कविता
छोरा
लहलहैमा लागेर
कहिलेकाहीँ तैले दौतरीसँग
हराउँदा कुनै रात
अलि बेसी गाली दिएकै हुँ मैले
मर्नु तँ नबाच्नु पनि भनेथे कि
त्यो गाली थियो र छोरा?
कि थियो तेरो भविष्यको चिन्ता?
मुखमा अमुक विष राख्नु अघि
तैले कसरी बिर्सिस्
तलाई खुवै मन परेको एक जोर जुत्ता किन्न
सहरबाट रुझ्दै भारी खेप्दा
वर्षे पहिरोमा भाँचिएको मेरो खुट्टा!
छोरी
तिमी जीन्दगीसँग फेल भएकी थियौ र ?
अक्षर तौलने परीक्षामा पो त
जीवनका अनेक याममा
खुसीका लालुपाते फुलाउने जाँच त्यागेर
चुल्हो नबल्ने कागजका मृत्यु अंकको आदेशमा
किन रोज्यौ मृत्युको घर ?
घाँटीमा रुमालको पासो बेर्नुअघि
हरेक साँझ बिहान
रक्तचापको औषधि खानु पहिले
तिमीले बेलेको रोटी पर्खी बस्ने
आएन तिम्री आमाको याद?
बुहारी,
श्रीमान् श्रीमतीको झगडा
आगो हो भन्छन् घुस्यानको
उसको वचनले पोल्यो त अलि
कलेटी सही: बदनले चुमेर
गालाभरि गुलाब फुलाउने पनि त उही थियो
एक छिमलको तातो आवेगले जलेर
तारेभिरबाट हामफाल्नु अघि
तिमीले सुनेनौ
निगालोको झुलुङ्गोमा भोकाइरहेको
तिम्रो कलिलो बच्चाको “मम्मी बुबु”को आर्तनाद?
नाति,
तँलाई त्यै केटी मन परेको रैछ त के
हामी उस जमानाका मान्छे
साहु कान्छाकी छोरी नपर्नु मनपरी
अर्घेल्यौ तेरो रोजाइँ सुख सम्झेर तेरै
समयको एउटा सीमामा
तेरै रहरकी जहानको स्याहारले
यो हाम्रो अर्घेल्याइँलाई गिज्याउँदो हो
भुते बगरको कालो रहमा
टाउको डुबाउँदै उतार्दै गर्दा
आएन तलाईं
परारको जाडोको झरीमा
फुकालेर तँलाई लगाइदिएको
मेरो जुहारीकोटको सम्झना?
ए मर्नेहरू
मरेपछि
कसरी बिर्सु तिमीहरूको अस्तित्व?
कसरी सम्झु तिमीहरूको निर्ममता?
छाडेका तिम्रा सुन्दर चिनो र गहिरा डोबहरूमा
तिमीहरूको कुरूप याद बल्झाएर
के म तिमीहरूकै बाटो तय गरुँ ?
अहँ गर्दिनँ,
रक्तचापले लुटेकी तिमीहरूकी आमा
क्षयरोगले खसेका मेरा बा
भूकम्पले सोहोरेको भाइ
र त्रिशूलीले निलेकी बहिनीको नाममा
एक पुराण आयोजना गरी
तिम्रो स्मरण बिर्सने वर माग्नेछु।
हो म निर्मम छु
तिमी कायर मृत्यु रोज्ने सन्तानप्रति।