द कन्भरसेसन– ४९
स्रोता/दर्शकको मन छुने सांगीतिक फिल्महरू पस्किरहेको 'आर्टमान्डू नेपाल' ले पहिलो फिचर फिल्म बनायो — ऊनको स्वीटर।
वैशाख २६ गते रिलिज र अहिले प्रदर्शनको ५१ दिन नजिक पुगेको यो फिल्मले दर्शकबाट असाध्यै माया पाइरहेको छ। त्यही मायाले राम्रो व्यापार गरेर फिल्म सुपरहिट भएको छ।
यसको कथावस्तु, अभिनय, गीत–संगीत सबैजसो पक्षले दर्शक तथा समीक्षकहरूको प्रशंसा पाइरहेका छन्। त्यसमा पनि सबभन्दा धेरै चर्चा र प्रशंसा गीत–संगीतको छ। फिल्ममा समावेश 'फूल', 'मखमली', 'काफ्ले' र 'चाइनेजो जिन्दगानीमा' गरी सबै गीत स्रोता/दर्शकको जिब्रोमा झुन्डिएका छन्।
यसरी कुनै एक फिल्मका सबै गीत सुपरहिट भएको धेरै समयपछि हो। त्यसमाथि धेरैजसो फिल्ममा गीत कर्मकाण्डीजस्तो देखिने गरेकामा यसको गीत–संगीत फिल्मसँग मज्जाले बगेको छ।
गीतको चर्चा र फिल्मले पाइरहेको सफलताको सन्दर्भमा निर्देशक नवीन चौहान, संगीत निर्देशक कोबिद बज्र र गीत निर्देशक तथा गायक सुजन चापागाईं सेतोपाटी कन्भरसेसनमा एकअर्कासँग गफिएका छन्।
सेतोपाटीको यो भिडिओ शृंखलामा उनीहरूले खासगरी पर्दा पछाडिका कुरा गरे।
उनीहरूले दर्शक/स्रोतालाई मोहनी लगाउने गीत कसरी डिजाइन गरे? कसरी काम गरे? कसले कस्ता प्रतिक्रिया दिए?
उनीहरूले यसबारे आ–आफ्ना अनुभव सुनाउँदै सफलताको खुसी साटेका छन्।
फिल्म निर्देशक नवीन चौहान गीतको धेरै चर्चा र प्रशंसा हुँदा एकदमै गर्व अनुभूति भइरहेको बताउँछन्। 'हाम्रो पृष्ठभूमि नै गीत–संगीत हो। दर्शकहरूले पनि यो फिल्मको संगीत पक्ष एकदमै राम्रो मान्दा एकदमै गर्व लाग्दो रहेछ,' उनले भने।
संगीत निर्देशक कोबिद सबैको मेहनतले राम्रो नतिजा निस्किएको धारणा राख्छन्। यसले गीत–संगीत मात्र होइन, फिल्ममा काम गर्ने सबैलाई उत्साहित बनाएको उनले बताए।
गीत निर्देशक तथा गायक सुजन चापागाईंले पनि फिल्म संगीतमा आफू नयाँ भएकाले राम्रो सिर्जना गर्नुपर्ने चुनौतीले काम गरेको स्मरण गरे।
शीर्ष गीत बनाउँदाको अनुभव सुनाउँदै उनले भने, 'हामीले ऊनको स्वीटर नाम दिइसकेका दियौं। निर्देशक नवीनले रिलिजसम्म दर्शकलाई तानिराख्ने गीत चाहियो भन्नुभयो। उहाँले त्यसो भनेपछि त्यस्तो संगीत कसरी सिर्जना गर्ने भनेर धेरै दिन काम गरेँ।'
नवीनका अनुसार, पहिलो गीत 'फूल' सुरूमा फिल्मको आइडियामा थिएन। यो योजनाभन्दा बाहिरबाट आएको गीत थियो।
'फिल्म सुटिङ भइरहँदा पनि यो गीत कथामा बस्छ होला भन्ने लाग्दैनथ्यो। आखिरमा यो गीत फिल्मको आत्मा भएर आयो,' उनले भने।
यो मात्र होइन, ऊनको स्वीटरका अन्य गीत पनि सुरूआतमा फिल्ममा हुने/नहुने टुंगो थिएन। तर पटकथा बन्दै जाँदा फिल्ममा समावेश हुँदै गए। यसबारे पनि उनीहरूले आफ्नो अनुभव साझा गरेका छन्।
ऊनको स्वीटरका गीतहरू यति उम्दा बन्नुमा निर्देशक र संगीत सर्जकहरूको पुरानो मित्रताले पनि काम गरेको छ। नवीन र कोबिदको चिनजान भएको एक दशकभन्दा बढी भइसक्यो। भिडिओ निर्देशन गर्ने व्यक्ति नभेटेपछि आफै निर्देशक बनेका नवीनले पहिलो गीतमै कोबिदसँग सहकार्य गरेका थिए।
त्यसको केही वर्षपछि नवीन र कोबिदसँग जोडिए सुजन। तीनै जना जोडिएको गीत 'तीनपाते' सुपरहिट भएको थियो।
यी तीनै जनाको खास विशेषता भनेको उनीहरूले आफ्नो सिर्जना ल्याउन कहिल्यै हतार गरेनन्। न भ्युजको पछाडि दौडिए। त्यसो हुँदो हो त तीन मिनेटको तीनपाते गीतलाई किन १२ मिनेटको म्युजिकल फिल्ममा ढाल्थे?
