अखण्डता टुक्राएर 'परदेश' बनाएको,
धर्म बेचेर, संस्कार हराएको,
श्रमजति विदेशमा बेचेर, दिनमै सुस्ताएको,
एका बिहानै सूर्यसँगै, अस्ताएको देश,
अनि, समृद्धिलाई बन्धक बनाएर विकास हराएको,
प्रतिकूलता भित्र नेताहरुको मात्र अनुकूलता खोजिरहेको, मेरो देश ।
समृद्धिको खोजमा, सोच हराएको,
खुशी नेपालीको नारामा, सुखी नेता पलाएको,
जनता पीडामा रोएको बेला, राजनीतिमा रमाएको,
जीवन जिउने रहरमा, मृत्यु शैयाको चिहान खनिरहेको देश,
अनि, समृधिलाई बन्धक बनाएर विकास हराएको,
प्रतिकूलता भित्र नेताहरुको मात्र, अनुकूलता खोजिरहेको, मेरो देश।
जनतालाई कागजी लोकतन्त्र थमाएर,
अधिनायकवाद तिर लम्किरहेको,
मुलुकलाई नै नजरबन्द राखि, रक्तपिपासु बन्दै
आफुलाई शासक बनाइरहेको,
जनतालाई रैती बनाइ, निरुंकुशता तिर लम्किरहेको देश
अनि, समृधिलाई बन्धक बनाएर विकास हराएको,
प्रतिकूलता भित्र नेताहरुको मात्र अनुकूलता खोजिरहेको, मेरो देश।
देशले सार्वभौमिकता खोजिरहेको बेला,
भूमि भावनामा जनताहरु उठिरहेको बेला,
राष्ट्रवादी नेताहरु लम्पसार पर्दै हात पसारेको मेरो देश
विदेशीहरुले सार्वभौमिकता लुटीरहेको अनि
पूर्खाहरुको गौरव गुमाएर, अभिसप्त सन्तति बाचिरहेको देश
अनि, समृद्धिलाई बन्धक बनाएर, विकास हराएको
प्रतिकूलता भित्र नेताहरुको मात्र अनुकूलता खोजिरहेको, मेरो देश।