अब त छोरो पनि ठुलो भयो। छोरी पनि काम गर्दै आफै कमाउन थालेकी छ। ज्वाइँ पनि अमेरिकी नागरिक। उसको टेन्सन भएन। अब यताको अलिअलि भएको काम पनि छोराले सम्हाल्न थालेको छ। अब चाहिँ नेपाल जान मन छ।
‘ए बुढी, अब हामी नेपाल जानु पर्छ। हेर त, छोराछोरी पढ्छन् अनि जाउँला, जागिर खान्छन् अनि जाउँला, अलिअलि सम्पत्ति कमाऊँ अनि जाउँला भन्दा भन्दै तिमी ४७ वर्ष पुग्यौ, म ५०। जाम् बाबै अब घर। अब हामी घर जानु पर्छ,’ ग्रोसरी स्टोरबाट काम गरेर बुढीलाई लिन जाँदा यो कुरा सुनाउँदै थिएँ।
बुढी मुख बिगार्दै भन्छिन्, ‘गएर के गर्नु, म खेती गर्न सक्दिनँ। भएको त्यही अलिअलि खेत पनि बाँझै छ। अब यो बुढेसकालमा गएर बिरामी हुँदा कसले हेर्छ? केही भइहाल्यो भने छोराछोरी यहाँबाट जान पनि पाउँदैनन्।’
बुढीको कुरा सुनेर म फेरि नबोली बस्छु। यस्तो कुराकानी हामीबिच महिनामा एक पटक हुन्छ। अनि यही पोइन्टमा आएर रोकिन्छ। मसँग उत्तर हुँदैन। मैले बुढीलाई फकाउन नै सकिनँ। मैले बुझे जसरी बुढीलाई किन बुझाउन सकेको छैन? म आफैलाई प्रश्न गर्छु।
मलाई लाग्छ मलाई यो ठुला ठुला महलले, समुद्रले, यहाँका सुखले अब आकर्षित गर्न छाडिसक्यो। नेपाल पनि त पहिले जस्तो रहेन। बाटोघाटो बनेको छ। पुलहरू बनेको छ। पहिले गाउँमा सदरमुकामबाट दुई दिन लगाएर जानु पर्ने ठाउँमा अहिले घर तलसम्म गाडी जान्छ। गाउँकै भाइले बस चलाउँछ। सदरमुकामसम्म सजिलै पुग्न सकिन्छ।
विगत १८ वर्षदेखि अमेरिकामा बसे पनि ५/६ वर्षमा एक पटक नेपाल घुम्न जाँदा मलाई नेपाल हरेक पटक परिवर्तन भएको महसुस हुन्छ। गाउँका साथीहरू कोही सहर बस्छन्, कोही गाउँमै बसेको देखेको छु। मनले सोचिरहन्छ। उनीहरू पनि त एक्लै छन्। पल्ला घरे श्याम दाइ र पारिको हरि काका पनि त बुढेसकालसम्म नै त्यही बसेका छन्। श्याम दाइ त अझै गोरु चराउन जान्छन् अरे।
अलिअलि भएको, कमाएको सम्पत्ति बैंकमा राखौँला अनि रमाउँला गाउँले जीवन। दसैँ १५ दिनसम्मै मानौँला। तिहारमा देउसी भैलो खेलौँला। यो सबै गरौँला। हेर बाबै, अब जानु पर्छ। दसैँको टीकाको दिनमा काम गर्नु छ भन्दै घण्टा हानेर कति दिन बस्नु? बोकाको मासु खानु मन लाग्यो भने कि फ्रिजमा राखेको कि अन्य मासुसँग मिसाउने गरी काटिएको मासुलाई प्लास्टिकको पोकामा लेराएर कति दिन दसैँ मनाउनु?
हाम्रो त एउटा खसीको भुटनले नपुगेर एक धार्नी मासु मिसाउनु पर्ने अनि टीकाको दिनमै ज्वाइँ, छोरा, बुहारी, बा, आमा, काका, काकी जम्मा भएर एकै ठाउँमा दसैँ मनाउने चलन हो। परदेशी भूमिमा बुढा र बुढीले बिहान बेलुका सँगै भात खान नपाउने गरी दसैँ मनाउन अब मन छैन बुढी। जाऊँ अब। पैसाले हामीलाई कहिल्यै पुग्दैन। खान लाउन पुग्ने छँदै छ। अझै पनि बसिबियाँलो गरेर खान पुग्ने म जम्मा पार्छु। दुवैले सकुन्जेल भात पकाएर सँगै खाउँला।
यहाँ त मरे पनि जलाउँदा आफ्ना छैनन्। त्यही पनि गाड्छन् कि जलाउँछन् त्यो पनि पत्तो छैन। हामीले त दिएर खाएका मान्छे हो हेर। गरिब दुखीलाई दान दिएको मान्छे हो। घरमा केही पूजाआजा पर्दा गाउँले दाजुभाइले सहयोग गरेर नै सबै काम फत्ते पारिदिने र ऋण धन नपुगे सहयोग गर्ने ठाउँबाट आएको मान्छे हो।
हामी एक अर्कालाई पर्यो भने नुन तेल सापटी चलाउने ठाउँबाट र अर्काको घरमा के पाक्यो पल्लो घरबाट थाहा पाउने ठाउँबाट आएको हो। यस्तो मान्छे हामी १८ वर्ष छोराछोरीको लागि भनेर बस्यौँ। अब बस्न हुन्न। हाम्रो अबको गन्तव्य नेपाल हुनु पर्छ। घर हुनु पर्छ।
दुनियाँ घुमियो, देखियो। अब नेपाल देख्ने रहर छ। कुवाको पानी खाने रहर छ। चौतारामा बसेर बुढापाकासँग गफिन मन छ। मलाई बुढेसकालमा ‘एज केयर’मा बस्नु मन छैन। मेरो हिँड्दा हिँड्दै परान जाओस्। परान जाँदा आफन्त र नातेदार होउन्। तुलसाको मठमा टाउको राखेर परान जाँदै गर्दा मलाई म जन्मेको, म रमेको ठाउँ जान मन छ। अब चाहिँ घर जाने रहर छ।
यति सोचेर अर्को महिनामा फेरि कुरा निस्किँदा यही भन्ने कल्पना गर्दै भोलिको लागि टिफिन मिलाउन लागेँ। तर मनले सोचिरह्यो। मैले बुढीलाई भन्नु पर्छ- बुढी अब चाहिँ घर जाने रहर छ।