उनीहरूले गीतमा कथावाचन शैलीको ट्रेन्ड सुरू गरे। त्यसमा पनि फरक शैली अपनाउँदै उनीहरू सुरूमा कथा (भिडिओ) खिच्थे र पछि मात्र त्यसका लागि सुहाउने गीत र संगीत तयार पार्थे।
बिस्तारै सबै गीतलाई म्युजिकल फिल्मका रूपमा ल्याउन थालेपछि दर्शक/स्रोताहरूले नयाँ स्वाद पाएको उनीहरू बताउँछन्।
'त्यस बेला बजारमा आइरहेका चिजले तानिरहेको थिएन। फेरि मलाई सुरूदेखि नै गीत गाइहाल्छु, गायक बनिहाल्छु भन्ने कहिल्यै थिएन,' सुजनले भने, 'यस्तोमा नवीनसँग नयाँ शैलीमा काम गर्न पाइयो।'
कोबिद आफूहरू कहिले पनि हिट गीत बनाउनुपर्छ भन्ने होडबाजीमा नलागेको बताउँछन्। चल्तीकै ट्रेन्ड पछ्याउने भइदिएको भए तीनपाते गीतलाई अरूले जस्तो कथानक शैली नदिई गीतका रूपमा मात्र रिलिज गरिन्थ्यो भन्ने उनको भनाइ छ।
नवीन पनि विगतदेखि नै समय लिएर काम गर्ने गरेको र काममा कहिल्यै प्रेसर फिल नगरेको बताउँछन्।
'पहिल्यै बनेको गीतमा काम गर्दा खुलेर गर्न सकिँदैन भन्ने लाग्छ। त्यसैले हामीले स्वतन्त्र रूपमा आफ्नो सोचको कथा ल्याउन थाल्यौं। त्यसमा पछि शब्द र संगीत थपेर काम गर्यौं,' उनले भने, 'हामी जहिले पनि समय बढी लगाउँथ्यौं। तर हामी त्यो प्रक्रियामा कहिल्यै दुःखी भएनौं।'
हिजोको त्यही अभ्यासले फिल्म निर्माणमा सहयोग गरेको उनको भनाइ छ।
अहिले नवीनलाई धेरैले सोध्छन् — अब 'ऊनको स्वीटर २' कहिले आउँछ?
उनलाई यस्तो सोध्नुको पछाडि कारण छ। उनले फिल्मको अन्त्य खुला छाडेका छन्।
कतिपयले त नवीनलाई अर्को भागको कल्पना गर्दै कथा नै पठाएका छन्। नवीन यसलाई दर्शकको मायाका रूपमा लिन्छन्। भन्छन्, 'हेर्नै नपरे हुन्थ्यो भनेको भए पो ला बिगारिएछ भन्ने हुन्थ्यो! दोस्रो भाग कहिले आउँछ भनेर चासो व्यक्त गर्नु भनेका दर्शकहरूले देखाएको सदासय हो। हाम्रो सिर्जनाले मान्यता पाएको हो।'
उनको भनाइमा सहमति जनाउँदै सुजनले भने, 'फिल्मको खुला अन्त्यले दर्शकहरूलाई हाम्रै परिवारमा जोड्न पाइयो। उहाँहरूलाई पनि फिल्मको हिस्सा बनाइयो। उहाँहरूले फिल्मसँग जोडिएर कल्पना गर्न थाल्नुभयो। अरूलाई नसुनाए पनि आफ्नो मन–मस्तिष्कमा कल्पना गरेर फिल्मको भाग २ बनाउनुभयो। यसले दर्शकहरूलाई पनि हाम्रो कथामा जोडिने बाटो दिएजस्तो लाग्छ।'
निर्देशक नवीन भने यो फिल्म चार वर्ष लगाएर बनाएकाले अहिले नै दोस्रो भागबारे नसोचेको बताउँछन्।
'सर्जकलाई अहिलेको क्षण नै महत्त्वपूर्ण हुन्छ। दर्शकहरूले फिल्म हेरेर दिएको प्रतिक्रिया सुन्ने, केही मीठो कुरा भन्नुभएको छ भने आहा भन्ने, त्यो कुरा लगेर साँझ आनन्दले सम्झँदै निदाउने, अहिलेलाई यही अनुभव गर्न चाहन्छौं,' नवीनले भने।
आर्टमान्डूका धेरैजसो गीत हर्क साउदले लेखेका छन्। 'ऊनको स्वीटर' का चारमध्ये तीन गीतमा उनकै शब्द छ। यो कुराकानीमा पनि तीनै जनाले हर्कलाई सम्झिए।
नवीन चौहान, सुजन चापागाईं र कोबिद बज्रबीचको भिडिओ कुराकानी सेतोपाटी कन्भरसेसनमा –