च्यानल गेटको डण्डी समाउँदै म उनको प्रश्नको छोटाछोटा उत्तर दिँदै थिएँ।
‘ठीकै छ, आरामै छु, पिर मान्नु पर्दैन, बाबुलाई मेरो तर्फबाट जन्मदिनको शुभकामना भनिदिनू। बर" गृहमन्त्रीज्यूलाई समय लिएर तिमी आफैं गएर भेटन,’ कुरा गर्दागर्दै उनी सुँक्क सुँक्क गर्न थालिन्।
सुरक्षाकर्मीले ‘समय धेरै भयो अब भित्र जानुस्’ भनेर अलि ठूलै स्वरमा दुई तीनपटक कराइसकेपछि उनलाई 'ल त है!' भन्दै मभित्र पसें।
भित्र गएर चिसो भुइँमा थुचुक्क बसें।
सबिले भनेको एउटै शब्द कानमा ठोक्किरह्यो, ‘तपाईं निर्दोष हुनुहुन्छ, छिट्टै छुट्नु हुन्छ, भगवानमाथि भरोसा राख्नुस्।’
आखिर उनीलाई पनि थाहा थियो यथार्थ कुरा के हो भनेर। छोराको आजै आठ वर्षको जन्मदिन। उसलाई देख्नको लागि यी आँखा तड्पिरहेका थिए। तर यस हालतमा उसलाई हेर्ने र बोल्ने हिम्मत मेरो थिएन।
साउन महिनाको बेलुकीको समय थुनुवा कोठामा जस्ताको छानो प्वाल नै पार्ला जसरी बिजुली चम्कँदै असिनापानी वर्षिेएको आवाज जोडजोडले आउन थाल्यो। बडेमानको लमतन्ने कोठामा रहेको एउटा सानो झ्यालबाट आँखा च्यातीच्याती साउने झरी नियाल्ने कोसिस गरेँ।
बाल्यकालमा खरले टालेको घरको धुरीबाट वर्षिएको पानीले निन्द्रामा निथ्रुक्क भिज्दा आमाले चिसो लाग्छ भनेर तात्तातो तेल लगाइदिँदै न्यानो फरियामा गुटुमुटु पारेर सुताएर आफू चाहिँ धुरीबाट चुहिएको पानी सोर्होदै रातैभरि हैरान भएको मेरा केही घुरमैला सम्झनाहरू थिए।
तिनै विगत आज झल्झल्ती नाच्न थाले मेरा आँखाभरि।
‘मेरो कारणले तपाईंको आँखामा कहिल्यै आँसु आउन दिन्नँ आमा!’ तपाईंको छोरो छ नि आमा, पटकपटक आमालाई गरेका यी प्रतीज्ञा सम्झिएर गाह्रो भयो। खाना खान पनि पटक्कै मन भएन।
जेलरको अनुमति लिएर सञ्चो नभएको बहाना बनाउँदै बेरेर राखेको म्याट झिकेँ। आफ्नो लागि ओछ्यान तयार गरेँ। ब्ल्याङ्केटले घ्वाप्प मुख छोपेर आँखा चिम्लिँदै समसाँझै पल्टिएँ र विगतमा दौडन पुगेँ।
विकट जिल्लाको एक गाउँमा जन्मिएको म। मेरा बाल्यकाल रमाइलैसित बिते। बा सरकारी शिक्षकको पेसा छोडेर राजनीतिक पार्टीमा लागेको धेरै भैसकेको थियो। घरमा बिरलै आउनुहुन्थ्यो। घरमा हजुरबा, हजरआमा, आमा, बहिनी र म बस्थ्यौँ। बाले जागिर छोडेपछि हाम्रो आर्थिक अवस्था कमजोर हुँदैगयो। एकजोर नयाँ कपडा लगाउन र मिठो खान पनि चाडवाड नै कुर्नुपर्ने भयो।
आमाले मेलापात गरेर जम्मा पारेको पैसाले बहिनी र मेरो पढाइ शुल्क तिर्ने र किताब, कापी किनिदिनुहुन्थ्यो। हजुरआमाले पेवाको रूपमा पालेको बाख्रापाठा, कुखुरा बेचेर हामी चाडवाड मान्ने गथ्र्यौं।
घरमा हजुरबा, हजुरआमा र मेरी आमाले राम्रा कपडा लाएको मैले कहिल्यै देखिनँ। बा अलि गफाडी! मानिसहरूलाई आफ्ना कुरामा छिट्टै सहमति गराउन सक्ने खालका। लिडरसिप क्षमता भएको हुनुहुन्थ्यो। तर घरको कामकाज भने केही नगर्ने। खानेकुरा भने मिठोचोखो खानुपर्ने। कहिलेकाहीँ मात्र घरमा आउने, घर परिवार चलाउन आर्थिक रूपमा उहाँको कुनै साथ र सहयोग थिएन।
