आजभन्दा ५० वर्षअघिको कुरा हो।
सन् १९७४ नोभेम्बर २४ — त्यस दिन प्राग् मानवशास्त्रीहरूको टोलीले अफ्रिकी देश इथियोपियाको अनकन्टार ठाउँमा एउटा यस्तो चिज फेला पारे, जसले मानव विकासक्रमको अनुसन्धानमा नयाँ अध्याय थप्यो।
त्यो खोजले इथियोपियाको जमिनमा दफन ३२ लाख वर्ष पुरानो रहस्य पनि उद्घाटन गर्यो।
के हो त्यो चिज?
त्यसले मानव विकासक्रमको अनुसन्धानमा के योगदान गर्यो?
३२ लाख वर्ष पुरानो कुन रहस्य उद्घाटन गर्यो?
यो स्टोरीमा हामी त्यसैबारे चर्चा गर्नेछौं।
सन् १९७४ नोभेम्बर २४ को त्यो दिन मानव विकासक्रमको अनुसन्धानमा जुटेका वैज्ञानिकहरूको टोली इथियोपिया पुगेको थियो। टोलीको नेतृत्व प्राग् मानवशास्त्री डोनाल्ड जोहान्सनले गरेका थिए।
मानव विकासक्रमसँग जोडिएको रहस्य फुकाउन जीव तथा वनस्पतिका अवशेष खोज्नु उनीहरूको उद्देश्य थियो।
आइतबारको दिन थियो। तापक्रम करिब ३८ डिग्री सेल्सियस थियो।
अनकन्टार भूमिमा पुराना अवशेष खोजिरहेका डोनाल्ड जोहान्सनको आँखा एउटा अनौठो चिजमा पर्यो। उनको खुसीको सीमा रहेन।
त्यो चिज थियो, एउटा सग्लो हड्डी।
जोहान्सनले त्यो हड्डी ओल्टाइपल्टाइ हेरे।
पहिलो नजरमै उनले थाहा पाए, त्यो हातको हड्डी थियो। मान्छेकै हड्डीजस्तो पनि देखिन्थ्यो।
जोहान्सन र उनको टोलीले त्यही ठाउँ वरिपरिका माटो खनेर हेरे। संयोगले त्यस क्षेत्रमा अरू पनि थुप्रै हड्डी फेला परे। सबै मान्छेकै हड्डी जस्तो देखिन्थे। र, ती सबै फरक-फरक अंगका थिए।
सबै हड्डी उत्खनन् गरेर निकाल्न साढे दुई साता लाग्यो।
उनीहरूले सबै हड्डीका टुक्रा प्रयोगशालामा ल्याए। जोडजाड पारेर हेर्दा एउटा सिंगो मानव कंकाल बन्यो।
त्यो कंकाललाई मिहिन अनुसन्धान गरेपछि वैज्ञानिकहरूले चारवटा नतिजा निकाले —
पहिलो, ती सबै हड्डी मान्छेकै हुन्।
दोस्रो, त्यो मान्छे लगभग तीन फुट अग्लो थियो।
तेस्रो, त्यो महिलाको हड्डी हो।
चौथो र सबभन्दा महत्त्वपूर्ण, ती महिला ३२ लाख वर्षअघि यही पृथ्वीमा हिँडडुल गर्थी, हामीजस्तै।
वैज्ञानिकहरूले त्यो मानव कंकाललाई नाम दिए - लुसी।
यहाँ लुसी नाम दिनुको पछाडि पनि रोचक कारण छ।
डोनाल्ड जोहान्सनले अमेरिकी समाचार संस्था 'सिएनएन' लाई दिएको अन्तर्वार्ताअनुसार जुन बेला उनीहरू हड्डी उत्खनन् गर्दै थिए, त्यो बेला उनीहरू बिटल्सको एउटा गीत सुन्दै थिए — लुसी इन द स्काई विथ डायमन्ड्स।
त्यही गीतको प्रभावले टोलीका एक सदस्यले कंकालको नाम लुसी राख्न सुझाव दिए।
जोहान्सनलाई सुझाव मन पर्यो।
यसरी त्यो कंकालको नाम लुसी रह्यो।
लुसीको कंकाल फेला परेको ५० वर्ष बितिसकेको छ। तर आज पनि त्यसले मानव विकासक्रमको अध्ययनमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ।
प्राग् मानवशास्त्रको अध्ययनमा लुसीलाई अहिलेसम्मकै सबभन्दा लोकप्रिय खोज मानिन्छ। लुसीलाई हामी सबै मान्छे जातिको 'हजुरआमा' पनि भनिन्छ।
हुन पनि आजभन्दा ३२ लाख वर्षअघि यो धर्तीमा बाँचेको मान्छेको सग्लो कंकाल फेला पर्नु ठूलै उपलब्धि थियो। त्यसले लुसी कति वर्ष पुरानो मान्छे हो, कस्तो थियो लगायत थुप्रै सूचना दियो।
एउटा प्रश्न भने अनुत्तरित थियो। वैज्ञानिकहरूले जति खोजबिन गर्दा पनि जबाफ पत्ता लगाउन सकेका थिएनन्।
प्रश्न थियो — लुसीको मृत्यु कसरी भयो? उनको मृत्यु स्वाभाविक थियो वा अस्वाभाविक?
