एक सय चार वर्षको राणा शासन अन्त्य गर्न राणा परिवारभित्रैबाट भएको प्रतिरोधी आन्दोलनले पनि ठूलो भूमिका खेलेको छ।
बिपी कोइराला, कृष्णप्रसाद भट्टराईहरूले वनारसबाट आन्दोलन सुरू गर्दा सुवर्णशमसेर, महावीरशमसेरहरू कलकत्तामा बसेर आफ्नै वंशको शासनविरूद्ध प्रतिरोध गर्दै थिए।
बिपीले वनारसबाट २००३ सालमा नेपाल राष्ट्रिय कांग्रेस स्थापना गरे भने सुवर्णशमसेर र महावीरशमसेरले कलकत्ताबाट २००५ सालमा नेपाल प्रजातान्त्रिक कांग्रेस खोेलेका थिए। यी दुवै पार्टी मिलेर २००६ सालमा नेपाली कांग्रेस स्थापना भएको थियो।
राणाहरूको उत्तराधिकारी विवादका कारण काठमाडौं उपत्यकाबाट निकाला गरिएपछि सुवर्णशमसेर र महावीरशमसेरहरू सशस्त्र प्रतिरोध गरेर राणा शासन फाल्ने निष्कर्षमा पुगेका थिए। उनीहरू आफ्नै वंशको शासनविरूद्ध आन्दोलनमा ओर्लिनुको पछाडि रोचक कारण छ।
१९०३ सालको कोतपर्वपछि जंगबहादुर कुँवरले जहानियाँ राणा शासन सुरू गराए। शासनमा आएपछि उनले आफूलाई श्री ३ घोषणा मात्र गरेनन्, १९२४ सालमा आफूपछिका उत्तराधिकारीको रोलक्रम नै तय गरे। उनले रोलक्रममा आफ्ना भाइहरूलाई राखे। भाइहरूपछि आफ्ना छोराहरूलाई राखे। त्यसपछि चाहिँ भतिजाहरूको सट्टा नातिहरूलाई राखे। यसले राणा शासनभित्रै विवादको बीउ रोपियो।
जंगबहादुरको मृत्युपछि उनका भाइ रणोद्दिपसिंह श्री ३ प्रधानमन्त्री भए। रणोद्दिपपछि जगतशमसेर र त्यसपछि धीरशमसेरको प्रधानमन्त्री बन्ने पालो थियो। तर धीरशमसेरका छोरा वीरशमसेरले १९४२ सालमा रणोद्दीपसँगै जंगबहादुरका छोरा र नातिसम्मको हत्या गरी आफैंलाई श्री ३ प्रधानमन्त्री घोषणा गरे।
वीरशमसेरले जंगबहादुरले तय गरेको रोलक्रम हटाए र आफ्नै शमसेर परिवारलाई मात्रै रोलक्रममा राखे।
वीरशमसेरपछि देवशमसेर प्रधानमन्त्री भए। तर उनी केही समय मात्र टिक्न पाए। चन्द्रशमसेरले देवशमसेरलाई लखेटे र आफू श्री ३ प्रधानमन्त्री बने।
१९५८ सालमा प्रधानमन्त्री भएका चन्द्रशमसेर चतुर थिए। उनले शमसेर खलकमा पनि राणाहरूको वर्ग विभाजन गरिदिए र राणाहरूलाई 'ए', 'बी' र 'सी' मा वर्गीकरण गरे। जातीय परम्पराअनुसार बाजा बजाएर, सिन्दुर हालेर, डोली चढाएर विवाह गरिएकाबाट जन्मेकाहरूलाई उनले 'ए' वर्गमा राखे। भातबाहेक सबै कुरा चल्ने जातकी विवाहिता पत्नीबाट जन्मिएका राणाहरूलाई 'बी' वर्गमा राखे। त्यस्तै, ल्याइते तथा अन्य राणाका सन्तानहरूलाई 'सी' मा राखे।
यसरी वर्गीकरण गर्दा राणाहरूको अधिकारको सीमा पनि तोकियो। 'ए' वर्गका राणाहरू मात्र प्रधानमन्त्री बन्न सक्ने व्यवस्था चन्द्रशमसेरले गरे।
चन्द्रशमसेरकी एक मात्र विवाहिता पत्नी थिइन्। उनले आफ्ना सन्तान सबैलाई 'ए' वर्गमा राखे। उनका सन्तानहरू मोहनशमसेर, बबरशमसेर, केशरशमसेर, शंकरशमसेर, कृष्णशमसेर र सिंहशमसेर 'ए वर्गका राणा भए। 'बी' र 'सी' वर्गका राणाहरू सेनाको कर्णेल तहसम्म मात्र पुग्न सक्ने व्यवस्था चन्द्रशमसेरले गरिदिए।
