नेपाली कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई प्रमाण पत्र वितरण गरिएको छ।
नेतृत्व चयनका लागि भएको निर्वाचनबाट सबै पदाधिकारी र केन्द्रीय सदस्यको मत परिणाम सार्वजनिकपछि केन्द्रीय निर्वाचन समितिले शनिबार प्रमाण-पत्र वितरण गरेको हो।
मंसिर २४ गते उद्घाटन भएर २७ गते निर्वाचन भएको कांग्रेसको केन्द्रीय समितिको मतगणना पुस ८ गते बिहीबार साँझ सकिएको थियो।
कांग्रेसले मंसिर २४ गते राजधानीको पार्टी कार्यालयमा महाधिवेशन उद्घाटन गरेको थियो।
सभापतिको मतगणना त्यहीँ गरेको कांग्रेसले पदाधिकारीसहित केन्द्रीय सदस्यको मतगणना भने पार्टी कार्यालय सानेपामा गरेको थियो।
कांग्रेसमा १३४ पदका लागि निर्वाचन भएको थियो। निर्वाचनमा ४८७ उम्मेदवार चुनावी मैदानमा थिए।
एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, ८ सहमहामन्त्रीसहित केन्द्रीय सदस्यका लागि मतदान भएको थियो ।
सभापतिले अब ३३ जना केन्द्रीय सदस्य समावेशिताको आधारमा थप गर्न पाउनेछन्।
प्रमाण-पत्र वितरणपछि केन्द्रीय समिति बैठक बस्ने जनाइएको छ।





















