तपाईं कस्तो चिया पिउनुहुन्छ? दूधसहितको, दूधबिनाको वा ग्रीन टी?
आफ्नो रूचिअनुसार जस्तो पिए पनि प्रायः को घरमा नेपाली ब्रान्डको चिया हुन्छ। विदेशी ब्रान्ड रूचाउनेहरू पनि कम छैनन्!
आज भने हामी नेपाली ब्रान्डकै चियाका बारेमा कुरा गर्दैछौं। यो मसिना दाना पारिएको (सिटिसी) चियाको ब्रान्ड भने होइन, चियाको पात अर्थात् चियापत्तिको ब्रान्ड हो। त्यसैले यसको नाम राखिएको छ 'सुइरो'।
चिया बोटको मुनामा हुने बीचको सुरिलो पातलाई सुइरो भनिन्छ। नेपाली चियाको विस्तार गर्न कस्सिएका अनुप शर्मा र होङ्मे लियाले ब्रान्डको नाम पनि नेपालीमै राखेका हुन्।
'नेपालमा थुप्रै किसिमको चिया बन्छ,' अनुपले भने, 'तर धेरै नेपाली चिया विदेशी ब्रान्ड नाममा बिक्री भइरहेको छ। हामी नेपाली ब्रान्डमै विस्तार गर्न चाहन्छौं।'
उनका अनुसार खासगरी नेपालका इलाम, पाँचथर, तेह्रथुम, र धनकुटामा चियाखेती हुन्छ। यहाँको तयारी चिया वा मुना नै भारतीय व्यवसायीहरूले किन्छन् र भारतीय वा अन्य विदेशी कम्पनीका नाममा बेच्छन्। यस्तो चिया फेरि नेपालमै पनि आइपुग्छ। यसो हुँदा नेपाली चियाको मौलिकता हराउँदै गएको छ। त्यसैले नेपाली ब्रान्ड नाममै चिया विस्तार गर्ने उनीहरूको उद्देश्य हो।
नेपाली नागरिक अनुप र चिनियाँ नागरिक होङ्मे दम्पती हुन्। उनीहरूको बिहे भएको आठ वर्ष भयो।
अनुप विद्यावारिधिको शोधार्थीका रूपमा २०६७ सालमा चीन गएका थिए। यही क्रममा चाइनिज एकेडेमी अफ साइन्सेसमा होङ्मेसँग भेट भयो। होङ्मे त्यहाँ स्नातकोत्तर तहमा पढ्थिन्। कलेज परिसरमा भेट बाक्लो हुँदै जाँदा सम्बन्ध पनि प्रगाढ बन्दै गयो।
२०७१ सालको अन्त्यतिर दुवै जना नेपाल आए र यहीँ बिहे गरे।
होङ्मे चीनलाई आमाबुबाको घर भन्छिन्, नेपाललाई आफ्नो घर।
'मेरो परिवार जहाँ हुन्छ, त्यहीँ मेरो घर हुन्छ,' उनले भनिन्।
होङ्मे पहिलो पटक २०६९ सालमा नेपाल आएकी थिइन्। त्यसै बेला उनी नेपाली संस्कृतिप्रति लोभिएकी रहिछन्।
नेपाली चियाको व्यापार नेपाली ब्रान्डमै गर्नुपर्छ भन्ने प्रारम्भिक अवधारणा पनि होङ्मेकै हो। होङ्मेको विशेषज्ञता 'फाइटोकेमिस्ट्री' मा हो। यो विषय बिरूवा र बिरूवाजन्य उत्पादनसँग सम्बन्धी रसायन विज्ञान हो। पढाइका क्रममा उनका प्रशिक्षक धेरै पटक चियाको उदाहरण दिन्थे। चियाको कुरा नभएको दिन नै हुँदैनथ्यो भने पनि हुन्छ। त्यसैले चियामा होङ्मेको रूचि बढ्यो।
