दशैंको टिकट काट्न मध्यरातदेखि नै भीड (फोटो फिचर)


दशै‌ंको लागि अग्रिम बस टिकट बुकिङ आजदेखि सुरू भएको छ। यात्रुहरू मध्यरात देखिनै लाइन बसेपनि काउन्टर भने करिव ६ बजे मात्र खुलेको थियो।

टिकट सकिने डरले आफू राति १२ बजेनै लाइन बस्न आएको नेपालगञ्ज स्थायी घर भएका किशोर सिग्देलले बताए।

धेरै ठाउँको टिकट एउटै काउण्टरबाट  काट्ने व्यवस्था मिलाइएकोले धेरै बेर लाईन बस्नुपरेको गुल्मी घर भएका अर्का यात्रु किशोर नेपाल बताउँछन्। ‘अर्घाखाची, पाल्पा र गुल्मीको एउटै काउन्टरबाट टिकट काट्ने व्यवस्था मिलाइएको रहेछ, त्यही भएर बिहान ४ बजेदेखि लाइन बसेपनि अहिलेसम्म पालो आएको छैन’ उनले गुनासो पोखे।

यो वर्ष पनि अघिल्ला वर्षझै अब्यवस्थित तरिकाले टिकट बुकिङ भएको यात्रुहरुको अनुभव छ। ‘बिहान हामीलाई टोकन बितरण गरियो, पछि भीड बढ्दै गएपछि टोकन सिस्टम खारेज गरेर फेरि लाइन बस्न लगाइयो’ लामबद्ध यात्रुहरुले भने। अर्घाखाची, पाल्पा, गुल्मी, नेपालगञ्ज, महेन्द्रनगर, धनगढी, झापा, मोरङ लगायतको स्थानमा लाग्ने गाडीको काउन्टरमा अत्याधिक भीड देख्न सकिन्छ।

टिकटमा कालोबजारी रोक्न यातायात व्यवस्था विभागले ३६ जनाको अनुगमन टोली खटाएको छ। अहिलेसम्म कोही पनि टिकट कालोबजारीको आरोपमा नसमातिएको यातायात ब्यवस्था विभागका प्रवक्ता डा टोकराज पाण्डेले जानकारी दिए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.