कुनै पनि कक्षामा सबै विद्यार्थीले एकैपटकमा पाठ्यक्रम बुझ्न सक्छन् भन्ने हुँदैन। अझ कोरोना महामारीयता विद्यार्थीहरू घरमै अनलाइन कक्षा पढ्न बाध्य छन्। यस्तोबेला विद्यार्थीलाई पाठ्यक्रम बुझ्न पक्कै सहज भएको छैन।
विद्यार्थीको यही समस्या सुल्झाउने उद्देश्यले गत वैशाखदेखि १ गतेदेखि 'माइ सेकेन्ड टिचर' सुरू भएको छ।
माइ सेकेन्ड टिचर, अर्थात् मेरो दोस्रो शिक्षकलाई 'स्मार्ट लर्निङ र टिचिङ प्लेटफर्म' का रूपमा सार्वजनिक गरिएको यसका सह–सञ्चालक सुलभ बुढाथोकी बताउँछन्।
'माइ सेकेन्ड टिचर नेपालका सरकारी तथा निजी स्कुलका लागि उपलब्ध भइसक्यो,' बुढाथोकीले भने, '११ हजारभन्दा बढी विद्यार्थीले यसको प्रयोग गर्न थालिसकेका छन्। गफगाफ शैलीका अन्तर्क्रियात्मक भिडिओ हेरेर विद्यार्थीले पाठ्यक्रमका विषयवस्तु सहज रूपमा पढ्न र बुझ्न सक्नेछन्।'
शिक्षक र विद्यार्थीबीच हुने कुराकानी शैलीमा पढाउने यो प्लेटफर्म क्याम्ब्रिज विश्वविद्यालयले डिजाइन गरेको हो। यसको निर्माण र विकास भने नेपालमै, नेपाली टिमले नै गरेको उनले जानकारी दिए।
माइ सेकेन्ड टिचरको परीक्षण सन् २०१९ मा इन्डोनेसियामा भएको थियो। अहिले १८ देशमा, १६० वटा क्याम्ब्रिज स्कुलका करिब एक लाख विद्यार्थीले प्रयोग गरिरहेका बुढाथोकीले जानकारी दिए। सन् २०२१ अन्तसम्म ५० देशमा लागू गर्ने लक्ष्य छ।
माइ सेकेन्ड टिचरले हाल एसइई परीक्षा तयारी गरिरहेका विद्यार्थी लक्षित गरेको छ। कक्षा दसका चार अनिवार्य विषयहरू- अंग्रेजी, गणित, अर्थशास्त्र र विज्ञानमा आधारित अन्तर्क्रियात्मक भिडिओ हेरेर विद्यार्थीले सिक्न र बुझ्न सक्छन्।
'हाम्रो उद्देश्य विद्यार्थीलाई घोकाएर होइन, हाँसीहाँसी बुझाएर पढाउनुपर्छ भन्ने हो,' बुढाथोकी भन्छन्, 'विद्यार्थीले आफ्नो विषय बुझेर पढ्नुपर्छ। पढेका कुरा भविष्यमा कहाँ लागू गर्न सकिन्छ भनेर थाहा पाउन पनि आवश्यक छ।'
यसका लागि समसामयिक अवधारणा, पाठ्यक्रमका विषयवस्तु र दैनिक जीवनका अनुभवलाई शिक्षण पद्धतिसँग जोडेर भिडिओ बनाउने उनले बताए। यो प्लेटफर्ममा नेपाली र अंग्रेजी, दुवै भाषामा पढाइन्छ।
'ठूला निजी स्कुल र सामुदायिक स्कुलबीचको एउटा अन्तरलाई यो प्लेटफर्मले कम गर्छ,' उनले भने।
सुरूमा यो प्लेटफर्मको आइडिया क्याम्ब्रिज विश्वविद्यालयका शिक्षकले आधुनिक अनलाइन पुस्तालाई लक्षित गरेर ल्याएका थिए। मुख्यगरी त्यहीँका शिक्षक र विद्यार्थीलाई यस्तो प्लेटफर्म उपलब्ध गराएर शैक्षिक प्रणालीलाई अर्को तहमा पुर्याउने उनीहरूको सोच थियो। उनीहरूले करिब डेढ वर्ष लगाएर यसको डिजाइन गरेका बुढाथोकीले जानकारी दिए।
