कोम्बी


कोम्बी

अँधेरीलाई चिर्न राँको बालेर

सिंहा लखेट्न सिठ्ठी फुक्दै

कम्मरमा कोम्बी राखेर

म आउँदैछु

बाँसघारीनिर ढुकेर बस् तँ

या कुनै कुइनेटोनिर

म निर्धक्क एक्लै आउनेछु

पटुकीमा मेरो कोम्बी राखेर

 

 

थाहा छ,

तँ एक्लै नहुन सक्छस्

हुनेछन् तेरा लठैतहरू साथ

झम्टन म माथि हरदम तयार

 

तँहरू सबलाई नजरमा राखेर हर क्षण

म घाँस काट्छु, झिक्रा झार्छु

गित गाउँदिन पहिले जसरी

अनि साथीहरू भन्दैछन् मेरो वेग बदलियो

र सँगै बदल्दैछन् उनीहरू आफ्नै गति स्वयँ पनि

 

हामी हिजोआज कोम्बी बोक्दैनौं

हामी कोम्बी भिर्छौं

हामी घाँस काट्दैनौं

उखेल्दैछौं जरासँगै

 

हामी, तयारी गर्दैछौं त्यो दिनको

जब तँ आउलास् चुहाउँदै  र्याल हाम्रो अगाडी

र तेरो जिब्रो थुत्नेछौं – जरै उखेलेको घाँसजस्तै

हामी, तयारी गर्दैछौं त्यो दिनको

जब तँ र तेरा लठैत बाटो छेक्नेछन् हाम्रो

अनि हामी काट्नेछौं सबलाई किटिकिटि – हरिया हाँगालाई जस्तै

हामी तयारी गर्दैछौं त्यो दिनको

जब तँ सुतिरहेको हुन्छस् लुकेर कुनै कुनामा

अनि हामी धावा बोल्नेछौं त्यसरी नै

जसरी जान्छ पहिरो मेटाइ सारा जिवनका चिन्हहरू

 

हो,

अँधेरीलाई चिर्न राँको बालेर

सिंहा लखेट्न सिठ्ठी फुक्दै

राखेर कोम्बी कम्मरमा

 

कुनै धामी हैन बरू आउनेछौं हामी

बुझिराख् ए “विर्यधारी”

चुनौती म अनि मेरो कोम्बीको

 

  • कोम्बी भनेको किराँत समुदायमा छोरीहरूलाई गुन्यूचोलो दिँदा दिइने हँसिया जस्तो हतियार हो। यसलाई मेलापात गर्दा मात्र नभएर किराँती महिलाहरूले हरदिन बोक्ने हतियार या गहना हो जसलाई मृत्युपर्यन्त पनि उनिहरूसँगै विसर्जन गरिन्छ।

 

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.