जनकपुरधाममा तीन दिवसीय नेपाल साहित्य उत्सव हुने भएको छ। बुक वर्ड फाउण्डेशनको आयोजनामा जनकपुरधाममा कात्तिक २२, २३ र २४ गते नेपाल साहित्य उत्सव हुन लागेको हो।
सन् २०११ मा सुरु गरिएको नेपाल साहित्य उत्सव काठमाडौँ हुँदै पोखरा र यस पटक जनकपुरधाममा गर्न लागिएको फाइन प्रिन्टका अजित बरालले जानकारी दिए । ‘पुस्तकको बजार व्यवस्थापन, पढ्ने संस्कृतिको विकास गर्ने उद्देश्यका साथ हामीले जनकपुरधाममा नेपाल साहित्य उत्सवको आयोजना गर्ने सोच लिएका हौं’ बरालले भने।
तीन दिनसम्म चल्ने सो साहित्य उत्सवको विभिन्न सत्रका लागि जनकपुरधामका ६ वटा ऐतिहासिक स्थानहरुको प्रयोग गरिने छ। कुल ११ वटा सत्र रहने सो उत्सवका लागि जनकपुरधामको जानकी मन्दिर, जानकी मन्दिर परिसरसंगै रहेको विवाहमण्डप, रेल्वे स्टेशन, गोपाल धर्मशाला, गंगासागर पोखरी लगायतका स्थलहरुको प्रयोग गरिने छ।
साहित्य उत्सवको उद्घाटन कात्तिक २२ गते विवाह मण्डपबाट गरिने आयोजक संस्थाले जनाएको छ। उदघाटन सत्रमा पूर्व राष्ट्रपति डा. रामवरण यादव र पूर्व प्रधानमन्त्री माधव नेपालसँग पत्रकार चन्द्र किशोर झाले सम्वाद गर्नेछन्।
उद्घाटन सत्रमै जानकी मन्दिरको प्राङ्गढमा नेपाली कांग्रेसका नेता प्रदीप गिरीले सीताको प्रवचन दिनेछन्।
जनकपुरधामको रेल्वे स्टेशनमा अर्थतन्त्र र राजनीतिमाथि चर्चा गर्नुका साथै प्रदेश सरोकारका विषयमा कान्तिपुर दैनिकका सम्पादक सुधिर शर्माले मोडरेटर गर्ने सत्रमा प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउतसँग छलफल हुनेछ।
त्यस्तै मधेशको हिमाल विषयमा डा. रामदयाल राकेश र कनकमणि दिक्षितबीच परिचर्चा हुनेछ।
स्वाभिमान सम्मान र अभिमान विषयमाथि हिमाल खबर साप्ताहिकका सम्पादक किरण नेपाल, प्रदेश दुईका मुख्य न्यायधिवक्ता दीपेन्द्र झा, प्रदेशसभा सदस्य रानी शर्मा तिवारीबीच परिचर्चा गरिने छ। यस सत्रको मोडरेटर नेपाली कांग्रेसका नेता गगन थापाले गर्नेछन्।
विकासको खाकामाथि जनकपुरधाम उपमहानगरपालिका, विरगंज महानरपालिका र राजविराज नगरपालिकाका प्रमुखबीच सम्वाद हुनेछ यसको मोडरेटर पोखरिया नगरपालिकाकी उपप्रमुख सलमा खातुनले गर्नेछिन् ।
यसका साथै साहित्य उत्सवमा सीमा सम्वाद, साहित्य सम्झनामा, कविता वाचन लगायतका सत्रहरु समेत समावेश गरिएको छ । यसै उत्सवमा ३ वटा पुस्तहरु समेत लोकार्पण गरिने छ।