चितवनको सौराहामा जारी नेकपा एमालेको दसौं राष्ट्रिय महाधिवेशनमा निर्वाचन प्रक्रिया सुरू भएको छ।
एमालेको सौराहा महाधिवेशनले १९ सदस्यीय पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ।
नेकपा एमालेको दसौं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व छनौटका लागि आज राति ९ बजेदेखि मतदान हुँदैछ। अहिले बन्दसत्र हुने ठाउँ होटल सेभन स्टार हलबाहिर उम्मेदवार र प्रतिनिधिहरूको चहलपहल छ। कोही फोटो सेसनमै व्यस्त छन् भने कोही प्रतिनिधि भने भोटिङ कसरी गर्ने भनेर सिकिरहेका देखिन्छन्।
मतदानबाट केन्द्रीय अध्यक्षसहित पदाधिकारी, केन्द्रीय सदस्य र विभिन्न आयोगमा नेतृत्व छानिँदै छ।
यसअघि अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मत बनाउने भन्दै ३०१ केन्द्रीय सदस्यसहित पदाधिकारीको नाम पेस गरेका थिए।
उनले पेस गरेको प्रस्तावमा कतिपय ठाउँमा सर्वसम्मत भएको छ भने कतिपय पदमा चुनाव हुने भएको छ।
ओलीको सूचीमा असन्तुष्ट भएकाहरूले सोमबार आफूले चाहेको पदमा उम्मेदवारी दिएका छन्। केहीमा भने ओलीले प्रस्ताव गरेकाहरू सर्वसम्मत चुनिएका छन्।
ओली आफैं चुनावी प्रक्रियाबाट अध्यक्ष बन्नु पर्ने भएको छ। अध्यक्षमा भीम रावलले पनि उम्मेदवारी दर्ता गरेका छन्।
उपाध्यक्षमा पनि चुनाव हुने भएको छ। उपाध्यक्षमा ओलीले प्रस्ताव गरेका ६ जनालाई चुनौती दिँदै घनश्याम भुसालले उम्मेदवारी दिएका छन्।
हेर्नुस् तस्बिरहरू: