पोखरामा भएको प्रदर्शन मध्यरातसम्म पनि रोकिएको छैन।
प्रदर्शनको नाममा प्रदर्शनकारीले सरकारी संरचना तोडफोड गर्ने र आगो लगाउने काम गरिरहेका छन्।
आन्दोलनकारीले जिल्ला कारागार पर्वतमा मध्यरात आक्रमण गरी कैदीबन्दीलाई समेत भगाएका छन्।
हत्या, बलात्कार, सहकारी ठगी लगायत जघन्य अपराधमा अदालतबाट दोषी भएका ९३ जना कैदीबन्दीलाई भगाएका हुन्।
पर्वतका सिडिओ हरिप्रसाद घिमिरेका अनुसार प्रदर्शनकारीले मंगलबार दिउँसो नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रको पार्टी कार्यालय जलाएका थिए।
आन्दोलनकारीले पर्वतका प्रतिनिधी सभा सांसद एवं पूर्वमन्त्री पदम गिरीको घर पनि जलाएका थिए।
आन्दोलनकारी घर फर्किएर शान्ति भएको भनिए पनि अचानक कारागार पुगेर गेट फोडेर कैदीबन्दी भगाएको सिडिओ घिमिरेको भनाइ छ।
पोखराका सम्पूर्ण सरकारी कार्यालयमा आगजनी गरेका आन्दोलनकारीले रातीसम्मै आगजनी गरिरहेका छन्।
प्रदर्शनकारीले जिल्ला प्रहरी कार्यालय कास्कीमा जेसिबी डोजर लगाएर आक्रमण गरेका थिए। आक्रमण पश्चात प्रहरी कार्यालयमा कार्यरत सबै प्रहरी कर्मचारीलाई लखेटेर उनीहरूले मध्यरातसम्मै आगो लगाएका हुन्। प्रहरी कार्यालयका महत्वपूर्ण कागजात र हतियारसमेत उनीहरूले जलाएका छन्।
पोखरामा प्रदर्शनकारीले उच्च अदालत पोखरा, जिल्ला अदालत, सिडिओ कार्यालय, मालपोत कार्यालय लगायत सम्पूर्ण कार्यालयका कागजात र भौतिक संरचना जलाएका छन्।
यस्तै, पाेखराकाे सिर्जना मिनी मार्केटमा पनि आन्दाेलनकारीले मध्यरातमा आगाे लगाएका छन्।
सडकमा होहल्ला गर्दै आन्दोलनकारीले सार्वजनिक संरचना जलाउने र नष्ट गर्ने अभियान मध्यरात हुँदासम्म जारी राखेका छन्।