उनले पढाइकै क्रममा चिनियाँ बजारमा पाइने अनेक प्रकारका चिया खोजी गरिन्। चीनको युनान, फुजिआन, आन्हुई प्रदेशहरू चियाखेतीका लागि प्रख्यात छन्। उनी यी सबै ठाउँ पुगिन्। चियाप्रतिको उत्सुकता लिएरै उनी नेपाल आइन्। नेपाली बजारमा पाइने चियाबारे खोजी गरिन्। यो चाहिँ २०७४ सालतिरको कुरा हो।
सुइरो सुरू गर्नुअघि होङ्मे अनुपसँग पूर्वी नेपाल घुम्न गइन्। त्यहाँ उत्पादन हुने चियाबारे जानकारी लिइन्। कृषक र उद्योगीहरूसँग कुरा गरिन्।
'नेपालमा विभिन्न प्रकारको चिया तयार गर्न सकिन्छ भन्ने कुरा बगान पुगेर थाहा पाएँ। चिया खेती गर्ने किसानहरूलाई भने यसबारे कमै ज्ञान रहेछ,' उनले भनिन्, 'यहाँको चिया भारतमा निर्यात हुने तर नेपाली बजारमै नपाइने अवस्था छ।'
उनका अनुसार भारतीय चिया भनेर नेपाली र अन्तर्राष्ट्रिय बजारमा प्रख्यात 'दार्जिलिङ' र 'आसाम' चिया धेरैजसो नेपालकै हो। नेपाली कृषकहरूमा जनचेतनाको कमी र नेपालमा बजार नपाइने डरका कारण उनीहरू भारतीय व्यवसायीलाई आफ्नो उत्पादन बिक्री गर्छन्।
यही अवस्था मनन गरेर नेपाली ब्रान्डको चिया प्रवर्द्धन गर्न तीन वर्षअघि उनीहरूले सुइरो सुरू गरेका हुन्।
सुइरोले अहिले उलङ, ह्वाइट टी, गोल्डेन टिप्स, सिल्भर टिप्स, यल्लो टी, ग्रीन टी, डार्क टी, ब्ल्याक टी इत्यादि स्वादका चिया बेच्दैछ। यीसँगै हर्बल (आयुर्वेदिक) र फ्लोरल (सुकेका फूल) चिया पनि पाइन्छ।
यसको व्यावसायिक पहलको श्रेय होङ्मे र अनुपसँगै श्रीषा प्रधानांगलाई पनि जान्छ। होङ्मे र श्रीषाको भेट चियापत्ति पसलमै भएको थियो। श्रीषा चियाको व्यापार गर्थिन्। उनले पनि केही समय सुइरोमा काम गरिन्। हाल भने पारिवारिक कारणले बाहिरिएकी छन्।
अनुप र होङ्मेबाहेक सुइरोमा तीन जना कर्मचारी छन्। उत्पादन र बजार व्यवस्थापन होङ्मेले सम्हाल्छिन्। अनुप नीतिगत काम हेर्छन्। उनी कोशी टप्पु वन्यजन्तु आरक्ष नजिकैको एउटा रिसोर्टमा पनि संलग्न छन्।
अधिकांश काम होङ्मेले सम्हाले पनि सुइरोको व्यवसायको कानुनी अधिकार अनुपसँग छ। नेपालमा विदेशीले व्यवसाय गर्न पाउने कानुनी प्रावधान नभएकाले आफ्नो नाममा दर्ता भएको उनले बताए।
'अधिकांश काम होङ्मे गर्छिन् तर कानुनले कम्पनी उनको नाममा दिँदैन। त्यसैले मेरो नाममा छ,' उनले भने।
होङ्मेले नागरिकता चीनकै छ। उनी 'विवाह भिसा' मा नेपालमा छिन्। होङ्मेको ध्यान नागरिकताको कुरामा भन्दा आफ्नो व्यवसायमा बढी देखिन्छ।
भन्छिन्, 'मेरो माइती चीनमा छ। अहिले नै चिनियाँ नागरिकता छाड्ने विचार छैन। अहिले म काममै केन्द्रित छु।'
