कविता
एउटा आवाजले झस्कायो मलाई
आवाज आएतिर तानिएँ
रातो कलम
भुइँमा खसेछ,बेवारिसे भई।
गुरु पुर्णिामाको दिन
मेरो शिष्यले गुरु दक्षिणा दिएको।
म त्यहीँ रातो कलमको साहाराले
उसका त्रुटिहरु सच्याई
सफलतामा हौसाइ
महान् सपना देख्ने
स्वर्णिम मार्गचित्र कोरिदिन्थेँ।
उसका खाली मगजमा उम्रने
हजारौं अवोध प्रश्नहरुमा
प्रेरणाले भरिएको रंगीन
उत्तर लेखिदिन्थेँ।
ठेस लाग्ने ढुङ्गा
अल्झाउने काँडाहरु
पन्छाउने कला सिकाउँदै
उसको कोमल हृदयमा
स्वाभिमानको साहस भरिदिन्थेँ।
त्यही रातो कलमको साहाराले।
लक्ष्य चुम्न लम्किएका
उसका अनवरत पाइलाहरु
रोकिएका छन् केही निमेषलाई
कतै उ चिप्लियोकी?
बाटो बिराएर हरायोकी?
कतै आफ्नो सपनाहरु
निराशाले बेचिदियोकी?
क्षणिक प्रलोभनको आनन्दमा।
त्यही सन्त्रासले धकेलिएर
म रेडियोसम्म पुगेँ
त्यहाँबाट उसलाई सुन्न सकिनँ
टेलीभिजनमा धाएँ
अहँ उसलाई त्यहाँ देख्न सकिनँ
अनि हिजो अनलाइनमा जोडेँ
तर त्यहाँ पनि उसलाई स्पर्श गरिनँ
त्यसैले आज उसको घरमै आएँ
त्यही रातो कलम र पुस्तक बोकेर।।
अचानक त्यो मुहारमा छचल्किएको
खुसीलाई अंगाल्न खोजेँ
तर खै किन अलमलिएँ
एक मिटर वरै रोकिएँ।
हठात्!
त्यो मासुम चेहेरा
अन्योलको सागरमा चुर्लुम्मै डुब्यो
कयौं अनुत्तरित सवालको भार बोक्दै।
मेरो शिर निहुँरियो
उसको बालापन नबुझेको बाहाना गर्दै।
केही क्षणको सन्नाटा तोड्दै
उसले सोध्योः
गुरुआमा- औषधि कहिले बन्छ?
म झस्किएँ, छाँगाबाट खसे जस्तै भएँ
उसका सबैजसो जिज्ञासा
सधैजसो मेटाउने म
आज नाजवाफ भएँ।
मुस्किलले उसको अनुसार पुलुक्क हेरेँ
उसको उत्सुकताले ममा उत्साह भरिदियो।
र म बोलेँ; छिट्टै बन्छ।
उसले प्रश्न थप्यो- कसले बनाउँछ?
म- तिमीले बनाउँछौँ।
कसरी?
उ प्रफुल्ल हुँदै चम्कियो
मेरो अन्तरमनले- बोल्यो
हो म सिकाउँछु तिमीलाई
यही रातो कलमको साहाराले॥
(लेखक शिक्षिका हुन्।)ब