नवजात, तत्पुरूष, वामदेव
अघोर चतुर्दिश महाकाश हुँ।
शीर्ष ईशान हुँ, निराकार जस्तै,
काठमाडौं, पशुपति-निवास हुँ ।
शरीर केदार, शीर डोलेश्वर,
हिम-किरीट हो सगरमाथा ।
चन्द्रह्रास-खड्ग रिक्त सरोवर
स्वयम्भू पूराण, मञ्जुश्री गाथा ।
कान्ति-विलासको महत-अंशमा
काष्ठमाण्डप को अपभ्रंस ‘यही’ हुँ।
गुणकामदेव-दीप्त विश्व-धरोहर,
‘कान्तिपुर’ अक्षय, अजर-अमर ।
आठै प्रहरका अथक प्रहरी,
शैल-शक्तिपीठ, अष्ठ-मात्रिका ।
छल्किन्छ अमृत तीनै दिशामा
टुकुचा, बिष्णु-बागमती को ।
पुलकित ‘येँला’ चन्द्र-पूनम को
‘येँया पुन्हि’ इन्द्रजात्रा ।
प्रफुल्लित, पुलुकिसी-ऐरावत
नाच्छन् ललना लाखौँ जात्रा ।
‘नेपामी’ म, मल्ल-कालका,
तन्त्र वास्तु को चैत्याकार हुँ ।
हनुमान-ढोका, आकाश-भैरव
गोर्खालीको सिंह-दरबार हुँ ।
बागमतीको लहरमा म,
छन्द मोक्ष लहराउँछु ।
आमा गुहेश्वरीको काखमा,
म मुक्तिको गीत गाउँछु ।
म प्रकृतिको अमर पालना,
पौरूष को म उच्छ्वास हुँ ।
प्रचण्ड भूकम्पले खण्ड खण्ड,
म नवनिर्माण, अखण्ड उल्लास हुँ ।
म आशाको अमर उज्यालो हुँ,
सृष्टिको सुरभित सुवास हुँ।
सृजनको शाश्वत इतिहास हुँ
काठमाडौं पशुपति-निवास हुँ ।