सन् १९९५ मा अमेरिकाबाट नेपाल आउन दिलिप अग्रवाल अमेरिकी एयरलाइन्स नर्थवेस्टको जहाज चढेका थिए। त्यतिबेला नेपाल आउन अमेरिकाबाट थाइल्याण्ड त्यहाँबाट दिल्ली हुँदै आउनुपर्थ्यो।
बायो केमेस्ट्री पढ्न स्कलरसिपमा अमेरिका गएका दिलिप नेपालमा इमेल सेवा सुरू गर्ने अठोटका साथ जहाज चढेका थिए। नर्थवेस्ट एयरलाइन्सको त्यो जहाजको सिटसँगै टेलिफोन थियो। क्रेडिटकार्ड हुनेहरूले पैसा तिरेर आकाशबाटै जमिनमा फोन गर्न पाउँथे।
‘त्यो सेवाको नाम वर्ल्डलिंक थियो’, दिलिपले भने, ‘नेपालमा म जुन सेवा विस्तार गर्ने लक्ष्य लिएर आउँदै थिएँ। त्यो कामको उद्देश्य पनि नेपालबाट वर्ल्डलिंक गर्ने थियो।’
नेपाल आएपछि दिलिपले इमेल सेवा प्रदान गर्ने गरी वल्डलिंक कम्पनी दर्ता गर्न खोजे। तर इमेल सेवा दिनका लागि त्यतिबेलासम्म नेपालमा छुट्टै कम्पनीहरू खुलेका थिएनन्। सरकारले वल्डलिंकलाई टेलिफोन सेवा दिने ‘पिसिओ’ का रूपमा दर्ता गरिदियो। पिसिओमा अनिवार्य ‘कम्युनिकेशन’ शब्द राख्नुपर्ने भन्दै कम्पनी रजिष्टार कार्यालयले कम्युनिकेशन शब्द थपिदियो।
दिलिपले पहिलोपटक इमेल सेवाको प्रयोग अमेरिकामै गरेका थिए। सन् १९९४ मा उनका दाजु अमेरिकामा कम्प्युटर इन्जिनियरिङ गर्दै थिए। त्यतिबेला भर्खरै लिनक्सको अपरेटिङ सिस्टम सञ्चालनमा आएको थियो।
‘मेरो दाइले कम्युटरबाट इमेल आदानप्रदान गर्न सक्ने सर्भरको व्यवस्था गर्नुभएको थियो’, दिलिपले भने, ‘एकदिन उहाँले मलाई पनि इमेल आदानप्रदान कसरी गर्ने भनेर सिकाउनुभयो। इमेल चलाउन जानेपछि म उत्साही भएँ। मैले दाइलाइ ‘तपाईं नेपालमा गएर अब इमेल सेवा प्रदान गर्नुहोस्’ भनेँ। तर दाइको रुचि थिएन।’
दाइले रुचि नदेखाए पनि मलाई भने नेपालमा यस्तो सेवा आवश्यक छ भन्ने लाग्यो।
‘त्यतिबेला अमेरिकाबाट नेपालमा परिवारसँग सम्पर्क गर्न महँगो थियो। नेपालमा फोन गर्न मात्र पनि प्रतिमिनेट झण्डै २ डलर लाग्थ्यो। नेपालबाट अमेरिका फोन गर्न प्रतिमिनेट २ सय रुपैयाँ जस्तो पर्थ्यो’, दिलिपले भने, ‘हामी अमेरिकाबाट नेपालमा दुई तीन महिनामा मात्र कुरा गर्थ्यौं। मैले नेपालमा इमेल सेवा सुरू गर्ने विषयमा श्याम अग्रवाल दाइसँग कुरा गरेँ। उहाँले तिमी आएर सुरू गर दिलिप भन्नुभयो।’
त्यसपछि दिलिपले एउटा कम्युप्टरको व्यवस्था गरेर नेपाल आए। कलेजले थेसिस गर्नका लागि दिएको ३५ सय डलर बोकेर उनले नेपालमा पहिलोपटक इमेल सेवा सुरू गरे। तर वर्ल्डलिंक इमेल सेवा प्रदान गर्ने पहिलो कम्पनी बन्न भने सकेन। त्यसको दुई महिना अघि मात्र मर्कन्टाइलले नेपालबाट इमेल सेवा सुरू गरेको थियो।
