मान्छेलाई सकभर रोग नलागोस् भन्ने हुन्छ। रोग लागे पनि ठूलो रोग नलागोस् भन्ने हुन्छ। सानै रोग लागे पनि छिटो निको होस् भन्ने हुन्छ। रोग लागेर उपचार गर्दा भएसम्म रकम खर्च गर्न मान्छे पछि पर्दैनन्, त्यो पनि छिटो निको हुने आशामा। मनिपाल शिक्षण अस्पताल पोखरामा एउटा यस्तो बिरामीको उपचार भइरहेको छ, जसको रोग नै पत्ता लागिसकेको छैन। तर उपचार गर्न पैसा सकिएपछि बिरामीको परिवार बिलखबन्दमा परेको छ।
२ सातदेखि आइसियुमा उपचार भइरहेका बागलुङ, बुर्तिबाङका लालबहादुर विक मंगलबार मेडिकल वार्डको बेडमा छटपटाइरहेका थिए। उनैसँगै रहेकी श्रीमती गीता फोनमा आफन्तसँग ऋणको अपेक्षा गर्दै कुरा गर्दै थिइन्। ‘उपचार गर्न पैसा छैन,’ उनले भनिन्, ‘कसैले सहयोग गरिदिए उहाँलाई बचाउन सकिन्थ्यो कि।’ आफन्तले सहयोग गर्छन् कि भनेर उनी पटकपटक फोन गरिरहेकी थिइन्। तर आफन्तबाट आशलाग्दो जवाफ नपाएपछि उनी मौन भइन्। ‘ल्याएको पैसा सकियो,’ उनले भनिन्, ‘अब कसरी उपचार हुन्छ ?’
पैसा अभाव भएपछि लालबहादुरलाई आइसियुबाट मेडिकल वार्डमा सारिएको उनका भाइ लोकबहादुर विकले बताए। ‘ल्याएको दिनबाट आइसियुमा राखेका थियौं,’ उनले भने, ‘करिब २ लाख सकियो, निको हुन त परै जाओस्, रोग नै पत्ता लागेको छैन।’
भारतमा रिक्सा चलाउने लालबहादुर ४ महिनाअघि नेपाल आएका थिए। सोही बेला उनकी आमाको मृत्यु भयो। ‘केही दिनअघि आमाको अन्तिम संस्कार गर्ने बेलामा पेट्न दुख्ने अनि शरीर पहेलो हुने भयो,’ उनले भने, ‘त्यसपछि बुर्तिबाङकै सरकारी अस्पतालामा देखायौं, २ दिनपछि यहाँ सकिँदैन, ठूलै अस्पताल लानुपर्छ भनेपछि पोखरा ल्याएका हौं।’ बुर्तिबाङको अस्पतालमा चिकित्सकले उनलाई कपलपित्त (जन्डिस) को औषधी दिएका थिए।
मनिपाल ल्याएकै दिनदेखि उनको आइसियुमा राखेर उपचार भइरहेको थियो। ‘रोग नै पत्ता लागेको छैन, पैसा सकियो,’ मलिन अनुहार बनाउँदै उनले भने, ‘डाक्टरका अनुसार कलेजो, किड्नी र पेटमा समस्या छ।’ आइसियुमै राखेर उपचार गर्नुपर्ने उनको भनाइ थियो। ‘अब कति दिन आइसियुमा राख्ने ?, रोग कहिले पत्ता लाग्ने टुंगो नै भएन,’ उनले भने, ‘पैसा नभएकै कारण आज मेडिकल बार्डमा बिरामी सारिदियो।’ उपचारका लागि सहयोग गरिदिन उनले सबैलाई आग्रह गरे। ‘पैसा भए केही दिन आइसियुमा राखेपछि रोग पत्ता लागेर उपचार हुन्थ्यो कि,’ उनले थपे, ‘अब के हुने हो ?’
लालबहादुरलाई जस्तै रोग उनकी छोरीलाई पनि लागेको छ। ‘विवाह गरेर भारतमा गएकी २० वर्षीया छोरीलाई पनि यस्तै रोग छ, ज्वाइँले उपचार गरिराख्नु भएको छ,’ उनले भने, ‘दाइले भारतमा रिक्सा चलाएर परिवार पालिएको थियो।’ लालबहादुर आफ्नो घर नभएकाले आफन्तको शरणमा बस्दै आएको उनले बताए। ‘घरबारी छैन, त्यसैमाथि नेपाल आएको ४ महिना भयो, कमाइ पनि छैन,’ उनले भने, ‘यस्तो वेला उपचार गर्न कहाँबाट रकम ल्याउने हो ?’ लालबहादुरका २ छोरा, छोरी र श्रीमती छन्।