उपेन्द्र सुब्बा जानेमानेका कथाकार र कवि हुन्। केही फिल्ममा अभिनय पनि गरेका छन्। यही वैशाख एकदेखि चलेको 'जारी' फिल्मबाट निर्देशकका रूपमा व्यक्तित्वको अर्को इँटा थपेका छन्।
उनकी छोरीलाई जानेमानेको डिएभी सुशील केडिया विश्वभारती स्कुलले 'पढ्न जान्दैन, यहाँ हामी पढाउन सक्दैनौं, अन्तै लैजाऊ' भनेछ। भाइस प्रिन्सिपलसहित अरू दुई शिक्षकले 'यिनलाई सिकाउने कुनै औषधि छैन' भनेछन्। एक जना शिक्षकले 'पढेर केही गरी खान सक्दैन बरु एउटा स्कुटी किन्दिनू, पठाओ चलाएर खान्छ' भनेछन्।
उपेन्द्रले यो घटना हालै आफ्नो फेसबुक पेजबाट सार्वजनिक गरे।
ती छोरीलाई दुई कक्षादेखि त्यही स्कुलले पढाएको रहेछ। नौ कक्षा पूरा भएपछि उनी निकालिइन्।
यो घटनाले विगतका थुप्रै स्मृतिहरू उसका सामुन्ने छरपस्ट पारिदिएको छ।
ऊ स्कुल शिक्षक हो। शिक्षण सिकाइ, थरीथरीका विद्यार्थी, तिनका अभिभावक, विद्यालय प्रशासन र शिक्षा प्रशासनसँग उसका अनेक स्मरण र अनुभवहरू छन्।
विगतका अनुभवहरूले उसलाई धेरै कुरा सिकाएका छन्, आजपर्यन्त सिक्दै काम गर्दैछ।
ऊ उमेरले बीसबाट थोरै माथि थियो। पूर्वी पहाडको एउटा स्कुलमा पहिलोपटक शिक्षक भएको थियो। एक दिन नौ कक्षामा पढाउँदै थियो। विद्यार्थी संख्या ४० हाराहारी हुँदो हो।
पछाडितिर बसेका छात्राहरू आफ्नै धुनमा थिए। उसले तीमध्ये गफमा मस्त एक छात्रालाई ताकेर चकको टुक्रोले हान्यो। पहाडको चिसो पानी पिएर हुर्केबढेका मध्य किशोरवयका छात्राहरू हृष्टपुष्ट थिए।
चकको टुक्रोले अलिक संवेदनशील ठाउँमा लाग्यो। छात्राहरूले मुखामुख गरे। ऊ जिल्ल पर्यो। मुटुको ढुकढुकी बढ्यो। होसहवास उडेजस्तो भयो। अनुहारमा चिटचिट पसिना आयो।
समय सकिनै लागेको थियो। बिदा भएर अफिसमा गयो र दुई गिलास पानी पियो।
धन्य! त्यो समयको चेतना उसका पक्षमा भयो, कतै कुनै आवाज उठेन। आजको चेतना भएको भए!
त्यसपछि उसले कहिल्यै पनि त्यसरी चकले विद्यार्थीको ध्यानाकर्षण गर्ने प्रयास गरेन, छात्रा होओस् कि छात्र।
भर्खरै पढाउन थालेको शिक्षकको तनमनमा भारी जोशजाँगर हुने नै भयो।
त्यही स्कुलमा चार-पाँच कक्षातिरका विद्यार्थी गणितमा कमजोर भए भनेर प्रधानाध्यापकले विषय शिक्षकलाई एउटा सानो परीक्षा लिन निर्देशन दिए।
कडा र मिहिनेती भनेर नाम चलेका प्रधानाध्यापक थिए।
परीक्षाको कापी परीक्षण गर्न प्रधानाध्यापकले उसलाई जिम्मा लगाए। उसले फूर्तिसाथ जिम्मेवारी पूरा गर्यो।
ती गणित शिक्षक निकै पुराना थिए। ऊ ती शिक्षकको कारबाहीमा पर्यो। 'प्रधानाध्यापकले अह्राएको काम गरेको हुँ' भनेर पन्छियो।
उनले चेतावनी दिए– फेरि यस्तै भयो भने ठिक हुने छैन।
उसले जीवनभरका लागि शिक्षा पायो।
अलिक पछिको कुरा, ऊ काठमाडौंको एउटा निजी रात्रि स्कुलमा पढाउँथ्यो। कक्षा १० मा भर्ना भएको एक विद्यार्थी निकै कमजोर थियो। कक्षा नौसम्म एउटा निजी स्कुलमा पढ्यो। त्यो स्कुलले बाबुलाई बोलाएर कक्षा दसमा पढाउन नसक्ने जानकारी गरायो।
विकल्प खोज्दै जाँदा बाबु भर्खरै खुलेको अर्को निजी स्कुलमा पुगेका थिए। बाबुले छोरो पढाइमा कमजोर छ भनेर उसलाई आफ्नो कुरा भनेका थिए। त्यसो हुनुको सामान्य कारण पनि भनेका थिए।
स्कुलमा आइरहन्थे र उसैसँग कुरा गर्थे। काठमाडौंको निकै खान्दानी परिवारका जस्ता देखिन्थे। ऊसँग गाढा सम्बन्ध बनेको थियो।
प्रथम त्रैमासिक परीक्षा भयो। विद्यार्थी साँच्चै कमजोर देखियो।
बाबु एक साँझ परीक्षाफल लिन आए। उसैसँग कुरा गरे। कुरैकुरामा उसले फ्याट्ट भन्यो– दाइ केटाले पार लाऊला जस्तो छैन, धेरै कमजोर छ।
उनी आवेशमा आए। आक्रोशको भावमा भने– कमजोर भएर त एउटा स्कुलले निकालिदियो र यहाँ ल्याएको, पढेर पार नलाए अर्कोतिर पार लगाउँछ, तपाईंले के ठान्नुभएको छ?