राणाहरूको वंशभित्रै पनि दुईथरी राणाहरूलाई शासनबाट वञ्चित गराइयो।
चन्द्रशमसेरको निधनपछि भीमशमसेर तीन वर्षका लागि श्री ३ प्रधानमन्त्री भए। भीमको मृत्युपछि उनका भाइ जुद्धशमसेर प्रधानमन्त्री भए। जुद्धशमसेरले १९९० सालमा 'सी' वर्गका राणाहरूलाई काठमाडौं उपत्यकाको चार भञ्ज्याङ कटाउने निर्णय गरे।
चार भञ्ज्याङ कटाइएकामध्येका थिए, श्री ३ प्रधानमन्त्रीसमेत भइसकेका भीमशमसेरका छोरा हिरण्यशमसेर र हिरण्डयशमसेरका छोरा सुवर्णशमसेर।
त्यति बेला जुद्धशमसेरले उपत्यकाबाट निकाला गरेका रूद्रशमसेर पोखरा पुगेका थिए। पाल्पा पुगेका खड्ग शमशेर जसले रानीमहल निर्माण गराए।
हिरण्य र सुवर्णशमसेरलाई काठमाडौंबाट निकाला गरेर वीरगन्ज पठाइएको थियो। तर उनीहरू कलकत्ता पुगेका थिए। राणा परिवारको सदस्यसमेत रहेका लेखक सागरशमसेर राणाका अनुसार त्यति बेला काठमाडौंबाट निकाला गरिएका सुवर्णशमसेर र महावीरशमसेरले कलकत्तामा प्रशस्त जग्गाजमिन र सम्पत्ति किनेका थिए।
द्वितीय विश्वयुद्धका कारण मूल्य घटेका बेला उनीहरूले किनेको सम्पत्ति युद्ध सकिएलगत्तै अकासिएको थियो। यस कारण सुवर्ण र महावीरशमसेरले अथाह सम्पत्ति कमाएका थिए।
यसबीच भारतमा अंग्रेजविरूद्ध आन्दोलन सुरू भयो। अंग्रेजहरूले बेलायत फर्किनुअघि आफ्ना महल र सम्पत्ति सस्तो मूल्यमा बेचेका थिए। त्यही सम्पत्ति सुवर्ण र महावीरले किने। पछि उनीहरू त्यो सम्पत्तिको मूल्य अकासिँदा कलकत्ताकै सबभन्दा धनीमा दरिएका थिए।
त्यही सम्पत्तिका बलमा सुवर्णशमसेर र महावीरशमसेर राणा शासनविरूद्ध सशस्त्र संघर्ष गर्न सक्ने अवस्थामा पुगेका थिए।
नेपाली कांग्रेसले सशस्त्र संघर्ष गर्ने निर्णय लिएपछि बर्माबाट हातहतियार ल्याउन महावीरशमसेरले आफ्नै जहाज कम्पनी हिमालयन एअर सर्भिसेज प्रयोग गरेका थिए। महावीरशमसेरसँग त्यहाँको पञ्जाब नेसनल बैंकमा सेयर, एयरलाइन्स कम्पनीदेखि चोकचोकमा महलहरू थिए।
सुवर्णशमसेरले भने बिपी कोइरालाको आग्रहमा कांग्रेसका हरेक काममा पैसाको जोहो गरिदिएका थिए। कांग्रेसलाई हतियार किन्न आवश्यक पैसा सबै एकै व्यक्ति सुवर्णशमसेरले बेहोरिदिएका थिए।
'सिंहदरबार' पुस्तकका लेखक एवं कांग्रेसका पुराना राजनीतिज्ञ सागरशमसेर राणाका अनुसार त्यतिबेला 'ए' र 'सी' वर्गका राणाबीचको टक्कर वार कि पारको अवस्थामा पुगिसकेको थियो। जुद्धशमसेरले काठमाडौंबाट निकाला गरेका राणाहरूलाई गभर्नर भएर काम गर्न अह्राएका थिए।
'सुवर्णशमसेरको वीरगन्जमा दरबार नै थियो तर उनी कलकत्ता पुगे,' सागरशमसेरले सेतोपाटीसँग भने, 'सुवर्णशमसेर प्रजातन्त्रप्रति आस्था राख्थे। बाँकी निकालिएका 'सी' वर्गका राणाहरूसँग भने त्यति बेला बदलाको भावना थियो। सुवर्णशमसेरले सम्पूर्ण धन लगाएर कांग्रेसलाई साथ दिइबक्सियो।'