वर्षौंसम्म रहस्यमा रहँदै आएको यो प्रश्नको जबाफ पनि वैज्ञानिकहरूले खोजिसकेका छन्।
लुसीमाथि निरन्तर खोज र अनुसन्धानमा जुट्दै आएको वैज्ञानिक टोलीको पछिल्लो निष्कर्षले भन्छ — लुसीको मृत्यु अस्वाभाविक रूपमा भयो। उनी अग्लो रूखबाट खसेर मरेकी थिइन्।
लुसीको मृत्युसम्बन्धी यो वैज्ञानिक खोज अन्तर्राष्ट्रिय जर्नल 'नेचर' मा केही वर्षअघि प्रकाशित भएको छ।
वैज्ञानिकहरू लुसीको मृत्युसम्बन्धी निष्कर्षमा कसरी पुगे त?
इथियोपियाको राष्ट्रिय संग्रहालयमा राखिँदै आएको लुसीको कंकाललाई सन् २००७ मा अमेरिका ल्याइएको थियो। ह्युसटन प्राकृतिक विज्ञान संग्रहालयमा कंकाल प्रदर्शन गरियो। उक्त प्रदर्शनीपछि लुसीलाई टेक्सास विश्वविद्यालयमा १० दिन राखियो। त्यही बेला वैज्ञानिकहरूले सिटी स्क्यानरमार्फत् लुसीको कंकालमाथि अनुसन्धान गरे।
यो अनुसन्धानको नेतृत्व प्राग् मानवशास्त्री जन केपलम्यानले गरेका थिए।
केपलम्यान र उनका सहकर्मीहरूले लुसीको हड्डीका 'थ्री-डाइमेन्सन' आकृति तयार पारे। ती टुक्राटुक्रा आकृति जोडेर एउटा सग्लो रूप दिए।
त्यही क्रममा केपलम्यानको आँखा लुसीको दाहिने हातको माथिल्लो हड्डीमा पुग्यो। त्यहाँ उनले एउटा मसिनो चिरा देखे।
उनले घोरिएर हेरे।
उनको निष्कर्ष रह्यो, त्यो चिरा हड्डी फुटेर भएको हो। कहिलेकाहीँ शरीरको एउटा हड्डीले जोडसँग अर्को हड्डीलाई थिच्दा फुटेर यस्तो चिरा पर्ने उनले बताए।
हड्डीको स्थिति र चिरा परेको ठाउँ मिहिन रूपमा केलाउँदा लुसी कुनै अग्लो ठाउँबाट खसेर हड्डी भाँचिएको हुन सक्ने केपलम्यानको निष्कर्ष रह्यो।
सामान्य ठेस लागेर भाँचिएको हड्डीमा यस्तो चिरा पर्दैन। यस्तो चिरा पर्न अग्लो ठाउँबाटै खस्नुपर्छ भन्ने उनको भनाइ थियो।
यसलाई पुष्टि गर्न उनले अरू हाडजोर्नी विशेषज्ञहरूसँग परामर्श गरे। सबैको निष्कर्ष एउटै आयो।
त्यसपछि केपलम्यान र उनका सहकर्मीले लुसीको शरीरका अन्य हड्डीमा पनि त्यस्तै चिरा छन् कि छैनन् भनेर हेरे। नभन्दै लुसीको शरीरमा बंगरादेखि कुर्कुचासम्म उस्तै खालका चिरा फेला परे।
यसले के देखायो भने, लुसी सुरूमा एक फिट जति तल खसिन्। त्यहाँ एकछिन अडिइन्, अनि एकैचोटि भुइँमा बजारिइन्। यसबीच उनले आफ्ना दुवै हात उठाएर केही चिजलाई समात्न र भर लिन खोजेको पनि वैज्ञानिकहरूको अनुमान छ।
केपलम्यानका अनुसार रूखबाट भुइँमा बजारिएपछि लुसी लामो समय होसहवासमा रहिनन्। उनको करङ जुन किसिमले भाँचिएका छन्, त्यसले उनका भित्री अंग पक्कै सकुशल रहन सक्थेनन्। यही भित्री अंगको चोटले लुसीको प्राण गएको वैज्ञानिकहरूको अनुमान छ।
