त्यो दिन महेन्द्रबहादुर शाही कालीकोटको पिली जाँदै थिए। सशस्त्र द्वन्द्वको बेला थियो।
विद्रोही पक्ष भनिएको माओवादी समूहले उनलाई 'पिलीमा हाम्रो कार्यक्रम छ, त्यहाँ हामीलाई केही दिन सहयोग गर्नुस्' भनेर लगेका थिए।
महेन्द्रकै गाउँका अरू सर्वसाधारण पनि थिए। पारिपट्टिको सुकाटिया गाउँबाट समूहमै हिँडेका महेन्द्रले बीच बाटोमै भयानक घटना हुने सुइँको पाए। पिसाब फेर्ने निहुँ पारेर सुटुक्क भागे।
यो २०६२ साउन २३ गतेको कुरा हो।
त्यो दिन बेलुकादेखि भोलिपल्ट बिहानसम्म पिलीमा बन्दुकका गोली बर्सिए, बारूद जले। पिली डाँडा अशान्त बन्यो। त्यस छेउछाउ र पारिपट्टिका थुप्रै गाउँसमेत त्रसित भए।
२४ गते दिनभर सेनाको हेलिकप्टरले फन्को मारिरह्यो। गाउँहरूमा लामो समय कर्फ्यू लाग्यो।
नेपाली सेना र माओवादी सेनाबीच त्यो दिन पिलीमा दोहोरो भिडन्त भएको थियो। पिली सशस्त्र द्वन्द्व अवधिको राज्य र विद्रोही पक्षबीच अन्तिम युद्ध भएको स्थलका रूपमा चिनिन्छ।
यो घटनामा एक सय तीन जनाको ज्यान गएको थियो।
कर्णाली राजमार्गअन्तर्गत कालीकोट–जुम्ला खण्डको ट्र्याक खोल्न सेनाको सडक निर्माण कार्यदल पिलीमा बसेको थियो। माओवादीले उनीहरूको शिविर घेरेर आक्रमण गरेका थिए। त्यस क्रममा १३ जना श्रमिकको पनि ज्यान गयो। ६२ जना सैनिकको मृत्यु भएको थियो। मृत्यु हुनेमा २८ जना तत्कालीन विद्रोही पक्षका थिए।
'त्यही दिन हामीलाई माओवादीले पिलीमा एउटा कार्यक्रम छ भनेर गाउँबाट लगेका थिए। दिउँसो १२ बजेतिर हामी गाउँबाट जाँदै थियौं, माओवादीले पिलीमा घेरेर आक्रमण गर्दैछ भन्ने कुरा हाम्रो समूहका एक जनाले थाहा पाएका रहेछन्,' हाल शुभकालिका–५ का बासिन्दा महेन्द्र अहिले पनि सम्झिन्छन्, 'हामीलाई खबर दिँदै जानू भनेर उहाँ सुटुक्क भाग्नुभएछ। खबर पुग्दै आयो। हामी पनि विभिन्न बहाना बनाएर खोला, जंगल, कसैको घरमा लुक्दै भागेर फर्कियौं।'
उनी त्यो दिन समाला गाउँबाट भागेर घर फर्किएका थिए। पिलीमा बन्दुक पड्किन सुरू हुँदा महेन्द्र घर पुगेको आधा घन्टा पनि भएको थिएन।
'लगभग चार बजेदेखि त्यहाँ आक्रमण सुरू भइसकेको थियो। साढे ३ बजेपछि मात्र म घर पुगेको थिएँ,' उनले भने, 'रातभर पड्किरह्यो, धन्न भागेर बचेछु भन्ने लाग्यो।'
उनका अनुसार भोलिपल्ट बिहान ९ बजेसम्म पिलीमा गोलाबारूद भइरहेको थियो। तीन पटकसम्म हेलिकप्टर आएर पनि अवतरण गर्न नसकेको उनी सम्झिन्छन्। अहिले पनि गाउँबाट प्रस्टै देखिने पिलीतर्फ हेर्दा त्यही दिनकको झल्को आउने महेन्द्रले बताए।
'घटना भएपछि सुरूसुरूमा त दिनदिनै गोलावारी भएजस्तो, उकुसमुकुस भएजस्तो लाग्थ्यो,' उनले भने, 'अब त्यस्तो साह्रो त लाग्दैन। तर बेलाबेला पिलीतिर हेर्दा त्यो त लडाइँ भएको ठाउँ भन्ने मनमा लागिहाल्छ।'