बहिनी पढ्न खुब रहर गर्ने, कक्षामा सधैं पहिलो, दोस्रो हुन्थी। म स्कुलमा मध्यम खालको विद्यार्थी थिएँ। घरको काममा आमालाई सघाउने, गोठालो जाने, अलि ठूलो भएपछि खेतीपाती, मेला, पर्म जाने गर्थें। आमाले सधैं ‘तँ तेरो बाउ जस्तै भएको भए, म के गर्थें होला है कान्छा! तँ त मेरो बुढेसकालको सहारा होस्। राम्रोसँग पढ्नू, ठूलो भएपछि स्कुलमा मास्टर मास्टर्नी हुनुपर्छ तिमेरू दुवैजना’, भन्नुहुन्थ्यो।
तर बहिनी लाडिँदै भन्थी, ‘नाइँ म त ठूलो भएपछि डाक्टर बन्छु। हजुरबा, आमाको रोग निको पार्छु।’
बहिनीको कुरा सुनेर म ओठ लेप्य्राउँथें।
आमा भने मरी मरी हाँस्नुहुन्थ्यो। हामीलाई देखेर आमा कम्ता गर्व गर्नुहुन्थ्यो, ‘मेरा छोराछोरी जस्ता असल कसैका पनि छैनन्’, झैं मानेर।
म कक्षा १० मा पढ्दै थिएँ। एस. एल. सी. नजिकिँदै थियो। अझ मेहनत गरेर पढ्नुपर्ने बेलामा देशभरि माओवादीको जनयुद्धले चर्को रूप लिँदै थियो। दिनदिनै मानिसहरू मारिएका, बेपत्ता पारिएका, अङ्गभङ्ग भएका खबरहरू सुनिन थाल्यो। गाउँले आमसर्वसाधारण मानिस पनि राज्य होस् या विद्रोही दुवै पक्षबाट पक्राउ पर्ने, बेपत्ता हुने र मारिने क्रम बढ्न थाल्यो। कतिखेर के हुन्छ! थाहै नहुने। स्कुलका शिक्षकहरू विभिन्न कारबाहीमा पर्न थाले। हाम्रा बा मरेको र बाँचेको अत्तोपत्तो थिएन। छोराको पिरले हजुरबा, हजुरआमा गल्दै जानुभएको थियो। आमा एकदम आत्तिनुहुन्थ्यो। बेलाबेलामा दुवै पक्षबाट घरमा धरपकड भैरहन्थ्यो। गाउँमा हामीजस्ता केटाकेटीहरू निशानामा परेका थियौं। यही पीरले बहिनी र मलाई काठमाडौंमा मामासँग बस्न पठाउनुभयो आमाले।
दिनदिनै मानिसहरू मारिएका खबरले जताततै सन्त्रास छाएको थियो। डर मात्रै लागिरहने। बहिनी सानै भएकीले काठमाडौंमा बस्न मान्दै मानिन। जतिखेर पनि आमा ! आमा ! मात्र भन्ने, ‘म पढ्न जान्छु नि दादा मलाई गाउँ पुर्याइदिनू’ भन्दै रातभरि रोएर सुत्नै दिँदैनथी।
जहिले पनि बिरामी भैरहने भई। म दिनभरि होटलमा काम गर्थें। मामाले काममा लगाइदिनुभएको होटल राम्रै थियो। बेलुका भएपछि घरको चिन्ता साह्रै लाग्थ्यो। झन् बहिनीले पनि रोएर हैरान पार्थी। मामा पनि आजित भैसक्नुभएको थियो। बहिनीले अति नै गरी। एकदिन गाउँकै मानिसको साथ लगाएर बसको टिकट काटेर पठाइदिएँ। त्यही बेलुका खबर आयो, ‘बस एम्बुसमा पर्यो, कयौँ हताहती भए’ भनेर। सूचना गोप्य राखियो। बहिनीको अत्तोपत्तो भएन। कुनै चमत्कार नै हुनुपथ्र्यो बहिनीलाई जीवित पाउन। साह्रै नरमाइलो लाग्यो।
‘मेरी तामाको मुना जस्ती बहिनीलाई केही नहोस्’ भनेर भगवानसित प्रार्थना गरेँ। त्यसैको केही समयपछि ‘एम्बुसमा परेर बहिनी लगायत बसमा चढेको सबै यात्रु क्षतविक्षत भई कोही पनि जीवित नरहेको र शव पनि सरकार पक्षबाट आफैं सद्गद् गर्ने रे !’ भन्ने कुरा मामाले पत्ता लगाउनु भएछ।
