सेयरमा आवेदन भर्दैमा दस कित्ता पाइन्छ भनेर नझुक्किनुहोला। नयाँ धितोपत्र निश्कासन तथा बाँडफाँड निर्देशिकाले सबैलाई दस कित्ता सेयर दिने उल्लेख गरे पनि खाली हात बस्नुपर्ने अवस्थाको भने अन्त्य गर्न सक्ने छैन।
धितोपत्र निश्कासन तथा बाँडफाँड निर्देशिका २०७४ को ३० नम्वर बुँदा उपदफा १ मा ‘धितोपत्र बाँडफाँड गर्दा सवैभन्दा पहिले सबै आवेदकलाई दस कित्ताको दरले बाँडफाँड गर्नुपर्नेछ’ भनेर स्पष्ट रुपमा उल्लेख गरेको छ। तर कतिपय अवस्थामा सेयर भर्ने सबै आवेदकलाई १० कित्ता सेयर दिन संभव नरहेको स्वयम् धितोपत्र बोर्ड स्वीकार गर्दछ।
बोर्डका प्रवक्ता तथा कार्यकारी निर्देशक निरज गिरीले आगामी साउन महिनादेखि (आस्बा प्रणाली लागू भएपछि) संभव भएमा सेयर भर्ने सबैलाई कम्तीमा १० कित्ता दिइने अवधारणालाई निर्देशिकामा उल्लेख गरिएको बताए। तर यो असम्भव देखिएको अवस्थामा भने गोलाप्रथा नै गर्नुपर्ने उनले स्पष्ट पारे।
सोही बुँदाको निर्देशिकाको उपदफा ४ ले सबैलाई दस कित्ताका दरले बाँडफाँड गर्न अपुग हुने अवस्थामा न्यूनतम १० कित्ता पाउनेगरी गोलाप्रथाबाट छनौट गरिने भन्ने व्यवस्था पनि स्पष्ट पारेको छ।
सेतोपाटीसित कुराकानी गर्दै कार्यकारी निर्देशिक गिरीले भने ‘निर्देशिकाको एउटा उपदफा मात्रै हेरेर, केही बंग्याएर समाचारहरु आए, तर संभव नभएको अवस्थामा गोलाप्रथा नै गर्नुपर्ने हुन्छ, जुन ४ नं.को उपदफाले स्पष्ट पारेको छ।’
यदी निश्कासन गरिएको सेयरको संख्या आवेदन दिने सबैलाई बाँडफाँड गर्दा १० कित्ता वा सोभन्दा बढी पर्ने अवस्थामा भने सबैलाई १० कित्ता दिएर बाँकी रहेको सेयर पुनः गोलाप्रथाबाट बाँडफाँड हुनेछ। तर यदी निश्कासन गरिएको सेयर संख्यालाई आवेदकको संख्याले भाग गर्दा १० भन्दा तलको अंक आएमा भने गोलाप्रथा नै गर्नुपर्ने र आवेदकले नपाउने अवस्था पनि आउने गिरीले स्पष्ट पारे।
विगतमा जारी भएका कम्पनीको प्राथमिक सेयर र आवेदकको संख्या हेर्दा धेरैमा यो संभव देखिँदैन। हालै बाँडफाँड भएको स्वदेशी लघुवित्त कम्पनीको २ लाख ७३ हजार कित्ता आइपिओका लागि आवेदन दिनेको संख्या ९० हजार ८ सय थियो। प्रत्येकलाई १० कित्ता दिइँदा पनि यो कम्पनीमा जम्मा ३३ प्रतिशत संख्याले मात्रै सेयर पाउने थिए। यस्तो अवस्थामा गोलाप्रथा नै हुने निर्देशक गिरीले बताए।
खुलेको सेयर संख्याका आधारमा आवेकको संख्या पनि धेरै देखिने गर्दछ। जलविद्युत लगानी तथा विकास कम्पनीमा ३ लाख ४ हजारले आवेदन दिएका थिए। जसमा २ करोड कित्ता सेयर खुलाइएको थियो।
यस्तो ठूलो परिमाणको सेयर खुलेको अवस्थामा भने सबैले सेयर पाउनेगरी नयाँ निर्देशिकाले ग्यारेन्टी गरेको छ।
निर्देशिका लागू भएपछि ठूला र साना लगानीकर्ताबीचको विभेद पनि हटेको छ। एक करोड रुपैयाँको सेयर आवेदन हाल्ने र १० हजारको हाल्नेले बराबरी कित्ता पाउने ढोका नयाँ निर्देशिकाले खोलेको छ। यसबाट धेरै हदसम्म विकृतिहरु हट्ने भन्दै लगानीकर्ता संघले स्वागत गरेको छ।
संघका महासचिव नवराज सुवेदीले धेरै संख्यालाई पुँजी बजारमा संलग्न गराउन र पुँजी एकीकृत गर्न नयाँ निर्देशिका उपयुक्त रहेको बताए। ‘साना ठूला सबै लगानीकर्तालाई बराबरी हिस्सा दिएको छ, त्यो उपलव्धीमूलक छ’ उनले भने।