त्यसो त दिलिपलाई इमेल सेवा सुचारू गर्न कम्ता चुनौतीको सामना गर्नुपरेन।
‘त्यतिबेला इमेल सेवा टेलिफोनबाट आदानप्रदान हुन्थ्यो। मोडेम चाहिन्थ्यो। तर मसँग टेलिफोनको लाइन थिएन। त्यो समयमा मन्त्रीको अनुमतिबिना टेलिफोनको लाइन पाइन्नथ्यो। मैले बुवाको बायो केमेस्ट्री ल्याबमा भएको फ्याक्स मेसिनको लाइन झिकेर सर्भरमा जोडेँ’, दिलिपले भने, ‘मैले फ्याक्स लाइन झिकेकोमा बुवा एकदमै रिसाउनुहुन्थ्यो। लाइन झिकेका कारण उहाँको महत्वपूर्ण फ्याक्स छुट्थ्यो। बुवा रिसाए पनि हामीसँग नयाँ टेलिफोन लाइन किन्ने क्षमता थिएन। टेलिफोन लाइनको मूल्य त्यतिबेला ३० देखि ३२ हजार थियो।’
नेपालमा इमेल सेवा सुरू गरेपछि दिलिप फेरि बायो केमेस्ट्रीको थेसिस सक्न अमेरिका गए।
‘यता नेपालमा इमेलको विजनेश फूपुको छोरा श्याम अग्रवाल र मामाको छोरा विजय जलानलाई जिम्मा लगाएँ’, दिलिपले भने, ‘उहाँहरूलाई मैले पैसा दिन सक्ने अवस्था थिएन। त्यसैले मैले कम्पनीको सेयर दिएँ।’
त्यसबीचमा दिलिप अमेरिकाबाट पनि वर्ल्डलिंकको काममा संलग्न हुन्थे। सर्भरमा कुनै समस्या आएलगत्तै दिलिपलाई नेपालबाट फोन जान्थ्यो। नेपाल र अमेरिकाको समय फरक भएकाले उनी रातभर टेलिफोनबाटै नेपालको सर्भर समस्या सुझाउन काम गर्थे। दिलिप अमेरिकामा भएकै बेला नेपालमा पहिलोपटक कम्युप्टर एसोसिएसन अफ नेपालले ‘क्यान इन्फोटेक’ आयोजना गर्यो।
१९९६ को जनवरीमा होटल ब्लुस्टारमा भएको उक्त इन्फोटेकमा वर्ल्डलिंकले स्टल राख्यो।
‘त्यसबाट हामीले पहिलोपटक एक्सपोजर पायौं। मानिसहरूलाई मर्कन्टाइल बाहेक अर्को कम्पनीले पनि इमेल सेवा दिन्छ भन्ने थाहा भयो। त्यहाँ हामीले निकै ग्राहक बनायौं’, दिलिपले भने, ‘यसरी बनाएका ग्राहकहरू धेरैजस्तो विभिन्न कामले नेपालमा बसोबास गरिरहेका विदेशीहरू थिए। उनीहरूले परिवारसँग सम्पर्क गर्न वर्ल्डलिंकसँग इमेल सेवा लिए।’
ग्राहक बढेपछि दिलिपले तयार पारेको सर्भरमा समस्या देखिन थाल्यो। दिलिपलाई तत्कालै फर्कन भन्दै नेपालबाट तारन्तार फोन जान थाल्यो।
दिलिप सन् १९९६ मा आफ्नो थेसिस सकेको भोलिपल्टै नेपाल फर्किए। फर्किएलगत्तै उनले इमेल सेवाको प्राविधिक अपडेट गरे।तर त्यतिबेलासम्म दिलिपले छुट्टै कार्यालय खोलेका थिएनन्। उनले सानेपास्थित आफ्नै घरबाट व्यवसाय सञ्चालन गरिरहेका थिए।
‘एकपटक ठूलै आइएनजिओको आइटी म्यानेजरले मलाई भेट्न आउने इच्छा व्यक्त गर्नुभयो। हामीलाई कसैले कार्यालय आउँछु भन्नासाथ डर लाग्थ्यो। हामी कार्यालयमा नआउनुहोस् भन्थ्यौं। हामी नै तपाईंको कार्यालयमा आउँछौं भन्थ्यौं। किनभने देखाउन मिल्ने कार्यालय नै थिएन’, दिलिपले भने, ‘तर ती आइएनजिओका मान्छे भेट्न आए। उनले हाम्रो सर्भरको नाममा एउटा कम्युप्टर मात्र देखे। अनि ‘दिलिपजी तपाईं राम्रो मान्छे लाग्नुहुन्छ तर हामी तपाईंसँग व्यवसाय गर्न सक्दैनौं’ भने।
