी थियो। हाम्रो कुनै बलरले बलियो विकेट लिए मात्रै नेपालले जित्ने सपना जिउँदो हुन्थ्यो। हजारौं नेपालीहरू 'विकेट! विकेट!!' भन्दै चिच्याइरहेका थिए।
र, त्यहाँ एउटा नाटकीय पल देख्न पाइयो।
सोमपाल कामीले बल फाले। ब्याट्सम्यानले हिर्काएको बल सोमपालतिरै आयो। त्यतिन्जेलमा सोमपालतिर (नन स्ट्राइकर एन्ड) भएका ब्याट्सम्यान अगाडि कुदिसकेका थिए। सोमपालले लडेर बल छुन खोजे। बल गएर विकेटमा ठोक्कियो। रंगशाला हल्लिनेगरी दर्शक चिच्याए। ब्याट्सम्यान आउट हुन सोमपालको हातले त्यो बल छोएको हुनुपर्थ्यो। सोमपाल उत्सव जसरी उफ्रिएको देख्दा उनले बल छोए भन्ने लाग्थ्यो। तर अम्पायरले आफै निर्णय गर्न सकेनन् र टिभी अम्पायरको सहायता लिने भए।
निर्णय एकछिन रोकियो। सबैको मुटु पनि। अब नियालेर टिभीमा हेरेर निर्णय लिइने भइयो। हामी दर्शकले त्यति टाढाबाट हेरेर सोमपालले बल छोएको वा नछोएको भन्न सकिँदैन थियो। खेल हामीले जित्थ्यौं या जित्दैनथ्यौं, त्यो अलि पछिको कुरा थियो। तर त्यो विकेट जाने हो भने नेपाल खेलमा फर्किन्थ्यो।
मोबाइल, टिभी, प्रोजेक्टरमा संसारभरिबाट क्रिकेट हेरिरहेका नेपाली टक्क अडिने पल थियो।
अमेरिकाको त्यो मैदानमा खेलाडीहरू मात्रै क्रिकेट खेलिरहेका थिएनन्। त्यहाँ त देश क्रिकेट खेलिरहेको थियो। सोमपाल कामीले बल छोए कि छोएनन् भन्ने कुराले खेलमा देशको आसलाई बचाउँथ्यो। देशको सपनालाई बचाउँथ्यो।
त्यहाँ कस्तो विरोधाभासपूर्ण सौन्दर्य थियो! बललाई सोमपाल कामीले 'छुँदा' त्यो देशको सपना बाँच्थ्यो जुन देशले वर्षौंसम्म 'कामीले छोएको चल्दैन' भन्यो।
सोमपाल कामी दौडिँदै रोहितकुमार पौडेलतिर आए। सोमपालले निर्धक्क भएर रोहितसँग बोलेको देखेर अन्दाज गर्न सकिन्थ्यो, उनी भनिरहेका छन्, 'मैले छोएँ, रोहित।'
सोमपाल कामीले छुनुबारे स्क्रिनमा 'डिसिजन पेन्डिङ' थियो।
हाम्रो नेपाली समाजमा छुनुबारे अझै 'डिसजिन पेन्डिङ' छ।
(नवराज पराजुलीका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुहोस्)
ट्विटर- @Nawarajpoet