कविता
हो म हारिसकें
दुबै हात उठाइसकें
म युद्ध विराम चाहन्छु
यो जन्जिर बाट आजाद हुन।
सूक्ष्म जीव कोरोना
तेरो अदृश्य शक्तिसामु
मेरो एटम बम पनि निष्क्रिय भो
भो म सक्दिनँ अब जुध्न
सकिए मेरा हतियार
साबुन पानी र सेनिटाइजर
म निरीह बन्दैछु एकदम कमजोर
म युद्ध विराम चाहन्छु ।।
रित्तियो मेरो अन्न भण्डार
ऊर्जा शक्तिको भकारी
बाँकी छ त केवल
भोकमरी र लाचारी
तोडिदे कोभिड घरको गेट
सक्दिनँ लड्न भोकोपेट
म हार स्वीकार छु
युद्ध विराम चाहन्छु।
तँ तेस्रो विश्व युद्ध
विजयको नारा लगा
म मेरा गल्तीको प्रायश्चित गर्दैछु
सपनीको आकाशमा महल ठड्याउन
विपनीमा धर्तीको झुपडी ढलाएछु
आफ्नो माटोको स्वाभिमान
खाडी र डलरमा बेची
रेमिट्यान्सले आमाको आँसु पुछेछु ।।
मलाई माफ गर प्रकृति
म पसिनाको सागरमा पौडिएर
पौरखको पहाड चुम्नुछ
चिर्बिर कल्कल र झरझर संगीतमा
डाँफे मुनाल नचाउन
गैरी खेतमा रोपाइँ गर्नु छ
जुम्लामा मार्सी र स्याउ रोप्नु छ
मेरो देशको सभ्यताले
संसार सजाउनुछ।
मलाई अब लुकेर लड्नु छैन
बरु हार स्वीकार छ।।।