साल्ट ट्रेडिङले मात्रै नभई अर्को सरकारी खाद्य संस्थानले पनि चिनी आयात गरी उपभोक्तालाई बेच्ने भएको छ।
संस्थानले १ प्रतिशत भन्सार छुट सहित १० हजार टन चिनी आयातको स्वीकृति माग्दै आपूर्ति मन्त्रालय समक्ष पत्राचार गरेकोे छ। संस्थानका विक्री वितरण शाखा प्रमुख शंकर सापकोटाले दसैँ तिहार लक्षित गरेर आपूर्ति मन्त्रालय समक्ष चिनी आयातको स्वीकृति मागेको जानकारी दिए।
उनले भने, ‘दसैँ तिहारमा चिनीको माग उच्च रहने गर्दछ। स्वदेशमा उखु उत्पादन कम हुँदा स्वभाविकरुपमा चिनीको उत्पादन पनि कम हुने भएकाले अभाव हुन नदिन हामीले पनि चिनी ल्याउन खोजेका हौँ’ उनले भने।
व्यवसायीहरुले चाडपर्वको मौका छोपी मूल्य बढाउने गरेको भन्दै उनले बजार सन्तुलन कायम राख्न र संस्थानकै कारोबार समेत वृद्धि गर्ने उद्देश्यले चिनी आयात गर्न स्वीकृति मागिएको उनले बताए।
संस्थानको प्रस्तावित सर्तमा चिनी आयातको स्वीकृति दिइने हो भने टेन्डर लगायत प्रक्रिया पुरा गरेर दसैँसम्ममा चिनी आयात गर्न सकिने संस्थानले जनाएको छ।
संस्थानले चिनी आयात गरेपछि बजारको माग तथा आपूर्तिलाई सन्तुलन कायम गर्न सकिने दाबी गरे। हाल खाद्य संस्थानले एक स्थानबाट खाद्य वस्तु किनेर अर्को स्थानमा बिक्री वितरण गर्दै आएको छ।
साल्ट ट्रेडिङले पनि खाद्य संस्थानले चिनी ल्याउन खोज्नु सकारात्मक रहेको जनाएको छ। साल्ट टेड्रिङका सहमहाप्रबन्धक कुमार राजभण्डारीले निजी क्षेत्रसँग कति परिणाममा चिनी स्टोर छ भन्ने स्पष्ट नभएको र मागको आधा मात्र टेड्रिङले ल्याउने हुँदा खाद्य संस्थानले पनि ल्याउँदा मूल्य सन्तुलन हुने बताए।
उनका अनुसार अन्य समयमा मासिक १५ हजार टन चिनीको माग हुने गरेपनि दसैँ, तिहार तथा छठको समयमा भने २५ हजार पुग्ने गर्छ।
किसान उखु खेतीबाट वर्षेनि पलायन हुँदै जाँदा उखुको उत्पादन घट्दै गएको छ। यस वर्ष उखु उत्पादन २० प्रतिशतले घटेको नेपाल उखु तथा चिनी विकास समितिले जनाएको छ।
त्यस्तै, स्वदेशमा उत्पादन हुने उखुको ठूलो हिस्सा भने चिनी उद्योगसम्म पुग्ने गरेको छैन। उखु उत्पादनको करिब ६५ देखि ७० प्रतिशत मात्र चिनी उद्योगमा पुग्ने गर्छ। अन्य उखु भने सख्खर, जुस तथा अर्को वर्षको बिउका लागि प्रयोग हुने गरेको छ।
हाल बजारमा वार्षिक २ लाख ३० हजार मेट्रिक टन चिनीको माग भएपनि उत्पादन भने १ लाख ३० हजार मेट्रिक टन मात्र हुने गरेको छ। साल्ट ट्रेडिङले ५० हजार टन आयात गर्दै आएको छ।
त्यस्तै कतिपय व्यवसायीहरुले पनि भारतबाटै चिनी आयात गर्ने गरेका छन्। त्यसबाहेक सीमावर्ती क्षेत्रमा भारतीय चिनीको बढी प्रयोग हुने गरेको छ। सस्तो हुने भएकाले भारतीय बजारबाट सीमावर्ती क्षेत्रका सर्वसाधारणले चिनी ल्याउने गर्दछन्।