तिलागुफा नगरपालिका–३ फोइमहादेवका लोगबहादुर शाहीलाई पनि कालीकोटमा लामो समयसम्म लागेको त्यो बेलाको कर्फ्यूले पिलीको युद्ध सम्झाउँछ। घटना भएको दिन उनी सदरमुकाममै थिए। उनको गाउँ र सदरमुकामको मध्य भागमा पिली पर्छ।
तत्कालीन समयमा हुलाकको बैदार पदमा जागिरे लोगबहादुरलाई बेलाबेला सदरमुकाम र गाउँ आवतजावत गरिरहनुपर्थ्यो।
'अघि पनि आउन–जान कहिलेकाहीँ माओवादीबाट पर्ची काट्नुपर्ने अवस्था त थियो। तर जब पिलीमा घटना भयो, त्यस दिनदेखि दुवैतर्फबाट कर्फ्यू लाग्यो,' उनले भने, 'कयौं दिनसम्म यताउता गर्नै बन्द भयो। त्यो समय हाम्रा लागि बिर्सिनै नसकिने बन्यो।'
२०६२ सालमा भएको पिली युद्धका कारण भएको मानवीय क्षति र राजमार्ग निर्माणमा अवरोध कर्णालीवासीका लागि दुखद भएको लोगबहादुर बताउँछन्।
'द्वन्द्वको समयमा हामीले दुवैतिरबाट केही दुःख भोग्यौं। ती सामान्य जस्तै भए,' उनले भने, 'पिलीको घटनाबाट भएको क्षति त के बिर्सिएला र!'
पिली हाल खाँडाचक्र नगरपालिका–७ मा पर्छ। पिली २०६२ सालयता नेपालको दस वर्षे सशस्त्र द्वन्द्वको अन्तिम तथा सबभन्दा धेरै मानवीय क्षति हुने गरी युद्ध भएको ठाउँका रूपमा परिचित छ।
अब भने यसको पहिचान फेरिँदै छ।
पिलीलाई अब 'पर्यटन गन्तव्य' का रूपमा विकास गरिँदैछ। संरचनाका लागि सरकारले लगानी गरेको छ।
संघीयतापछि पिलीलाई पर्यटन गन्तव्य बनाउने अभियान सुरू भएको हो। यो वर्षबाट पिलीमा केही संरचनाहरू बनाउन थालिएको छ। भ्यूटावर, पानी पोखरी, संग्रहालयका संरचना, टिकट काउन्टर लगायत ठूला र आकर्षक संरचना बनाउन यो वर्ष दस करोड ८१ लाख रूपैयाँ बजेटमा ठेक्का भएको छ।
पोखरी निर्माणको काम अन्तिम चरणमा पुगेको छ भने भ्यूटावर बनाउन भर्खरै सुरू भएको छ। यो बजेट कर्णाली प्रदेश सरकारले दिएको हो।
खाँडाचक्र नगरपालिका–७ का वडाध्यक्ष दीपराज कार्कीका अनुसार यसअघि पनि विभिन्न समयमा बजेट विनियोजन गरी आधारभूत पूर्वाधारहरू निर्माण गरिएको छ। प्रदेश सरकारबाटै चारपटक छुट्ट्याइएको एक करोड ८० लाख रूपैयाँबाट प्रवेशद्वार, शिलालेख, एक हजार तीन सय मिटर गोरेटोमा रेलिङ निर्माण गरिएको उनले बताए। सोही बजेटबाट निश्चित जग्गा पनि छुट्ट्याइएको थियो।
यही वर्ष वडाबाट दुई लाख रूपैयाँ बजेट पिलीलाई पर्यटन गन्तव्य बनाउन आवश्यक पूर्वाधारका लागि छुट्ट्याइएको छ। उक्त बजेटबाट प्रतीक्षालय र शौचालय निर्माणको काम भइरहेको वडाध्यक्ष कार्कीले बताए।
युद्ध स्थलका रूपमा परिचित पिलीलाई पर्यटकीय क्षेत्रका रूपमा रूपान्तरण गर्न सके स्थानीयलाई पनि विशेष राहत हुने उनले बताए।
