सुर्खेत कर्णाली प्रदेशको राजधानी भए पनि यहाँबाट हिमाली जिल्लामा जान र आउन भरपर्दो हवाई सेवा छैन। कर्णालीका हिमाली जिल्लामा हुने उडानहरू नेपालगञ्जलाई मुख्य 'बेस' बनाएर गरिन्छ। छोटो समयमै प्रदेश राजधानी पुग्नुपरे हिमाली जिल्लाका मानिसहरूलाई नेपालगञ्जबाट तीन घण्टा दूरीको गाडी यात्रा गर्नैपर्छ।
अहिले सुर्खेतबाट डोल्पा, जुम्ला, मुगु, हुम्लामा केही जहाज उड्ने भए पनि उनीहरू फाइदा हेरेरमात्र उड्ने भएकाले नियमित हुन सकेको छैन।
अब भने नेपाल वायु सेवा निगमले सुर्खेतबाटै माथिल्ला जिल्लामा नियमित हवाई सेवाको सुरू गर्न थालेको छ।
२०३८ देखि २०४२ सालसम्म सुर्खेतबाटै कर्णालीका अरू हिमाली जिल्लाहरूमा उडान गरिरहेको नेपाल वायु सेवा निगमले पनि त्यसयता नेपालगञ्जलाई नै 'बेस' बनाएको थियो।
झण्डै ३८ वर्षपछि अब फेरि निगमले सुर्खेत र हिमाली जिल्लाहरूमा सिधा उडान सुरू गर्न प्रक्रिया थालेको छ। यसको सुरूआत हुम्लाबाट गरिँदै छ। नेपालएयरलाइन्सले सम्भवतः फागुन दोस्रो साताको सोमबारदेखि सुर्खेत–हुम्ला परीक्षण उडान गर्ने भएको छ।
हुम्ला अहिलेसम्म राष्ट्रिय सडक सञ्जालमा नजोडिएको नेपालको एक मात्र जिल्ला हो।
कर्णाली प्रदेश सरकारले गरेको बारम्बारको आग्रहपछि नेपालएयरलाइन्स सुर्खेत–हुम्ला उडान गर्न सहमत भएको हो। अहिले केही विषयको अध्ययन गरेर प्रतिवेदन बुझाइसकेको र कुनैकुनै विषयमा थप अध्ययन भइरहेको निगमका प्रवक्ता तथा इञ्जिनियरिङ मर्मत विभागका व्यवस्थापक देवेन्द्र पुनले जानकारी दिए।
‘हामीले सोमबार परीक्षण उडान गर्ने भनेर प्रस्ताव गरेका छौं, नागरिक उड्ड्यन प्राधिकरणले स्वीकृत गर्यो भने ७ गते नै हुन्छ, स्वीकृत गर्न ढिला भयो एक–दुई दिन ढिला हुन सक्छ,’ उनले भने।
सुर्खेतबाट हुम्ला वा अरू विमानस्थल भएका कर्णालीका जिल्लामा उडान गर्दा यात्रु पाउने वा नपाउने, उडान खर्च उठ्ने वा नउठ्ने, नागरिकलाई प्रभावकारी सेवा दिन सकिने वा नसकिने, कम्पनी सेवामुखी बन्ने कि व्यवसायमुखी बन्ने जस्ता विषयमा अध्ययन गरिएको अध्ययन समितिका सदस्य सचिव समेत रहेको पुनले जानकारी दिए।
सुर्खेतबाट हिमाली जिल्लामा सोझै उडान गर्न भएको पहिलो चरणको अध्ययनपश्चात ‘उडानको खर्च मात्र उठे पनि निरन्तर उडान गर्ने’ भनेर प्रतिवेदनमा सिफारिस गरिएको उनले जानकारी दिए। तत्काल फाइदाभन्दा पनि सेवा दिने उद्देश्यले निगम अघि बढेको उनले बताए।
