नेपाली कांग्रेसबाट मन्त्री बन्नेमा गोपालमान श्रेष्ठ र ज्ञानेन्द्र कार्कीको नाम टुंगो लागेको छ। श्रेष्ठले उपप्रधानमन्त्रीका रूपमा र कार्कीले मन्त्रीका रूपमा सपथ लिदै छन्। उनीहरुको मन्त्रालयको भने अझै टुंगो नलागेको नवनियुक्त प्रधानमन्त्री देउवा निकट स्रोतले सेतोपाटीलाई बतायो।
‘कांग्रेसबाट आजै थप दुई वा तीन मन्त्रीको पनि सपथ गराउन प्रधानमन्त्री देउवाले छलफल गरिराख्नुभएको छ,’ स्रोतले भन्यो,‘ थप नामको टुंगो पछि कांग्रेसका मन्त्रीहरूको मन्त्रालयबारे पनि अन्तिम निर्णय हुनेछ।’
अन्य नाममा सहमति हुन नसके आज प्रधानमन्त्री देउवासँगै सपथग्रहणका लागि श्रेष्ठ र कार्कीमात्रै शीतल निवास जानेछन्।
श्रेष्ठ र कार्की दुबै प्रधानमन्त्री देउवाका लामो समयदेखिका विश्वास पात्र हुन्। स्याङ्जाका श्रेष्ठ नेपाली कांग्रेस प्रजातान्त्रिकमा उप-सभापति थिए। उनी कांग्रेसका पुराना नेता हुन्। नेविसंघका पूर्वसभापति कार्कीको पनि लामो समयदेखि देउवासँगै राजनीतिक निकटता छ। श्रेष्ठ र कार्की दुबै समानुपातिक तर्फका सांसद हुन्।
कांग्रेसबाट अन्य मन्त्रीको टुंगो लगाउन देउवाले नेता रामचन्द्र पौडेलसँग छलफल गरिरहेका छन्। महेश आचार्य, फरमुल्लाह मन्सुरको पनि मन्त्री बन्ने सम्भावना छ।
दाहाल नेतृत्वको सरकारमा रहेका कांग्रेसका मन्त्रीहरू भने नदोहोरिने ती नेताले स्पष्ट पारेका छन्।
यसैबीच सत्ता साझेदार दल माओवादी केन्द्रले सरकारमा जाने आफ्ना मन्त्रीहरूको नाम टुंगो लगाउन बैठक जारी छ।
कांग्रेस र माओवादी केन्द्रबीच अघिल्लो सरकारमा रहेका अर्थ र गृह मन्त्रालय साटासाट गर्ने सहमति भएको छ।