यसरी घर नै आएर कसैले सेवा लिन नसक्ने बताउँदा दिलिपलाई झोंक चलेको थियो। आफूहरूले राम्रो सेवा दिइरहेको दिलिपको विश्वास थियो। तर ती व्यक्तिले दिलिपलाई ‘तपाईं एक वर्षपछि पनि नेपालमा बस्नुहुन्छ भन्ने के ग्यारेण्टी छ?’ भन्दै प्रश्न गरे।
‘उहाँले छ महिनामा कम्पनी बन्द हुँदैन भन्ने ग्यारेण्टी के छ भन्नुभयो, तपाईंको त कार्यालय पनि छैन। प्राविधिक उपकरणको नाममा एउटा कम्युप्टर छ। घरबाट व्यवसाय गर्दै हुनुहुन्छ। स्टाफ भनेको पनि तपाईं र आफन्त मात्र हुनुहुन्छ। के ग्यारेण्टी छ कि तपाईंहरू रहनुहुन्छ’, भनेर प्रश्न गर्नुभयो, ‘अहिले म उहाँको धारणा बुझ्न सक्छु। तर त्यतिबेला निकै दु:ख लागेको थियो।’
तर वर्ल्डलिंकका ग्राहक संख्या भने बढिरहेका थिए। जसको प्रमुख कारण वर्ल्डलिंकले दिने सेवा थियो।
‘हाम्रो नीति नै के थियो भने हामी घर-घरमा गएर काम गरिदिन्थ्यौं। त्यतिबेला मर्कन्टाइलमा इमेलमा समस्या आएको अवस्थामा कम्युप्टर र मोडेम बोकेर जानुपर्थ्यो’, दिलिपले भने, ‘हामी के भन्थ्यौं भने तपाईं कम्युप्टर लिएर नआउनुहोस्। हामी काठमाडौंको घर वा कार्यालयमा पुगेर समस्या समाधान गरिदिन्थ्यौं।’
कतिपय एप्पल कम्पनीका म्याकिन्टोस कम्युप्टर चलाउने ग्राहकहरूलाई सर्भिस दिन भने दिलिप आफैं पुग्थे। किनभने म्याकिन्टोसका समस्या समाधान गर्न जान्ने अरू व्यक्ति थिएनन्।
‘यसरी सेवा दिँदा कति त मैले टिप्स पाएको छु’, दिलिपले भने, ‘विदेशीहरू यो केटा अमेरिकाबाट फर्किएर नेपालमा सेवा दिइराखेको छ भनेर खुसी हुन्थे। घरमा आएर समस्या समाधान गरिदिएको छ भनेर पाँच सय, हजार दिन्थे। पछिसम्म पनि म्याकिन्टोस कम्प्युटरको अपरेटिङ सिस्टमका लागि मान्छे पाइँदैन थियो। पछिसम्म पनि म आफैं समस्या समाधानका लागि पुग्थेँ।’
सन् १९९७ मा दोस्रो क्यान इन्फोटेक भयो। त्यतिबेला मर्कन्टाइलले इन्टरनेट सेवा सुरू गर्यो। मर्कन्टाइलले इमेल मात्र होइन वर्ल्ड वाइड वेव ब्राउज गर्न सक्ने सुविधाको घोषणा गर्यो। त्यतिबेला इन्टरनेट चलाउन विदेशको कुनै ठाउँमा २४ सै घण्टा खुला रहने टेलिफोन लाइन लिजमा लिनुपर्थ्यो। अनि नेपालबाट त्यस्तो लाइन विदेशमा जोडिनुपर्थ्यो।
मर्कन्टाइलले नयाँ सेवा दिएपछि वर्ल्डलिंक दबाबमा पर्यो।
