युद्ध भूमिमा खसिरहेको 
मिसाइलको अनुहार 
मैनबत्ती जस्तो जस्तो पो देख्छु 
के त्यो कसैको जन्मदिनमा आयो?
अथवा
कसैको सुहागरातमा सजिनलाई आयो?
अहँ, 
त्यो त कसैको 
मृत्युदिन पो लिएर आयो 
त्यो त कुनै नवदुलहीको
सौभाग्य खोस्न आयो।
आकाश भेदेर आइरहेको 
मिसाइलको अनुहार 
कलम जस्तो जस्तो पनि देख्छु 
के उसो भए त्यो 
जीवन गीत लेख्न आयो?
अथवा 
शिक्षाको सन्देश बोकेर आयो? 
अहँ,
त्यो त निहत्थाहरूको 
जीवन सिद्ध्याउन भनेर पो आयो 
त्यो त बालबालिकाका 
विद्यालय भत्काउनलाई आयो।
सात समुद्रपारिबाट बर्सिरहेको
मिसाइलको अनुहार 
कुनै फूलको 
कलिलो कोपिला जस्तो जस्तो पनि देख्छु 
के उसो भए त्यो 
शान्तिको फूल बनेर फक्रनलाई आयो?
अथवा 
भाइचाराको सुवास छर्न आयो?
अहँ ,
त्यो त मानवताको इतिहास 
धमिल्याउन पो आयो 
त्यो त,
लासहरूको दुर्गन्ध बोकेर आयो।
बुझ्यौ मेरी ज्यान!
नमिल्दो रहेछ यहाँ पटक्कै 
अनुहार मिल्नेहरूको काम।