ऊ गधापच्चिसी आसपासको युवक थियो। अभिभावकको कुराले नाजवाफ भयो।
सरी दाइ, मैले अन्यथा भनेको होइन, हामी प्रयास गर्छौं भनेर थामथुम पार्यो।
यसपछि ऊ अभिभावकसँग कुरा गर्नमा केही सचेत र अलिक सिपालु भयो।
यही समय उसको शिक्षण पेसा छुट्यो। अर्कैतिर लाग्यो।
करिब सात वर्षपछि विक्रमाब्द साठीको दशक आरम्भमै चुच्चे ढुंगो उही टुंगो भनेझैं ऊ फेरि स्कुल शिक्षणमा पुग्यो।
केही वर्षअघिको कुरा, स्कुलमा परीक्षाफल वितरण हुँदै थियो। एक छात्र आफ्नी दिदीलाई लिएर आएको थियो। दिदी पच्चीस हाराहारीकी हुँदी हुन्।
खोइ के बिराममा हो कुन्नि, उसका एक शिक्षक साथीले त्यो छात्रलाई एक थप्पड हाने। दिदीभाइ मौन रहे।
एकै छिनपछि यसो हेर्छ त दिदीका दुबै आँखाका डिलबाट गाला हुँदै तुप्लुक्क हुन लागेका दुई थोपा आँसु छन्!
उसको मन औडाहाले पोल्यो। ती शिक्षक साथीलाई तानेर बाहिर लग्यो र कुट्नुको कारण सोध्यो। उनले कुनै कारण बताए तर उसले अभिभावकका सामुन्ने थप्पड नै हान्नुपर्ने गरिको मानेन।
साथी भए पनि व्यक्ति र व्यक्तित्व त फरक हो। आआफ्नौ शैली हो। उसले बेवास्ता गर्न सक्थ्यो। अहँ, गर्न सकेन। उसले उमेर र अनुभवको पोयो समायो।
करिब १५ वर्षले भाइ उमेरका ती साथीलाई केही भन्ने आँट गर्यो र स्वीकृति माग्यो। र, भन्यो– तपाईंले आज गलत गर्नुभयो। त्यो केटालाई त्यसरी कुट्नु हुने थिएन।
झस्केजसरी सोधे– किन?