‘त्यो लिज लाइनका लागि नेपाल टेलिकमलाई साढे ४ लाख तिर्नुपर्थ्यो। विदेशी सेवा प्रदायकलाई अर्को २/३ लाख बुझाउनुपर्थ्यो। महिनाको ७ लाखको दायित्वको क्षमता हामीसँग थिएन’, दिलिपले त्यो बेलाको क्षण सम्झँदै भने, ‘हाम्रा ग्राहकहरू बढेका थिए। तर त्यत्रो पैसा उठ्ने अवस्था थिएन।’
दिलिप बिखलबन्दमा परे।
‘हामी खल्तीबाट पैसा हाल्न सक्ने स्थितिमा थिएनौं। ग्राहकहरूले हामीलाई मर्कन्टाइलबाट सेवा लिँदा त इन्टरनेट ब्राउज गर्न पाइन्छ। इमेल पनि तुरून्त पुग्छ भन्न थाले’, दिलिपले भने, ‘केही न केही समाधान निकाल्नुपर्ने अवस्था आयो।’
संयोगवश टेलिग्लोब भन्ने विदेशी कम्पनीले वर्ल्डलिंकलाई टेलिफोन लाइन लिजमा दिने प्रस्ताव गर्यो।
‘टेलिग्लोबले लिज लाइन ६ महिनासम्म उधारो दिने प्रस्ताव गर्यो। साथै शुल्क पनि २-३ हजार डलर मात्र राख्यो’, दिलिपले भने, ‘तर नेपालमा टेलिकमलाई तिर्नुपर्ने पैसा भने ४ लाख नै थियो। त्यसका बाबजुद पनि हामी अघि बढ्यौं। अघि बढ्दा हामी सौभाग्यशाली सावित भयौं। त्यतिबेला टेलिकमको बिल महिना मरेपछि मात्र आउँथ्यो। तीन महिनामा तिरे हुन्थ्यो। हामीलाई यसको फाइदा भयो। ३ महिनाभित्र हामी शुल्क तिर्न सक्ने भयौं। त्यतिबेलासम्ममा हामीले ग्राहक संख्या बढायौं। आम्दानी पनि बढायौं।’
दिलिपले त्यतिबेलादेखि नै इन्टरनेटमा प्रिपेड सर्भिसको व्यवस्था सुरू गरे। इन्टरनेट चलाउनका लागि पहिला नै शुल्क तिर्नुपर्ने व्यवस्था गरेपछि उनलाई कहिल्यै पनि रकमको अभाव भएन।
सन् १९९७ मा नेपालले दूरसञ्चार ऐन बनायो। दूरसञ्चार प्राधिकरण स्थापना भयो। प्राधिकरण स्थापना भएपछि पहिलोपटक इन्टरनेट सेवा प्रदायकहरूले सन् १९९८ मा लाइसेन्स पाए।
‘हामीले इन्टरनेट सेवाका लागि भिस्याटको पनि लाइसेन्स पायौं। भिस्याट पाएपछि हामीले छाता राखेर सिधै स्याटेलाइटबाट इन्टरनेट कनेक्सन गर्न सक्थ्यौं’, दिलिपले भने, ‘यसले गर्दा हामीले नेपाल टेलिकमलाई बाइपास गर्न सक्यौं। नेपाल टेलिकमले हामीलाई धेरै नै ठूलो शुल्क लिएको थियो। हामी त्यसपछि सिधै विदेशी सेवा प्रदायकसँग जोडिन पुग्यौं र सस्तोमा इन्टरनेट कनेक्सन ल्याउन सक्यौं। त्यसले गर्दा इन्टरनेटको गति पनि बढ्यो।’
तर प्रविधिमा भइरहेको विकासले वर्ल्डलिंकलाई बारम्बार चुनौती थपिरहेको थियो।
सन् २००० मा डायलअप इन्टरनेट विस्तारै हट्न थाल्यो। डायलअपबाट इन्टरनेटको गति केवल ३३.६ केबिपिएस थियो। त्यतिबेला अरू देशमा १२८ केबिपिएसमा इन्टरनेट चल्न थालिसकेको थियो। कतिपय देशले एडिएसएल सेवामा १ मेगाबाइटसम्म सेवा दिन थालेका थिए।
‘नेपालमा हामीले फिक्सड वायरलेस सेवा सुरू गर्यौं। हामी ग्राहकको घरमा एउटा वायरलेस डिभाइस झुण्डाइदिन्थ्यौं। त्यसबाट इन्टरनेट दिन्थ्यौं। त्यो राउटर निकै महंगो थियो। एउटै राउटरको २ सयदेखि ३ सय डलर पर्थ्यो’, दिलिपले भने, ‘सबैले यो सेवा किन्न सक्दैन थिए। हामी कर्पोरेट र बिजनेश कस्टमरलाई दिन्थ्यौं।’