बदलाको भावना भएका र कांग्रेसलाई सशस्त्र आन्दोलन गर्न हतियार ल्याउन सघाएका महावीरशमसेरको भने प्रजातन्त्रमा आस्था नदेखिएको सागरको विश्लेषण छ।
'महावीरशमसेर फर्किएपछि राजाको साथ लागेर मन्त्री नै बन्नुभयो,' सागरले भने, 'जबकि सुवर्णशमसेरले स्पष्ट भन्नुभयो- म राणा भएर फर्किएर आएको होइन। नेपाली कांग्रेसको नेता सुवर्णशमसेर भएर आएको हुँ। मलाई त्यही किसिमले हेर भनेर उहाँले भन्नुभएको थियो।'
२००७ सालमा राणा शासन अन्त्य भएसँगै नेपालमा प्रजातन्त्र स्थापना भयो। सुरूमा राणा र कांग्रेस मिलेर सरकार बन्यो। तर त्यो सरकार लामो समय टिकेन। लगत्तै मातृकाप्रसाद कोइरालाको सरकारमा सुवर्णशमसेर अर्थमन्त्री बने। नेपालको आर्थिक वर्ष औपचारिक रूपले साउन १ गतेबाट सुरू गर्ने काम सुवर्णशमसेरले नै गरेका हुन्। नेपालमा पहिलोपटक बजेट ल्याउने अर्थमन्त्री पनि उनी नै हुन्।
राणा परिवारको 'सी' वर्गमा पर्ने सुवर्णशमसेर प्रजातान्त्रिक आन्दोलनमा कांग्रेसमार्फत् जोडिइसकेका थिए। प्रजातन्त्र स्थापनापछि 'ए' वर्गका राणाहरू पनि राजनीतिमा आए। चन्द्रशमसेरका नाति तथा बबरशमसेरका छोरा भरतशमसेर पनि प्रजातन्त्रपछि राजनीतिमा आए।
सागरशमसेरका अनुसार राणाहरूमा पनि विस्तारै लिबरल र कन्जरभेटिभको द्वन्द्व सुरू भइसकेको थियो। 'पद्मशमसेरले सुवर्णशमसेरलाई कलकत्ताबाट बोलाएर उद्योग नीति र मेरो बुवा मृगेन्द्रशमसेरलाई शिक्षा नीति बनाउन तीन महिना भारतमा अध्ययनका लागि पठाएका थिए,' सागरशमसेरले सेतोपाटीसँग भने, 'मेरो बुवा केही 'लिबरल' भए पनि कांग्रेसमा लाग्नुभएन। कांग्रेसमा लागेर प्रजातन्त्रका लागि लड्ने राणाहरू ६/७ जना थिए जसमा सुवर्णशमसेर र हिमालयशमसेर हुनुहुन्थ्यो।'
सागरका आफ्नै दाजुसमेत रहेका भरतशमसेरले २०१५ सालको निर्वाचन लडेका थिए। उनको दलले त्यति बेला संसदमा १९ सिट प्राप्त गरेको थियो। भरतशमसेर पहिलो संसदमा प्रमुख प्रतिपक्षी दलका नेता थिए।
'मेरो दाजु भरतशमसेर राणा शासन मात्र होइन, यो सामाजिक संरचना नै परिवर्तन गर्नुपर्छ भन्ने धारणा राख्नुहुन्थ्यो,' सागरले भने, 'बुवा लिबरल भए पनि राणाहरूकै चल्नुपर्छ भन्नेमा हुनुहुन्थ्यो।'
आफ्ना दाजुहरू विदेशको खुला समाजमा पढेर आएका कारण पनि दल खोलेर चुनाव लड्न तयार भएको सागरले बताए। भरतशमसेरको दल सुरूमा खुकुरी दलका रूपमा परिचित थियो। कांग्रेस कार्यकर्ताले क्षत्रीहरूलाई दु:ख दिएका कारण खुकुरी दल त्यति बेलाको आवश्यकता भएको सागरको टिप्पणी छ। पछि दार्जिलिङबाट नेपाल आएका रणधीर सुब्बासँग मिलेर भरतशमसेरले पार्टी खोलेको सागरले बताए।