पहिलो कुरा– सकेसम्म विद्यार्थीलाई नकुट्नू।
दोस्रो कुरा– अभिभावकका सामन्नेचाहिँ कहिल्यै नकुट्नू, दाजु ठानेर यति कुरा सम्झिनुहोला।
साथी छाँगाबाट खसेजस्ता भए, भने– दाजु, मेरा आँखा खोलिदिनुभयो; कहिल्यै बिर्सने छैन, धेरै धन्यवाद।
एक छात्रा थिई। पढाइमा निकै कमजोर। कक्षा दस पार लगाउने छाँट थिएन। नृत्यमा दर्शकहरूको मन पगाल्ने क्षमता थियो। जहाँ नाच्न जान्थी त्यहाँबाट पुरस्कार जितेरै फर्कन्थी।
उसले एक दिन त्यो छात्रालाई भन्यो– तिमी पढाइमा निकै कमजोर छ्यौ। यति राम्रो नाच्ने मान्छे पढाइमा यस्तो कमजोर कसरी भयौ, म छक्क परेको छु।
उदास मनले भनिन्– खोइ सर, मलाई पढ्नै आउँदैन।
उसले सान्त्वना दियो– नाचजस्तै पढाइ भएको भए उत्तम हुन्थ्यो तर केही छैन, नाचको राम्रो तालिम लिनू। तिमी नाचेरै संसार फाँड्छ्यौ।
उसले छात्राको अनुहारमा उत्साहका रेखाहरू देख्यो।
उपेन्द्र सुब्बाको कहर सार्वजनिक भएपछि उसले ती नृत्यंगना छात्राबारे सोधीखोजी गर्यो। एक साथीबाट थाहा पायो– उनी नृत्यमै छिन्, आर्जन पनि राम्रो गरेकी छन्।
उसले निजी स्कुलले कमजोर भनिएका विद्यार्थीमाथि गरेका दुर्व्यवहारका केही घटनाहरू सामुन्नेमै देखेको छ।
उपेन्द्रले लेखेका छन्– भोलि नै गएर मेरो छोरी होइन, तिमी फेल भएको हो, विद्यार्थीसँग कुरा गर्ने सोमत नभएको तिम्रो अहंकार फेल भएको हो भनेर छोरीको गालामा आँसु नसुक्दै त्यो भाइस प्रिन्सिपलको गाला रन्काइ दिऊँ भन्ने म निम्छरो बाउको मनमा झोंक नचलेको पनि होइन।
साँच्चै भोलिपल्टै उपेन्द्र स्कुल गए। भाइस प्रिन्सिपललाई भेटे।
उनले लेखेका छन्– के के नै भनौंला भनेर गाको, अनुहार देखेर केही भन्न सकिनँ। सामान्य गुनासो राख्दै छोरीको ट्रान्सक्रिप्ट मागेर आएँ।
यति चाहिँ भनेछन्– मेरो छोरीलाई जस्तो व्यवहार अरू विद्यार्थीलाई नगर्नू। हरेक बच्चाहरू क्षमतावान हुन्छन्। एकै किसिमको क्षमता नराखे पनि विशेष क्षमता राख्छन्। बच्चाहरूलाई हतोत्साही नगर्नू। बच्चाको अघि उसको अभिभावकसँग सम्मानले बोल्नू। आर्थिक रूपमा गरिब परिवारकै किन नहोस्, नहेप्नू।
उपेन्द्रले लेखेअनुसार छोरी पेन्टिङ गर्छिन्। गायन, नृत्य, र अभिनयमा चासो छ। थोरबहुत जान्दछिन् पनि, फिक्सन पढ्छिन्। यति प्रतिभाशाली छोरी डिएभी सुशील केडिया विश्वभारती स्कुललाई चाहिएन।
जग जाहेर छ, यस्तै अरू निजी स्कुललाई पनि चाहिँदैन। यस्ता स्कुललाई मार्कसिट र ग्रेडसिटमा ८० माथि अंक र ए वा ए प्लस ग्रेड चाहिन्छ।
कुनै समय यस्तो पनि हुन्थ्यो– कक्षाकोठाबाट चाहिँ नहटाउने तर एसएलसी परीक्षाको आवेदन फारम अर्कै स्कुलबाट भराउने। त्यो समय निजी स्कुलहरू सबै विद्यार्थीहरूलाई प्रथम श्रेणीमा उत्तीर्ण गराउन चाहन्थे। कोही दोस्रोतेस्रो श्रेणीमा गए प्रिन्सिपललाई सात दिन ज्वरो आउँथ्यो। प्रथम श्रेणी हासिल गर्ने क्षमता नभएको ठानिएको विद्यार्थी हेपाइमा पर्थ्यो र अर्को स्कुलमा सर्न बाध्य हुन्थ्यो।
कुनै समय ऊ शिक्षक रहेको एउटा निजी स्कुलमै उसले यस्तो घटना देखेको हो।
आजकाल यो प्रवृत्ति कुन अवस्थामा छ उसलाई उति हेक्का छैन तर कमजोर रहेको बहानामा निकालिने क्रम जारी छ। मुखर नभएको मात्र हो। यस्ता विद्यार्थीलाई दस कक्षा पढ्न सकेसम्म अर्को स्कुलमा पठाउनमा प्राथमिकता हुन्छ। कोही अभिभावकलाई मनाउन सफल हुन्छन् त कोही बाध्यतामा पार्छन्।
निजी स्कुलले कमजोर भनेर हेपेका, निरूत्साहित गरेका र निकालेका विद्यार्थी कहाँ जान्छन्?