त्यसपछि वर्ल्डलिंकले सन् २००३ मा काठमाडौंमा इन्टरनेट सेवा विस्तारका लागि तार बिच्छाउन थाल्यो। तामाको तार प्रयोग गरेर इन्टरनेट विस्तार गर्न वर्ल्डलिंकले जुगेडा उपाय लगाएको थियो। तर त्यतिबेला सेवा लिनेहरूले निकै हैरानी खेप्नुपर्यो।
नेपालमा इन्टरनेट सेवाले सन् २००४ मा फड्को मार्यो। जब नेपाल टेलिकमले एडिएसएल सेवा दिन थाल्यो। नेपाल टेलिकमसँग पहिला देखिनै घरघरमा फोनको लाइन पुगेको थियो। टेलिकमले नेपालमा पहिलोपटक एडिएसएल सेवा दिन थाल्यो। नेपालीहरूले १२८ केबिपिएसको इन्टरनेट सेवा पाउन थाले। यसले वर्ल्डलिंकलाई चुनौती थप्यो।
त्यसमाथि नेपाल टेलिकमले स्याटेलाइटबाट नभएर भारतबाट फाइबर तारमार्फत् इन्टरनेट भित्र्याएको थियो। जसका कारण उसको इन्टरनेट स्थिर र भरपर्दो बन्यो।
‘त्यतिबेला हामीसँग केही पनि थिएन। हामीले नेपाल टेलिकमलाई एडिएसल विस्तारको काम माग्यौं। तर टेलिकमले मानेन’, दिलिपले भने, ‘हामीसँग त्यसको विकल्पमा कुनै प्रविधि थिएन। विस्तारै हाम्रो र अन्य इन्टरनेट सेवा प्रदायकको बजारमा उपस्थिति घट्न थाल्यो। हाम्रो खराब दिन सुरू भयो।’
त्यसबीचमा वर्ल्डलिंकले थरीथरी उपाय लगाएर इन्टरनेट दिने प्रयास गरे पनि सफल हुन सकेन। सन् २००७ र २००८ मा अर्को फिक्स्ड वायरलेस सेवा दिए पनि वर्ल्डलिंकले त्यसबाट दीगो सेवा दिन सकेन। वर्ल्डलिंक समस्यामा फस्दै गयो।
‘सन् २००४ देखि २०१२ सम्म हामीले केही पनि गर्न सकेनौं। नेपाल सरकारलाई वाइम्याक्स सेवाका लागि लबिङ गर्यौं। सरकारले फ्रिक्वेन्सी छुट्यायो तर आजको मितिसम्म पनि त्यो वितरण गरेन। यस बीचमा वर्ल्डलिंकमा राजस्व अनुसन्धान विभागले २ पटक छापा मार्यो। दुवैपटक छापा मार्ने व्यक्ति एउटै थिए’, दिलिपले भने, ‘त्यसले कम्पनी बन्द हुने स्थिति आयो।’
वर्ल्डलिंक समुन्द्रमा तैरिएको जहाजजस्तो भयो। ८ वर्षसम्म वर्ल्डलिंकले अघि बढ्ने बाटो भेटाउन सकेन।
सन् २०१२ मा राजस्व अनुसन्धान विभागमा मुद्दा चल्दा वर्ल्डलिंकले फेरि नयाँ तामाको तार बिछ्याउन सुरू गर्यो।
‘तार अपग्रेड गरेपछि वर्ल्डलिंकले पहिलोपटक काठमाडौंमा १० एमबिपिएस इन्टरनेट सेवा सुरू गर्यो’, दिलिपले भने, ‘तीव्र गतिको इन्टरनेट पाएपछि ग्राहकहरू बढ्न थाले।’
त्यसबीचमा विश्वभरमा अप्टिकल फाइबर सेवामा विकास भयो। खासगरी चीनले देशभरमा फाइबर बिछ्याउँदा यो प्रविधिको मूल्य घट्न गयो। प्रविधिको मूल्य घट्न थालेपछि वर्ल्डलिंकले फेरि एकपटक जगेडा आइडिया लगायो। वर्ल्डलिंकले चीनबाट सेकेण्ड ह्याण्ड राउटर ८० डलरमा नेपाल भित्र्यायो। जबकि त्यतिबेला राउटरको मूल्य साढे २ सय डलर थियो।