'कांग्रेसमा राजनीति गर्न उहाँले पत्र लेखे पनि लिएन। किनभने उहाँ राणाकालमा कृषिमन्त्रीसमेत हुनुभएको थियो,' सागरले भने, 'तर बुझ्नुपर्ने कुरा के भने, २००७ सालमा त्रिभुवन नेपाल छाडेर भारत गएपछि ७० जनाजत्ति राणाहरू सरकारको साथ छाडेर अर्कोपट्टि लागे। त्यो बेला छाड्नेलाई म प्रजातान्त्रिक मान्दिनँ। त्यो स्वार्थका लागि थियो। तर भरतशमसेर राणा शासन पतन बेला छाडेका व्यक्ति होइनन् तर प्रजातन्त्र आएपछि, संविधान आएपछि उहाँ राजनीति गर्छु भनेर लाग्नुभयो।'
भरतशमसेरले कांग्रेसले नलिएपछि टंकप्रसाद र कमल रेग्मीसँग भेटेको सागरले बताए। 'कांग्रेस र बिपीप्रति उहाँको श्रद्धा थियो। तर बबरशमसेरको नातिलाई कांग्रेसले लिने अवस्था थिएन,' सागरले भने, 'पछि रणधीर सुब्बासँग मिलेर गोर्खा परिषद् गठन भयो।'
सागरका अनुसार जमिनको करमा भएको असमानताविरूद्ध गोर्खा परिषद्ले आवाज उठाएको थियो। त्यस्तै कांग्रेसले 'क' वर्गको बिर्ता उन्मूलनको विषय उठाएका बेला गोर्खा परिषद्ले 'ख' वर्गको बिर्ता उन्मूलनलाई एजेन्डा बनाएको सागर बताउँछन्।
भरतशमसेर कांग्रेस एजेन्डाका विरोधी भए पनि उनको भावना विरोधी नरहेको सागर बताउँछन्। पछि राजा महेन्द्रले २०१७ सालमा सत्ता हातमा लिएपछि प्रतिपक्षी दलका नेता रहेका भरतशमसेरलाई समेत जेलमा हालिएको थियो।
'प्रजातन्त्र अन्त्य गरेर जब राजाले राज्यको लगाम आफूसँग राखे, त्यसमा थुनिनेमा भरतशमसेर पनि थिए,' सागरले भने, 'पछि राजालाई खुसी पारेर बाहिर निस्किए। राजाका लागि कलकत्ताबाट मिठाइ मगाइदिने, कसैले बँदेल मारेर ल्यायो भने पठाइदिने, बर्थडेमा उपहार दिने लगायत काम गर्नुभयो। अनि उहाँका नजिकका साथी तुलसी गिरी र हृषिकेश शाहले राजालाई राम्रो मान्छे छ भनेपछि छुट्नुभयो।'
जेलबाट छुटेको केही समयपछि भारत पुगेका भरतशमसेरले आफ्नो पार्टी कांग्रेसमा मिलाएका थिए।
'कलकत्ता पुगेर सुवर्णशमसेरलाई भेटेर उहाँले कांग्रेस ज्वाइन गर्नुभयो,' सागरले भने, 'उहाँले राजनीतिक अंकमाल गरेको हो।'
गोर्खा परिषद् त्यति बेला अप्रजातान्त्रिक दल नभएको सागरको दाबी छ। 'प्रजातन्त्रप्रति भरतशमसेर र गोर्खा परिषद्को आस्था थियो,' सागरले भने, 'भरतशमसेरले बिपीलाई आश्वासन दिनुभएको थियो। यदि राजाले तपाईंलाई अपदस्थ गरेर संसद खत्तम गर्न लाग्यो भने म हमेशा तपाईंसँगै हुन्छु भनेर भन्नुभएको थियो।'
सागरका अनुसार राणा परिवारका सदस्यहरू प्रजातन्त्रप्रति आस्थावान हुनुमा शिक्षा एउटा प्रमुख कारण थियो।
सुवर्णशमसेर र भरतशमसेरको शिक्षा बाहिरी मुलुकमा भएका कारण पनि उनीहरू प्रजातन्त्रको पक्षमा रहेको सागर बताउँछन्। 'म पनि अक्सफोर्डमा पढेर आएको हुँ,' सागरले भने, 'त्यहाँ हामी लिबरल सोसाइटीमा हुर्किएको हो। राजाले नेपालमा चुनाव हुन दिएन भनेर हामीले बेलायती पत्रिकामा सम्पादकलाई पत्र लेखेका छौं।'
सागर आफैं भने बिपी कोइराला मेलमिलापको नीति लिएर काठमाडौं फर्किएपछि मात्र कांग्रेसमा लागेका हुन्। उनका छोरा उदयशमसेर राणा अहिले कांग्रेस राजनीतिमा सक्रिय छन्।