'घटनाका बेला एकातिर स्थानीयले भोगेको एकखालको पीडा छ। पर्यटकीय गन्तव्य भयो भने स्थानीयले त्यो पीडा केही हदसम्म बिर्सिन्छन्,' कार्कीले भने, 'यसबाहेक स्थानीयको उत्पादन र व्यवसाय प्रवर्द्धन पनि हुन्छ। अब युद्ध भएको डाँडा मात्र होइन, पर्यटक आउने ठाउँ हो भनेर पनि चिनाउनु छ।'
पर्यटकीय गन्तव्य बनेसँगै आउने पर्यटकलाई अर्गानिक उत्पादन उपलब्ध गराउने योजना रहेको उनले बताए। यसका लागि प्रदेशको कृषि मन्त्रालयसँग अर्गानिक उत्पादन तथा व्यवस्थापनका लागि बजेट विनियोजन गर्न वडाबाट माग गरिएको उनले जानकारी दिए।
यो वर्षको साउनदेखि वडा कार्यालयले तत्कालीन घटनाको सम्झनास्वरूप 'पिली दिवस' भनेर मनाउन लागेको छ।
स्थानीय लालबहादुर मल्ल अब पिली पर्यटकीय गन्तव्य बन्नेमा आशावादी छन्।
'कतिपयका लागि अन्तिम युद्ध भएको ठाउँका रूपमा पिलीको पहिचान बनेको होला। विश्व समुदायका केही दस्तावेजमा पनि यही भनेर राखिएको होला। हाम्रा लागि भने त्यो ठूलो नरसंहार थियो,' मल्लले भने, 'त्योभन्दा पहिले यसको आफ्नै एकखालको पहिचान थियो। युद्धले बीचमा अर्को बन्यो। अब पर्यटकीय क्षेत्र बन्छ, यसका लागि राज्यले पनि लगानी गरेको छ।'
कुनै बेला पिलीमा दुइटा मात्र घर भएको ६७ वर्षीय लोगबहादुर बताउँछन्। ०६२ सालको घटनापछि ती दुई घर पनि विस्थापित भए। अहिले पिलीमा सडक सञ्जाल पुगिसकेको छ। सवारीसाधनको आउजाउ नियमित भइरहन्छ। नियमित यातायातका साधन गुड्न थालेपछि पिलीमा फेरि सानो बजार बनेको छ।
लोगबहादुरका अनुसार पहिले त्यस क्षेत्रमा यात्रा गर्ने बटुवाका लागि पिली मध्यम गन्तव्य थियो। बिहान वा दिउँसोको समयमा पुग्नेहरू त्यहाँ खाना पकाएर खान्थे। राति पुग्नेहरू पकाएर पनि खान्थे, बास पनि बस्थे।
'त्यति बेला बीचबीचमा अहिलेका जस्ता होटल हुने कुरा भएन। आफूसँग बोकेको खानेकुरा पकाएर खान पिली नै मुख्यस्थल थियो,' उनी भन्छन्, 'राति पुग्ने बास बस्थे, दिउँसो पुग्नेहरू खाना पकाएर खान्थे। हामी त्यसलाई पनि कोट (चुली परेको गढीजस्तो) भनेर चिन्थ्यौं।'
पिली क्षेत्र त्यो बेला नै सुधारिएको गोरेटो बाटो भएको ठाउँका रूपमा पनि चिनिन्थ्यो। पञ्चायतकालमा स्थानीय कार्की थरका प्रधानपञ्चले आफ्नो क्षेत्रमा सजिलो गोरेटो बाटो बनाएका थिए।
साविकमा एउटै जिल्लाको रूपमा रहेका जुम्ला र कालीकोट छुट्टिएर दुई जिल्ला बनेपछि पिली अझ त्यति बेलाको मध्यम गन्तव्यका रूपमा परिचित भएको लागेबहादुर बताउँछन्।
२०३४ सालमा जुम्ला र कालीकोट अलग जिल्ला बने। कालीकोट अलग भएपछि यसको सदरमुकाम मान्मा बन्यो। प्रशासनिक कामका लागि मान्मा जाने जुम्लातर्फका मानिस र सदरमुकामबाट त्यसतर्फ आउनेहरूका लागि पिली मध्यम गन्तव्य थियो।