आखिर रुन सिवाय के नै गर्न सक्थेँ र म! एउटी निर्दोष बच्चीको बिनाकारण मृत्यु हुँदा पनि दोषी मबाहेक कोही थिएन त्यहाँ। यसको सम्पूर्ण दोषको जिम्मा लिँदै मलाई माफ गर्नु आमा! मेरी पुतली जस्ती बहिनीको सुरक्षा गर्ने जिम्मा तपाईंले मलाई दिनुभएको थियो तर मैले त्यो जिम्मेवारी पूरा गर्न सकिन नि आमा हो आमा मैले बहिनीलाई बचाउन सकिन आमा! म एक अपराधी हुुँ। मलाई जुनसुकै सजाय दिनुस् तर तपाईं आफूलाई सम्हाल्नूस्, हो आमा मैले त्यसरी बहिनीलाई गाउँ पठाउनु हुँदैनथ्यो। म अपराधी हुँ आमा! म तपाईंलाई के जवाफ दिऊँ! जे नहोस् भन्ने थियो, आखिर त्यही नै भएर छाड्यो।
हे भगवान्! के दोष थियो र मेरी बहिनीको? आखिर यी सब केका लागि ? मप्रति कत्रो भरोसा थियो मेरी बहिनीको।
‘दादा ! म गाउँ गए पनि तपाईं चाहि नआउनु है? तपाईं आउनुभयो भने सानबाका छोरा दीपकलाई जस्तै मार्छन् तपाईंलाई पनि ती राक्षसहरूले !’ हात समाउँदै बस चढ्ने बेलामा रुँदै भनेकी थिई। तर बुनु ! हामीलाई के थाहा ? गन्तव्यमा हिँडेका ती निर्दोष यात्रुहरू मार्नको लागि कारण चाहिँदैन भनेर!
बस्, उनीहरूलाई त जति आफ्नो पक्षबाट मानिस मारिँदै गयो उति धेरै सफलता मिल्दै जान्थ्यो सायद!
बहिनीको मृत्युपछि आमाको मनमा के बिझिरहेको होला? उनको अवस्था कस्तो भैरहेको होला? आफूलाई कसरी सम्हाल्छिन् होला मेरी आमाले! घरमा बुढ्यौलीले थलिएका सासुूससुरा, बेपत्ता भएका श्रीमान, अकालमा मरेकी निर्दोष छोरी अनि सँगै बस्न नपाएर टाढा लुकेर बसेको किशोर छोरो! यी सबै वेदना आमाको सुनिदिने आफ्नै आँखाको आँसुबाहेक को थियो र ! मन त थियो नि! ‘हाम्फालेर मेरी आमाको सामु पुगौं र तिम्रो लागि म छु नि आमा! अझै तिम्रो छोरा जिउँदै छ, म तिमीलाई रुन दिन्नँ! मप्रति भरोसा राख्नुस्’ भनेर उनको आखाको आँसु पुछौ। मलाई त एक मिनेट पनि आमासित छुट्एिर बस्न मन थिएन। परिवारका सबै जनालाई सहरमा ल्याउन पनि त सम्भव थिएन।
यस्ता अनेकौं डर, त्रास, र आक्रोशका बीच जीवन चल्दै थियो। आफूमाथि थप जिम्मेवारी रहेको आभास भैरहेको थियो। त्यसैले होटलमा पनि खुब मेहनत गरेर काम गर्न थालें। तलब आउने बित्तिकै मामालाई राख्न दिन्थेँ। चाडवाड आउँदा घरमा लुगाफाटा र मरमसला गाउँकै बसमा हालेर पठाइदिन्थेँ। दुई वर्षको समयमा आमासँग एकपल्ट पनि गफ भएन। खबरचाहिँ बसपार्कमा गएर गाउँको मानिसहरूमार्फत् लिइरहन्थेँ।
शान्ति सौझाता भएको खबरले एकदिन सहरभरि हल्लीखल्ली मच्चियो। देशमा मान्छे मारिने र मर्ने क्रमको अन्त्य भएको खबरले सुन्दर जीवनको लक्ष्य दिएर हुर्कंदै गरेकी मेरी सानी बहिनीलाई फेरि एकपल्ट खुब सम्झिएँ।
त्यसदिन बैनीलाई गाउँ पठाएकोमा, सम्झाइ, बुझाइ गरी रोक्न नसकेकोमा आफूलाई फेरि एकपल्ट अपराधबोध भयो र खुब रोएँ।
