लमतन्न पसारिएका यी बाटा
मेरै घरको आँगन हुँदै
अगाडि कहाँसम्म पुग्छन होला?
अनि यी बाटा हुँदै
हरेक बिहानी उषाहरू झर्नुअघि नै
सयौं सपनाका गह्रुंगो भारीहरू बोकेर
खै कताको गन्तव्यतिर हिँडेका हुन्
उर्लंदो नदीका बहाव झैं
हुलका हुल यी यात्रीहरू !
आज पनि सदा झैं आँखाहरू मिच्दै
जब आङ तन्काउँदै निस्कन्छु आँगनमा
डोकाभरी भाँडावर्तन र ओड्ने ओछ्याउने कसेर
हातमा साना नानीहरू डोर्याउँदै
भारी जस्तै गह्रौ मन बोकेका
एउटा सिंगो अँध्यारा अनुहारहरू गएको देख्छु
थाहा छैन कुन ठाउँ होला त्यो
यी आशातीत यात्रीहरूले खोजेका
सपनाका सुखी बस्तीहरू?
हिजो पनि यसरी नै
एक हुल वलिष्ठ लक्का जवानहरू
प्रियसीको मनलाई मरुभूमि बनाएर
उदास उदास छातीहरू बोकी
खै ! समुन्द्रपारि
कता हो कता गन्तव्य खोज्न निस्किएका रे ।
अस्ति अस्ति पनि यसरी नै
एक नवयुगल जोडी
भर्खरै बिहे गरेर सुहागरात मनाउन नपाउँदै
हतार हतार दाँया बाँया नहेरी
यी बाटामा भौंतारिरहेका थिए
सपनाका नयाँ गन्तव्यहरू खोज्न।
मैले पनि
आफ्नो सपनाका गन्तव्यहरू खोज्न
यी बाटा छिचोल्न नखोजेको त कहाँ हो र?
कैयौं चोटी मन दह्रो बनाएर
कहिले दिनमै हिँडेको छु यो बाटो
कहिले औंसीका रातहरूमा राँको बाल्दै हिँडेको छु
कहिले जुनेली रातहरूमा
ताराहरू पछ्याउँदै टाढा टाढा पुगेको छु
कहिले मनदेखि आँटै निकाल्न
खुब रक्सी धोकेर बेहोसीमा हिँडेको छु
तर अहँ ! लमतन्न सुतेका यी बाटो हुँदै
मैले आफ्नो गन्तव्य भेट्न सकिनँ।
जब मैले क्षितिजपारीको
त्यो अग्लो डाँडाको भन्ज्याङबाट तल नियालें
झलमल्ल बत्तीको प्रकाश हुँदा पनि
रात त आखिर त्यहाँ पनि पर्ने नै रहेछ
दिनमा सूर्यको प्रचण्ड उज्यालोमा हेर्दा
सुकुम्बासीका अतृप्त र काकाकुल जिन्दगी त
त्यहाँ पनि उस्तै हुँदोरैछ
अझ त्यहाँ त् झन् पाइँदैन रै’छ
आँसुका नदीहरू बगाउन
कुनै दयावान जमिनहरू।
त्यसैले त होला!
यही बाटो हुँदै गएका अँध्यारा अनुहारहरू
चाउरिएका बूढो छाला बोकेर
पुन: फर्कंदै आएको भेटेको छु
प्रियसीको मन मरुभूमि बनाएर हिँडेकाहरू
बन्द बाकसमा
मलामीसँगै फर्किएको देखेको छु
गाउँमा टिक्न नसकेर भौँतारिएकाहरू
आखिरी स्वास आफ्नै माटोमा बिसाउन भन्दै
घर फर्कंदै आएको भेटेको छु।
यी दृश्यहरूले भनिरहेको थियो मलाई
लमतन्न सुतेका यी बाटा
क्रमश:लम्किरहेको मात्र छ यसरी नै
अनन्त अनन्तसम्म गन्तव्यविहीन भएर।
ए सपनाका गन्तव्यमा हिँडेका यात्रीहरू !
मनभरी मृगतृष्णा बोकेर
अन्जान जुन र ताराहरू छिल्चोल्दै
खै कता हो कता किन हिँडिरहने?
छोडीदेउ यी बाटाहरूलाई
लम्कन देउ यसरी नै
कहाँसम्म जान्छ जान देऊ
आऊ ! हामी चाहिँ यहीँ बसौं
र यी बाटाको अन्तिम गन्तव्य बनाऔं
आफ्नै भीरपाखा, खेतबारीमा
फुलाउनुपर्छ मनमोहक फूलहरू
अनि यी लमतन्न सुतेका बाटा हुँदै
जानुपर्छ सहरहरूमा एकदिन
हामीले फुलाएका फूलहरू बेच्न।