‘अहिलेसम्म हामीले नेपालगञ्जबाट कर्णालीका विभिन्न जिल्लाहरूमा निरन्तर सेवा दिइरहेका छौं, तर कर्णालीको राजधानी सुर्खेत भयो, हवाई सेवा लुम्बिनीबाट भएपछि हामीले सुर्खेतबाटै पनि सेवा दिऔं भनेर अघि बढेका हौं,’ प्रवक्ता पुनले भने, ‘अहिले सुर्खेतबाट हुम्लाको लागि उडान गर्दा कुन रूट सबभन्दा छोटो र सुरक्षित हुन्छ भनेर पनि अध्ययन भइरहेको छ, त्यो अध्ययन पूरा भएपछि हामीले भाडादर पनि निर्धारण गर्छौं।’
प्रदेश सरकारले हुम्लामा सडकमार्ग नजोडिएकाले तत्काल प्राथमिकतामा राखेर सुर्खेतबाट उडान गर्न आग्रह गरेकाले सुरूमा हुम्लाका लागि प्रक्रिया थालिएको उनले बताए।
उनका अनुसार अहिले हुम्लामा उडान गरिएपछि सुर्खेतबाट जुम्ला, मुगु, डोल्पा पनि उडान गर्ने उद्देश्य निगमको छ।
अहिले सुर्खेत विमानस्थलमा ‘रिफ्युलिङ’को व्यवस्था भएकाले सुर्खेतलाई 'बेस' बनाएर कर्णाली प्रदेशका अरू जिल्लाहरूमा उडान गर्न सहज हुने उनले बताए।
‘प्रदेश सरकारले पनि हामीलाई सुर्खेत विमानस्थलबाट सुदूरपश्चिमका बझाङ, बाजुरा र आसपासका केही नयाँ विमानस्थलमा पनि हवाई सेवा सञ्चालन गर्नुपर्यो भनेर आग्रह गरेको छ, त्यो हाम्रो जिम्मेवारीमा त पर्दैन, तर यो विषयमा समेत हामीले अध्ययन गरिरहेका छौं,’ प्रवक्ता पुनले भने।
सुर्खेतबाट कर्णालीका हिमाली जिल्लामा नियमित उडान गर्दा यात्रुहरूलाई हवाई जहाजमार्फत् सुर्खेत आउन जान नेपालगञ्ज पुग्नुपर्ने बाध्यता अन्त्य हुनेछ। यसका साथै पर्यटकीय गतिविधि र पर्यटन व्यवसाय प्रवर्द्धनमा पनि टेवा पुग्नेछ।
सुर्खेतमा प्रदेशस्तरको अस्पताल हुँदाहुँदै बिरामीलाई हवाई जहाजमार्फत् नेपालगञ्ज झार्नुपर्ने बाध्यता हट्ने पुन बताउँछन्।
‘कर्णालीका माथिल्ला जिल्लाका मानिसहरू नेपालगञ्ज गएर काठमाडौं जानुपर्ने अवस्था छ, काठमाडौंबाट पनि आफ्नो राजधानीमा आएर अर्जेन्ट काम गरेर जानुपर्यो भने फेरि आफ्नो जिल्ला जान नेपालगञ्ज ओर्लिएरै जहाज चढ्नुपर्छ,’ उनी भन्छन्, ‘यहीँबाट सेवा दिन थालियो भने यस्ता समस्या समाधान हुन्छन्।’
कर्णालीमा भएका रारा, शे–फोक्सुण्डो जस्ता महत्वपूर्ण पर्यटकीय स्थलसम्म पुग्ने पर्यटकले लुम्बिनी प्रदेशबाट हवाई सेवा लिनुपरेकोले यसलाई मध्यनजर गर्दै निगम अघि बढेको उनले बताए।