राउटर सस्तोमा पाएपछि वर्ल्डलिंकले भैरहवामा फाइबर इन्टरनेटको परीक्षण गर्यो।
फाइबर इन्टरनेट दिन थालेपछि सेवा गुणस्तरीय भयो। एक वर्षअघि मात्र तामाको तार अपग्रेड गरेको वर्ल्डलिंक फेरि फाइबर इन्टरमा जानुपर्ने स्थिति आयो।
‘सन् २०१३ मा भैरहवाको सफलतापछि पनि हामीलाई ठूलो निर्णय लिनुपर्ने अवस्था बन्यो। किनभने हामीले एक वर्ष अघि मात्र काठमाडौंमा ठूलो रकम खर्चिएर कपर वायरमा अपग्रेड गरेका थियौं’, दिलिपले भने, ‘ त्यसका लागि ठूलो लगानी गर्नुपर्ने अवस्था भयो। हामी ठूलो दुविधामा पर्यौं।’
दिलिप फेरि ठूलो लगानी गरेर फाइबर नेटवर्कमा जाने सोचमा थिएनन्। तर कम्पनीमा रहेका अन्य व्यक्तिहरूले फाइबरमा अपग्रेड नगर्दा पछि समस्या हुन सक्ने बताएपछि उनी तयारी भए।
आठ वर्षदेखि थरीथरी नेटवर्क परिवर्तन गर्दा वर्ल्डलिंक बदनाम भइसकेको थियो। अझ इन्टरनेट स्थिर रूपमा नचल्दा ग्राहकहरूले कर्मचारीहरुूलाई निकै गाली गर्थे।
‘कम्पनीमा साथीहरुले एकपटक फाइबर हालौं। त्यसपछि हामी छाती ठोकेर बजारमा गएर सेवा बेच्न सक्छौं भन्नुभयो’, दिलिपले भने, ‘सबैले भनेपछि लक्ष्मी बैंकबाट सय करोडको ऋण ल्याप्चे लगाएर लिएँ। ऋण तिर्न नसक्दा हामी कंगाल हुने स्थिति थियो।’
त्यसपछि भने वर्ल्डलिंकले कहिल्यै पछाडि फर्कनु परेन।
सन् २०१४ मा मुस्किलले ३० हजार ग्राहक भएको वर्ल्डलिंकले अहिले ९ लाख घरमा इन्टरनेट जोडेको छ। कुनैबेला ऋण लिएको कम्पनीले यसवर्ष झण्डै हजार करोडको वार्षिक आम्दानी गर्न सफल भएको छ। ५ हजार ५ सय व्यक्तिलाई रोजगारी दिएको छ। मासिक तलबमा मात्र वर्ल्डलिंकले अहिले झण्डै १० देखि १२ करोड खर्च गर्ने गरेको छ।
यसबीचमा वर्ल्डलिंकले सुरूआतको प्रतिस्पर्धी कम्पनी मर्कन्टाइललाई नाम नै हराउने गरी पछि पारेको छ भने इन्टरनेट सेवामा नेपाल टेलिकमलाई समेत निकै पछाडि छाडेको छ।
इमेल र इन्टरनेट सेवा दिन अमेरिकाबाट नेपाल फर्किएका दिलिपले यसबीचमा बजारमा प्रतिस्पर्धा मात्र गर्नुपरेन। परिवारमा पनि कयौं पटक कुरा बुझाउनुपर्यो।
दिलिपका बुवा छोरालाई वैज्ञानिक बनाउन चाहन्थे। छोराले बायो केमेस्ट्रीमा पिएचडी गरेको हेर्न चाहान्थे। उनले कयौंपटक दिलिपलाई व्यवसाय छाड्न आग्रह गर्थे। तर दिलिपले अठोट छाडेनन्।