सबै वस्तुस्थिति केलाएपछि वैज्ञानिकहरूले भने — लुसी पक्कै पनि रूखबाट खसेकी थिइन्।
त्यति बेला लुसी बसोबास गर्ने ठाउँको भौगोलिक अनुमानका आधारमा पनि वैज्ञानिकहरू यो निष्कर्षमा पुगेका हुन्।
भूगर्भविदका अनुसार ३२ लाख वर्षअघि लुसी बसोबास गर्ने ठाउँ अलि कम उचाइ भएको जंगली क्षेत्र थियो। त्यो क्षेत्रमा नजिकै कुनै पहराहरू थिएनन्। त्यति बेला बाँदर वा लुसीजस्ता वनमान्छेको बढीजसो समय रूखमै बित्थ्यो।
तर यो निष्कर्षमा सबै वैज्ञानिक सहमत छैनन्।
लुसीको कंकाल फेला पार्ने जोहान्सन आफै पनि यो निष्कर्षमा सहमत देखिँदैनन्।
उनका अनुसार लुसीको कंकाल ३२ लाख वर्षसम्म बालुवामुनि पुरिएर रह्यो। यति लामो समय पुरिनुले पनि हड्डीमा चिरा पर्ने उनको भनाइ छ। त्यसैले रूखबाट खसेरै लुसीको मृत्यु भएको हो भन्नेमा सहमत हुन नसकिने उनी बताउँछन्।
लुसीको कंकालमा देखिएका अन्य केही विशेषता पनि वैज्ञानिकहरूले औंल्याएका छन्।
लुसीको पैतला र घुँडाको हड्डीको आकार हेर्दा उनी जमिनमा दुई खुट्टा टेकेर ठम्ठम्ती हिँड्न सक्थिन् भन्ने देखिन्छ।
लुसीको कंकाल फेला परेयता प्राग् मानवशास्त्रीहरूले यस्ता थुप्रै अवशेष फेला पारिसके। ती सबै अवशेषमा पैताला र घुँडा समान पाइएको छ। यही आधारमा वैज्ञानिकहरू भन्छन्, 'लुसीको समयसम्म हाम्रा पुर्खाहरू बाँदरजस्तो एउटा रूखबाट अर्को रूखमा हाम्फाल्न पोख्त थिएनन्। उनीहरूले रूख चढ्न र हाँगाहरूमा उफ्रिन लगभग बिर्सिसकेका थिए। बरू यसको सट्टा उनीहरू जमिनमा हिँडडुल गर्न थालेका थिए।'
रूखबाट जमिनतर्फको यो यात्रा आहाराको खोजीका कारण भएको वैज्ञानिकहरूको निष्कर्ष छ।
यसमा पनि वैज्ञानिकहरूको राय बाझिन्छ।
लुसीको हात र काँधका हड्डी लचिलो रहेकाले उनी रूख चढ्नमा पोख्त थिइन् भन्ने केही वैज्ञानिक बताउँछन्। जमिन र रूखको माथिल्लो हाँगोमा उनको समय बराबर बित्ने गरेको वैज्ञानिकहरूको अनुमान छ।
यहाँनिर भने केपलम्यान र उनका सहकर्मीको राय अलि मिल्दोजुल्दो छ।
लुसी भुइँमा हिँड्न सक्ने भए पनि उनी रूखको हाँगामा बस्ने गरेको र सम्भवतः सुतिरहेका बेला हाँगाबाट खसेको हुनसक्ने केपलम्यान बताउँछन्।
उनले यस्तो अनुमान गर्नुको कारण छ। चिपान्जी लगायत वनमान्छेहरू जमिनबाट ४० फिट माथि रूखमा घर बनाउँथे भन्ने अध्ययनले देखाएको छ।
