नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले हालै सकिएको १४ औं महाधिवेशनमा महामन्त्री पदमा पराजित भए पनि ऊर्जाका साथ पार्टीका काममा निरन्तर लागिरहने बताएका छन्।
उनले आफू पराजित हुनुमा कसैलाई पनि दोषारोपण नगर्ने बताए।
‘मेरो पराजय अनपेक्षित रह्यो भन्ने साथीहरूको भनाइ छ,’ आज काठमाडौंमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले भने, ‘म कसैलाई दोष दिन चाहन्न। पार्टीका काममा थप ऊर्जाका साथ निरन्तर रूपमा काम गरिरहन्छु।’
आफूले पार्टीलाई केन्द्रमा राखेर काम गरिआएको पनि उनले बताए। ‘म अझै उत्साहका साथ काम गर्छु,’ उनले भने, ‘निराश भएर पलायन हुने कुरा छैन।’
महत सभापति शेरबहादुर देउवा टिमबाट महामन्त्री पदमा उम्मेदवार बनेका थिए। उनीसँगै महामन्त्री पदका अर्का उम्मेदवार प्रदीप पौडेल पनि पराजित भएका थिए।
महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका थिए। कांग्रेस विधानअनुसार दुई महामन्त्री निर्वाचित हुने व्यवस्था छ।
साथै पूर्वसहमहामन्त्री महतले आफ्नो टिमबाट अपेक्षाअनुसार सहयोग भने नआएको हो कि भन्ने लागेको बताए। ‘अब यो समयलाई अवसरका रूपमा लिन्छु, नेता तथा कार्यकर्तालाई प्रत्यक्ष रूपमा अझै भेट्छु,’ उनले भने।
उनले पराजित भए पनि आफू सक्रिय राजनीतिमै रहने बताए। ‘कसैलाई लागेको होला पराजित भएपछि यो अस्ताउँछ तर म अस्ताउने मानिस होइन। सुख, दु:खमा काम गर्दै आएको हुँ,’ उनले भने।
उनले ठट्टा गर्दै आफू कात्तिक महिनामा जन्मिएकोले कहिलेकाही भाग्यले साथ नदिनेसमेत बताए। ‘कात्तिक महिनामा जन्मेकालाई भाग्यले कमै साथ दिन्छ भनेर ज्योतिषहरू भन्दा रहेछन्, मेरो हकमा पनि त्यस्तै हो कि!’ ठट्टा गर्दै उनले भने।
उनले व्यक्तिले भन्दा पनि पार्टी नै संस्थागत भयो भने रूपान्तरण गर्न सजिलो हुने पनि बताएका थिए।