जवाफ सिधा छ– सामुदायिक स्कुलमा। त्यो पनि अलिक नाम चलेकोमा होइन, ठिक्ककोमा अर्थात औसतमा।
छनोट गरेर विद्यार्थी भर्ना लिने हैसियतमा पुगेका कतिपय सामुदायिक स्कुलमा तिनले भर्ना पाउँदैनन्। ती जान्छन् औसतमा।
सकारात्मक पक्ष के छ भने पढाइमा कमजोर भएकै आधारमा कुनै पनि सामुदायिक स्कुलले विद्यार्थी निस्कासन गर्दैन। कुनैले गरेको छ भने अपवाद होला वा विवेकहीनताको पराकाष्ठा।
निजी स्कुलमा यस्तोलाई अभिभावकहरू सामान्य घटना मान्छन्।
जानेमानेका उपेन्द्र सुब्बा त 'निम्छरो बाबु' भए पनि उनीजस्ता निम्छरा कति होलान्! ती कसरी बोलून्!
विभिन्न कारणले सबै सामुदायिक स्कुल बराबर हैसियतका छैनन्, जसरी सबै निजी स्कुल बराबर छैनन्।
शिक्षाविद मानिएका व्यक्तिहरू र शिक्षा प्रशासनले जति आलोचना र गाली गरे पनि कमजोर भनिएका विद्यार्थी पढाउने तिनै सामुदायिक स्कुलले हो।
हाम्रो शिक्षा प्रणालीले प्रतिभाको विविधता पर्गेलेर विद्यार्थीको सिप तिखार्ने काम गर्दैन। विद्यालय शिक्षाले त गर्दै गर्दैन।
नाच्नु, पेन्टिङ गर्नु, गाउनु, बजाउनु, अभिनय गर्नु वा यस्तै कुनै प्रतिभा देखाउनु विद्यार्थीको आफ्नै जाँगर हो।
कुनै पनि सामुदायिक स्कुलले विद्यार्थीको यस्तो सिप प्रवर्द्धन गर्न सक्दैन। बरू निजीले केही गर्न सक्छन् किनभने उनीहरूलाई आफूखुसी शुल्क उठाउने छुट छ। ठूला सहरका धेरै निजी स्कुल नर्सरीमै लिखित परीक्षा लिएर विद्यार्थी छनोट गर्छन्। माथिल्ला कक्षामा त छनोट गर्ने भइगए।
यिनले त अभिभावकको पनि परीक्षा लिन्छन्– शुल्क तिर्न सक्ने क्षमता, खान्दान इत्यादिको।
किन यस्तो हुन्छ?
किनभने यस्ता निजी स्कुलहरू शिक्षा व्यापार गर्छन्। व्यापार राम्रो हुन पैसावाला ग्राहक तान्न सक्नुपर्छ। ग्रेडको जमाना छ। सबै ए ग्रेड, ए प्लस ग्रेड भनेर ढोल बजाउन नपाए अर्को वर्षको व्यापार बिग्रन्छ।
मूल्यांकनको ग्रेडिङ प्रणालीको मर्म विपरीत निजी स्कुलहरू एसएलसी जमानाको प्रतिशतबाट बाहिर आउन सकेका छैनन्। ठूला सहरमा नर्सरीमै त होइन, अलिक माथिल्ला कक्षामा चाहिँ छानेर विद्यार्थी भर्ना लिने सामुदायिक स्कुल पनि छन्।
अब कमजोर भनेर हेपिएका, छनोटमा नपरेका र गरिब आमाबाबुका छोराछोरी पढ्न कहाँ जान्छन्?
औसत सामुदायिक स्कुलमा।
विद्यार्थी कुशाग्र भएर मात्रै हुँदैन, उसले रोजेको शिक्षा पाउन आमाबाबुको धन हुनुपर्छ। धन भएर मात्रै पनि हुँदैन आफ्ना छोराछोरीले कम्तीमा ए ग्रेड हासिल गर्ने करार पनि आमाबाबुले गर्नुपर्छ। हाम्रा शिक्षा प्रशासक र नीति निर्माताहरूलाई निजी स्कुलले कमजोर भनेर हेपेका र निस्कासन गरेका विद्यार्थीका र तिनका आमाबाबुको पीडा कहिले दुख्ला? निम्छरा आमाबाबुलाई कहिले देख्लान्? विद्यार्थीको छातीभित्र स्कुलबाट निकालिएको वेदनाले पोलेको घाउ कहिले देख्लान्?
'निम्छरा' बाबु उपेन्द्रको परिवारलाई दिएको पीडाबाट आफूलाई उम्दा ठान्ने निजी स्कुलहरूले सम्मान कहिले सिक्लान्?
अपेक्षा गरौं– आजको चेतनाले जवाफ लिएरै छाड्नेछ।