अर्को अनुमानअनुसार लुसी आहाराका लागि रूख चढ्दै गर्दा खसेकी पनि हुन सक्छिन्। वनमान्छेहरू कहिलेकाहीँ मौरीको घारको खोजीमा रूखका माथिल्ला हाँगाहरूमा चढ्ने गर्छन्। त्यस्ता घार उनीहरूको बासस्थानभन्दा निकै माथि हुन्छ। मौरीको घार झिक्दा एउटा हातले रूखको हाँगा समात्नुपर्छ भने अर्को हातले घारमा हिर्काउनुपर्छ।
लुसीको कंकालबारे भएको एउटा अर्को अनुसन्धानले सानो कदकाँठकी लुसी एकदमै बलियी थिई भन्ने पनि देखाएको छ। उनी आफ्नो धेरैजसो समय रूखमै झुन्डिएर बिताउँथी भन्ने त्यो अनुसन्धानले देखाउँछ।
यो अनुसन्धानको नेतृत्व जोन हप्किन्स विश्वविद्यालयका प्राग् मानवशास्त्री क्रिस्टोफर रफले गरेका थिए। यसका लागि उनले कुनै पनि प्राणीको हड्डी कसरी विकास हुन्छ भन्ने अध्ययन गरेका थिए।
मान्छे वा अन्य जीवले शरीरको कुन हड्डी कसरी प्रयोग गर्छ भन्ने आधारमा त्यसको विकास निर्भर हुन्छ। बढी प्रयोग हुने हड्डी स्वाभाविक रूपले बढी बलियो हुन्छ भने कम प्रयोगमा आउने हड्डीहरू स्वतः कमजोर हुँदै जान्छन्। लुसीको हातको हड्डी जुन प्रकारले विकास भएको थियो, उसको निम्ति रूखमा झुन्डिनु वा रूखमै समय बिताउनु अस्वाभाविक वा असामान्य थिएन।
मानवशास्त्री क्रिस्टोफर रफका अनसार लुसीको हात र गोडाको शक्ति मान्छेको भन्दा बढी थियो, झन्डैझन्डै चिम्पान्जीसँग मिल्दोजुल्दो।
लुसीको हड्डी अनुसन्धान गर्दा उनले के पाए भने, लुसीको हातको हड्डी भित्र खोक्रो थियो। हामीले कोकाकाला पिउँदा प्रयोग गर्ने पाइपजस्तै। त्यसलाई तेर्सो पारेर काट्ने हो भने झन्डैझन्डै चुराझैं देखिन्थ्यो। तल्लो चुराको तुलनामा माथिल्लो चुरा बढी चौडा थियो। हड्डीको टुक्रा जति बढी चौडा भयो, त्यसले उति बढी शक्तिशाली छ भन्ने झल्काउँछ।
उदाहरणका लागि, व्यावसायिक टेनिस खेलाडी जुन हातले खेल्छन्, त्यसको हड्डी अर्को हातको तुलनामा बढी चौडा हुन्छ।
यही आधारमा क्रिस्टोफर रफले लुसीको हातगोडाका हड्डी बलियो भएको र उनी धेरैजसो समय रूखमै बिताउँथी भन्ने निष्कर्ष निकाले।
जे होस्, लुसीको कंकाल फेला परेको ५० वर्ष बितिसक्दा पनि उनीमाथि अनुसन्धान जारी छ। समयक्रममा विभिन्न वैज्ञानिकले लुसीमाथि खोज गरिरहेका छन् र नयाँ नयाँ तथ्य सार्वजनिक भइरहेका छन्।
यसको श्रेय उनै डोनाल्ड जोहान्सनले दिनुपर्छ, जसले आजभन्दा ५० वर्षअघि इथियोपियामा एउटा सग्लो मानव कंकाल फेला पारे।
र, त्यसलाई नाम दिए — लुसी।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका आधारमा तयार पारिएको।)
***