काठमाडौं महानगरपालिकाले महानगरभित्र छठ पर्व मनाउन ८ स्थान तोकेको छ।
काठमाडौं महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले शनिबार पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएका हुन्।
उनकाअनुसार महानगरले कमलपोखरी, गौरीघाट, बोक्सीदह, बागमती दोभन, टंकेश्वर, बल्खु कुमारी क्लब अगाडि, कुलेश्वर भलिबल ग्राउण्ड र रामघाट छठ मनाउनको लागि तोकिएको छ।
यी ठाउँहरूमा महानगरले सरसफाइको कार्य थालनी गरेको पाण्डले जानकारी दिए।
उनकाअनुसार ३ सयभन्दा बढी सरसफाइकर्मीहरू खटिएका छन्।
काठमाडौं महानगरले छठ पर्व मनाउनको लागि कुनै कमी नहुने गरी व्यवस्थित रूपमा तयारी गरिएको उनले जानकारी दिए।
उनले छठ पर्वको नाममा ताल पोखरीमा पैसा उठाउन नपाउने बताए।
उनले कसैले कुनै प्रकारका शुल्क लिन खोजेमा जानकारी गराउन पनि आग्रह गरे।
उनले छठ पर्व मनाउन तोकिएको ठाउँमा सवारी पार्किङ नगर्न पनि आग्रह गरे।
यसवर्ष कात्तिक १० गते छठ पर्व मनाइँदैछ।
छठ पर्व नदी किनारामा गएर सूर्यको पूजाआराधाना गरेर मनाइन्छ। —न्युज एजेन्सी नेपाल