घरपरिवार र साथीभाइहरूको ज्यादै याद आइरहेको थियो। त्यसैले यो सहर छोडेर आफ्नो भएको झोला, पोका बोकेर मामा र म आफ्नै गाउँतिर लाग्यौं। मलाई आफ्नो आँखाको अगाडि देखेर आमा त झण्डै बेहोस हुनुभयो। मलाई अँगालोमा हालेर धेरैबेर रूनुभयो। विचरी मेरी आमा! रूनुबाहेक अरू के नै गर्न सक्थिन् र! थाहा भएन, आमाको मनमा के के मात्र कुरा भक्कानिएर आएन होलार ? रोग र शोकले गर्दा आमा बूढी देखिनुभैसकेछ। हजुरआमाको पहिले नै मृत्यु भैसकेको। हजुरबा पनि बिरामीले थलिएर आज हो कि भोलि हुनुभएछ। गाउँलेहरू पालैपालो कुरेर बस्न थालेको महिना दिन बढी भैसकेछ। म घर पुगेको राति तँ आइस् कान्छा ! भनेर काप्दै गरेका हातका औंलाहरूले मेरो मुख सुम्सुमाउने कोसिस गर्दै बरर आँसु झार्नुभएको थियो। त्यही राति नै उहाँको पनि प्राण पखेरु उडेर गयो।
‘नातिलाई कुरेर बसेका रहेछन् बुढाले, नातिको मुख हेरेर परलोक गए’ कठै ! भन्दै गाउँलेहरू एक आपसमा कुरा गर्दै थिए।
साँच्चै हजुरबा, हजुरआमाको प्यारो नाति थिएँ म, तर उहाँहरूको लागि मैले कहिले पनि र केही पनि गर्न सकिनँ।
‘उफ्! यो सारा दुःख हन्डरले मलाई उमेरले भन्दा परिस्थितिले परिपक्क बनाइसकेको थियो।’
म अब जस्तोसुकै परिस्थितिलाई पनि डटेर सामना गर्नसक्ने अवस्थामा पुगिसकेको थिएँ। आमालाई सम्हाल्दै ‘आमा ! भयो के ? कति रूनु हुन्छ म छु नि तपाईंको छोरा’ भन्दै थिएँ।
कतिबेला आफ्नै आँखा भरिएछ पत्तै भएन, हत्त न पत्त पछाडि फर्किएर आफ्नै आँखाको आँसु लुकाएँ आमाले देख्लिन् कि भनेर!
हजुरबा बितेको पाँचौं दिनको बेलुकी साँझको बत्ती बाल्नै लाग्दा बा टुप्लुक्क केही मानिससहित घरमा देखापर्नुभयो। आमा रुँदै, बालाई आँखा तरेर खै के के बरबराउन थाल्नुभयो। मलाई भने खासै असर गरेन बाको उपस्थितिले। १३ दिनको काजकिरिया सकियो बालाई तारन्तार फोन आउन थाल्यो। बाको गफ र हाउभाउ भने पहिलाकोभन्दा झन् चर्को हुन थालेछ। बालाई काठमाडौं नगई नहुने भयो, बा जानुभयो।
मलाई भने आमाको गन्ध आउने फरियाको फेर समाएर त्यसको स्पर्श लिन अझै पुगेको थिएन। एक दूधे बालकजस्तै म आमाकै वरिपरि लुटपुटिएर बसिरहन चाहन्थेँ।
दिनहरू सामान्य हिसाबले बित्दैथिए। एकदिन घरको आडैमा एउटा गाडी रोकियो, ड्राइभरले गाडीको झ्यालको सिसा खोल्दै ‘रामचन्द्र तपाईं नै हो ?’ भनेर सोध्यो।
मैले ‘हो’ भन्न नपाउँदै उसले ‘तपाईंको बाले तपाईं र तपाईंको आमालाई काठमाडौंमा ल्याउन मलाई पठाउनुभएको। अब उतै बस्ने गरी घरबारीको चाँजोपाँजो मिलाएर आउनु, भन्नुभएको छ। आज सरसामान मिलाउनुस्, भोलि लाग्नुपर्छ।'
म अचम्ममा परेँ। गाउँदेखि अलिपर हतार हतार सार्वजनिक टेलिफोन बुथमा गएँ। तर बाको फोन व्यस्तका व्यस्त आयो, फोन गर्न बस्नेहरूको ताँती लामो थियो। बासँग सम्पर्क हुनसकेन। बेलुका आमासँग सल्लाह भयो, किनकिन मलाई पनि त्यो गाउँमा बस्नै मन थिएन। पहिला त ‘जान्नँ भन्दै हुनुहन्थ्यो’ आमा।
‘तपाईंको उपचार गरेर फर्किने हो’ भनेर मनाएँ र तल्लोघरे काका पर्नेलाई घरबारी जिम्मा लगायौं अनि हाम्रो काठमाडौंको यात्रा तय भयो।