‘हामीले इमेल सेवा दिइरहेका बेला एकपटक हार्वर्ड विश्वविद्यालयको एकजना सारा नामकी मानवशास्त्री मलाई भेट्न घरमा आएकी थिइन्। किनभने त्यो नै हाम्रो अफिस पनि थियो। म बाहिर थिएँ। बुवा घर आइपुग्नु भएछ’, दिलिपले भने, ‘बुबासँग साराले गफ गरेकी रहिछिन्। केहीबेरमा म आइपुगेँ। लगत्तै साराले मलाई भनिन् - ‘दिलिप यु सुड टक टू योर फादर। हि इज भेरी अपसेट विथ यू।’
मैले भने - ‘आइ नो ही इज अपसेट विथ मी। बट आइ क्यान नट डू एनिथिङ।’
‘मेरो बुवा म व्यापारमा लागेकोमा एकदमै गुनासो पोख्नुहुन्थ्यो। सारालाई पनि उहाँले ‘मेरो छोरा एकदमै तीक्ष्ण वैज्ञानिक हो। बायो केमेस्ट्री गरेको छ। तर अहिले के काम गरेको हेर त। उसले त अमेरिका गएर पिएचडी गर्नुपर्ने थियो’ भन्नुभएको रहेछ।
मारवाणी समुदायको भए पनि दिलिपको परिवार पुर्ख्यौली रूपमा सम्पन्न थिएन। उनको बुवा अध्ययन अध्यापनमा लागेका थिए। त्यसैले दिलिपले अभावको जिन्दगी भोगेका छन्।
‘हजुरबुवाहरू पैसावाल हुनुहुन्थेन। म भाडाको दुई कोठे घरमा बसेर हुर्किएको हुँ। मेरो बुवा पनि अध्ययन अध्यापनमा लाग्नुभयो’, दिलिपले भने, ‘बुवाले मलाई प्रस्ट भन्नुभएको थियो। मसँग पैसा छैन बाबु। तिमी अमेरिका पढ्न जाने भए पनि आफैं जाऊ। मैले अमेरिकामा पूरा स्कलरसिपमा पढेको हुँ।’
दिलिपले नेपाल फर्किएर व्यापारमा लाग्ने निर्णय गर्दा पनि बुवाले आफूले कुनै आर्थिक सहयोग गर्न नसक्ने जवाफ दिएका थिए।
‘पछिसम्म पनि बुवा म व्यापारमा लागेँ भनेर दुखी हुनुहुन्थ्यो’, दिलिपले भने, ‘तर व्यापार सुरू गरेको केही समयपछि बुवाले छोराले कुनै तस्करी हैन कि सेवा दिइराखेको छ भन्ने बुझ्नुभयो।’
अझ दिलिपलाई भेट्न नेपालमा बसोबास गर्ने विदेशीहरू समेत आउजाउ थालेपछि उनको बुवा सकारात्मक बने।
‘हामीले दिएको सेवा र कमाएको इज्जत देखेपछि बल्ल उहाँले मलाई स्वीकार गर्नुभयो’, दिलिपले भने, ‘मेरो छोरा राम्रै काममा लागेको रहेछ भन्ने लागेपछि उहाँले धेरै सहयोग गर्नुभयो।’
दिलिपले हण्डर र ठक्कर खाँदै अघि बढाएको वर्ल्डलिंक आज नेपालको एक नम्बरको इन्टरनेट सेवा प्रदायक बनेको छ। ३५ लाख व्यक्तिले दैनिक वर्ल्डलिंकको सेवा प्रयोग गर्छन्। वर्ल्डलिंकले १५ हजार वटा वाइफाइ हटस्पट बनाएको छ। जसबाट दैनिक साढे २ लाख व्यक्तिले इन्टरनेट चलाउँछन्। नेपालको कुल इन्टरनेट प्रयोगकर्तामध्ये ३३ देखि ३५ प्रतिशतले वर्ल्डलिंकको नेटवर्क चलाउँछन्। नेपालको चालिस प्रतिशत इन्टरनेटको ट्राफिक वर्ल्डलिङको नेटवर्क भएर जान्छ।
अहिले दिलिप भविष्यमा आउने चुनौती सामना गर्न सक्ने हैसियत बनाएर बसेका छन्।
‘वार्षिक आम्दानी हजार करोड जति पुगेको छ। नाफा अलिक कम छ। किनभने इन्टरनेटको मार्केटमा प्राइस वार छ’, दिलिपले भने, ‘तर अहिलेको नेपालको परिस्थितिमा अलिकति नाफामा हुनु भनेको पनि ठूलो कुरा हो।’