उनी सुइरोलाई नेपाली बजारमा चिनाउन चाहन्छिन्। व्यापार गरेर फटाफट नाफा कमाउनु मुख्य उद्देश्य होइन, चियाको नेपाली ब्रान्ड बनाउनु हो। यसमा यी दम्पती लागिपरेका छन्। उनीहरू आफैं चिया बगान पुग्छन्। अवलोकन गर्छन्।
होङ्मेका अनुसार चियाको गुणस्तर मुना कति बेला, कसरी टिपिन्छ, खेती कति उचाइमा छ, माटो र मौसम कस्तो छ इत्यादि पक्षमा भर पर्छ। कस्तो खालको चियापत्ति बनाउने भन्ने कुरा मुनाको गुणस्तरबाट निर्धारण हुन्छ। सुइरोले चियाविज्ञहरूसँग सरसल्लाह लिएर चियाको गुणस्तर मापन गर्दै आएको छ।
नेपालको पूर्वी पहाड चिया खेतीका लागि निकै उपयुक्त छ। कृषकहरू भने यसबारे अनभिज्ञ भएको अनुप बताउँछन्। त्यसैले उनीहरूले चिया उत्पादन र ब्रान्डिङबारे किसानहरूमा चेतना अभिवृद्धि गर्ने काम पनि गर्छन्।
'धेरै कृषकलाई चियासम्बन्धी आधारभूत ज्ञान थिएन, छैन। हामीले चिया विज्ञमार्फत तालिम दियौं,' अनुपले भने, 'तालिमपछि उहाँहरू सक्रिय रूपमा चियाखेती र प्रशोधन कार्यमा लाग्नुभएको छ।'
सुइरोले सोझै किसानबाट चियापत्ति किन्छ। खोजेअनुसारको चिया उत्पादनका लागि तुलनात्मक रूपमा धेरै मूल्य दिने गरेको अनुपको भनाइ छ।
'विभिन्न किसिमको चिया बनाउन निकै मेहनत गर्नुपर्छ। मुना टिपेर सोझै व्यवसायीलाई बुझाएजस्तो सजिलो हुँदैन,' उनी भन्छन्, 'हामी गुणस्तरमा सम्झौता गर्दैनौं। किसानलाई प्रोत्साहन गर्न उनीहरूकै मूल्यमा किन्छौं।'
उनीहरूले चियाको प्याकेजिङ काठमाडौंमै ल्याएर गर्छन्। होङ्मेको अवधारणाअनुसार डिजाइनरले प्याकेजिङका लागि बट्टा र कागजका खोल तयार गर्छन्। सुइरो चियाको भाउ गुणस्तर हेरेर किलोको दुई सय पचासदेखि १० हजार रूपैयाँसम्म पर्छ। पसल बालुवाटारमा छ।
'यहाँ चियाको महत्व बुझ्ने ग्राहकहरू धेरै छन्। केहीले सुरूमा महँगो भने पनि पछि निकै सन्तुष्ट हुन्छन्,' होङ्मे भन्छिन्, 'ग्राहकको प्रतिक्रियाले काममा हौसला मिल्छ।'
यहाँ आकर्षक र डिजाइनदार चिया पकाउने र खाने भाँडा पनि पाइन्छ। बाहिरी मुलुकमा चिया पकाउने भाँडाको पनि महत्व भएको होङ्मे बताउँछिन्। कतिपय परिवारमा सयौं वर्षको इतिहास भएका भाँडा हुन्छन्। नेपालमा भने खास किसिमको चियापट वा मगको चलन छैन।
'त्यसैले हामी चियासँग चियाका भाँडामा पनि जोड दिइरहेका छौं। चिया पिउनुलाई खास संस्कृतिका रूपमा विस्तार गर्ने चाहना हो,' उनले भनिन्।
सबै तस्बिरः नवीनबाबु गुरुङ/सेतोपाटी
(सेतोपाटीको नेपाली ब्रान्ड स्तम्भका अन्य स्टोरीहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)