कविता
आज, चुनौतीहरूले उसको बाटो छेक्दा,
म निराशाको कालो बादलसँगै मडारिँदैछु यहाँ !
अस्ति भर्खर मात्रै फोन गरेर भन्दै थियौ,
बा, यसपालि वैशाखमा त घर फर्किन्छु!
रहरले घर छोडेर परदेश कोही जाँदैन,
अरबका खाडीमा इच्छाले पसिना बग्दैन।
ऊ जाने बेला मैले मनको भित्तो च्यातेर,
आफ्नो अन्तर मनको पराकम्पन रोकेको थिएँ।
आज त्यही फाटेका भित्ताहरू पनि जोड जोडले चिच्याउँदैछ,
मेरो छोरालाई घर फर्कन देऊ!
हुन त पूरै मानवजगत अस्तव्यस्त छ,
नदेखिने सूक्ष्मताले सक्षमतालाई लत्याएको छ!
आडम्बर, घमण्ड र शक्तिलाई पनि अत्याएको छ!
प्रकृतिमाथि विजय खोज्नेहरू बन्दाबन्दी जीवन बिताउन बाध्य छन्।
उम्कने बाटोहरू खोज्दाखोज्दै प्राणपखेरू हावामा विलिन हुँदैछ।
तर,
हामी भोका र नाङ्गाले बुझ्दैनौं यति सूक्ष्म र विज्ञानका कुरा!
बुझ्ने भए दस वर्ष युद्ध खेप्नु अघि बुझ्ने थियौं,
राजनेताहरूका सूक्ष्म मनोविज्ञानका कुरा!
सोझा सिधालाई लडाएर आफू फड्किने मनोवृत्तिका कुरा!
अनि युद्धमा हामी त केवल प्रयोग हुँदैछौं भन्ने कुरा!
त्यसबेला पनि त्यत्रो संक्रमणकालीन अवस्था पार गरेर आएकै हो,
आफूजस्तै निमुखाहरूको लागि भनेर छातीमा गोली थापेकै हो,
होस् नहोस् तर सत्य मानेर हिँडेकै हो,
निडर र आत्मविश्वासका साथ लडेकै हो,
हेर, हाम्रो जीवन त सधैं अस्तव्यस्त नै छ!
त्यसैले अब के को डर?
त्यत्रो युद्धले नबिगारेको मेरो शरीरलाई त्यो नाथे नदेखिने शक्तिले के बिगार्ला ?
त्यसैले, छोरा तिमी घर आउ!
हामी निमुखाले सामाजिक दूरी सधैं भोगेकै हो!
जात र धर्मको नाममा गरिबी र उत्पीडन सहेकै हो!
तिमी आउँदा सामाजिक दूरीमा बस्न मलाई कुनै आपत्ति छैन।
खाडी जानु अघि तिमी भन्थ्यौ, द्वन्द्वले भत्किएका पर्खालहरू खडा गर्नु छ!
आज म मेरो छोराका लागि उसकै पसिनाले उभिएको घरको ढोका कसरी बन्द गरूँ?
मैले आफ्नो जीवन भोगिसकें
तर मेरो छोराले खाडीमा एक्लै मर्न नपरोस्!
आऊ छोरा, तिम्रो बाबु अझै जिउँदै छ!
बर्खाले बाटो बिगार्नु अघि भञ्ज्याङको बस चढेर आऊ,
म बाटो हेरिरहेको हुनेछु!
हामी निमुखाले सामाजिक दूरी सधैं भोगेकै हो!
जात र धर्मका नाममा गरिबी र उत्पीडन सहेकै हो!
त्यसैले सामाजिक दूरीमा बस्न मलाई विस्मत छैन,
बस् मेरो छोरालाई घर फर्कन देऊ!