‘महत्वपूर्ण र ठूला पर्यटकीय स्थल कर्णाली प्रदेशमा छन्, हवाई सेवा भने नेपालगञ्जबाट छ, प्रदेशको राजधानीमा पुगेर मात्र कर्णालीका पर्यटकीय क्षेत्रमा जान चाहने मान्छेलाई पनि यहाँबाट दिइने हवाई सेवाले सहज बनाउँछ,’ प्रवक्ता पुनले भने, ‘ यसले वीरेन्द्रनगरको पर्यटन र व्यवसायमा पनि सहयोग गर्छ, दैनिक दुई वटासम्म उडान सुर्खेतबाट माथिल्ला जिल्लामा गर्न सकियो भने हवाई सेवा नभई नहुने यात्रुलाई समेट्न सकिएला भन्ने अपेक्षा हाम्रो छ।’
अहिले सुर्खेत–काठमाडौं सिधा हवाई सेवा छ। दैनिक तीन वटा उडान सुर्खेत–काठमाडौं हुन्छन्।
हवाई यातायातको विकल्प नभएको हुम्लाका लागि सुर्खेतलाई 'बेस' बनाएर उडान भए आफ्नो प्रदेशको राजधानी पुगेर आवश्यक काम गर्न सहज हुने हुम्लाका पर्यटन व्यवसायी विजय लामा बताउँछन्।
‘हुम्लामा सुर्खेतबाट नियमित उडान छैन, केही निजी कम्पनीहरूले दिनभर सुर्खेतबाट उडान गरे पनि बेलुका नेपालगञ्ज नै जान्थे, गाडी नपुगेको हाम्रो जिल्लामा हवाई सेवाको विकल्प छैन,’ लामाले भने, ‘हाम्रो प्रदेश राजधानी सुर्खेत भए पनि अर्को प्रदेशबाट हवाई सेवा लिनुपरेको छ, निगमले नियमित गर्यो भने राजधानी पुग्न सहज हुन्छ, पर्यटन तथा होटल व्यवसाय पनि बढ्छ।’
आठ–नौ वर्ष अघिसम्म केहीएयरलाइन्सले सुर्खेतबाट नियमित उडान गरेपछि त्यसयता हुम्लामा यात्रुका लागि नियमित उडान नभएको नेपाल वायु सेवा निगमका हुम्ला इञ्चार्ज छिरिङ लामाले बताए।
सुर्खेतलाई 'बेस' बनाएर हुम्लासहित साविक कर्णालीका जिल्लामा हुने हवाई सेवालाई यात्रुको समस्या नहुने उनी बताउँछन्।
‘अरू निजी कम्पनीका जहाजले सुर्खेतबाट कार्गो सेवा मात्र दिने, त्यसैमा खाली सिट भयो भने यात्रु लैजान्थे, त्यो पनि नियमित थिएन,’ कर्णाली प्रदेशका पर्यटन मन्त्री कृष्णकुमार बिसीले भने, ‘हामीले केही महिनाअघि सरकारको स्वामित्वमा रहेको नेपालएयरलाइन्सलाई सुर्खेतबाट कर्णालीका विमानस्थल भएका जिल्लाहरूमा सेवा दिनुस् भनेर आग्रह गरेका छौं, यो विषयमा अझ पनि छलफल चलिरहेकै छ।’
केही समयभित्र निष्कर्षमा पुगेर निगमले सुर्खेतबाट हिमाली जिल्लाहरूमा नियमित उडान गर्नेगरी प्रदेश सरकारले पहल गरिरहेको उनले बताए।
उनका अनुसार निगमले पहिले खाली भएका सिटको पैसा सरकारले तिरिदिनुपर्ने प्रस्ताव गरेको थियो। अहिले भने एक वर्षसम्मका लागि काम विशेषले सुर्खेतबाट हिमाली जिल्लामा जाने वा आउने सरकारी कर्मचारीले नेपालएयरलाइन्सबाटै सेवा लिनेगरी सहजीकरण गरिदिन निगमले प्रदेश सरकारलाई आग्रह गरेको छ।
‘सरकारको स्वामित्वमा भए पनि व्यवसाय भएकाले यसमा केही हदसम्म सहजीकरण गरिदिन सकिन्छ कि भन्ने बारेमा पनि हामी छलफलमा छौं,’ मन्त्री बिसीले भने।