यो प्लेटफर्म डिजाइन गर्न क्याम्ब्रिजले आफ्नो सिंगापुरस्थित मुख्यालयलाई जिम्मा दिएको थियो। करिब बीस वर्षदेखि शिक्षा र सूचना-प्रविधि क्षेत्रमा काम गरिरहेका बुढाथोकीले यसबारे जानकारी पाएपछि नेपाल भित्र्याउने प्रस्ताव राखे। उनीसँगै फिलिपिन्स, भियतनाम, म्यानमार लगायत अरू देशले पनि प्लेटफर्म विकास गर्न प्रस्ताव राखेका थिए।
'मैले कलेजमा पढाउँदा विदेशी र नेपालको शिक्षाबीच अन्तर देखेको थिएँ। बाहिरी देशको तुलनामा यहाँको पढाउने तरिका र स्रोतमा कमजोरी थियो,' लामो समय शिक्षण अनुभव सँगालेका उनले भने, 'नेपालमा प्रशस्त आइटी कलेज र आइटीमा स्नातक गरेका विद्यार्थी छन्। यस हिसाबले क्याम्ब्रिज टिमलाई विश्वास दिलाउन सफल भयौं र माइ सेकेन्ड टिचर बनाउने जिम्मा पायौं।'
यो प्लेटफर्म नेपालीले विकास गर्न र सफलतापूर्वक सञ्चालन गर्न सक्छन् भन्ने विश्वास दिलाउन निकै कोशिस गर्नुपरेको उनी बताउँछन्। यसको सञ्चालन केन्द्र नेपालमा छ भन्ने थाहा पाउँदा धेरैले नाक खुम्च्याएका थिए रे। कतिले यो सफल हुँदैन पनि भनेछन्।
'तर सफलतापूर्वक विकास गरेर हामीले नेपाल सूचना-प्रविधिमा काम गर्न सक्षम छ भन्ने देखाउन सफल भयौं,' उनले भने।
यो प्लेटफर्म विदेशी स्कुल लक्षित गरी डिजाइन भएकाले यहाँ पढाउने शैली सामान्य नेपाली स्कुलको भन्दा फरक छ। बुढाथोकीका अनुसार माइ सेकेन्ड टिचरबाट पढेका नेपाली विद्यार्थी र विदेशी विद्यार्थीले पाउने शिक्षा उस्तै हुन्छ। त्यसैले नेपाली विद्यार्थी पछि विदेशी कलेज पढ्न गए पाठ्यक्रम हिसाबले केही अप्ठ्यारो नहुने उनको भनाइ छ।
त्यसैगरी यसबाट विद्यार्थीले मात्र नभई शिक्षक, प्रधानाध्यापक, स्कुल र अभिभावकले समेत फाइदा लिन सक्ने उनी बताउँछन्। विद्यार्थीले पढेका कुरा शिक्षक र अभिभावकले 'रिर्पोट' लिन सक्छन्। प्रधानाध्यापकले पनि आफ्नो स्कुलका हरेक विद्यार्थीको प्रगतिबारे हेर्न सक्छन्।
'एउटा शिक्षकले हरेक विद्यार्थीलाई बुझाउन निकै गाह्रो हुन्छ। माइ सेकेन्ड टिचरको भिडिओमार्फत शिक्षकले विद्यार्थीलाई सहजै बुझाउन सक्छन्, एउटै पाठ धेरै पटक पढाउनु पर्दैन,' उनी भन्छन्।
प्लेटफर्ममा उपलब्ध हरेक विषयका 'स्क्रिप्ट' नेपालका ठूला स्कुलमा पढाउने शिक्षकले तयार पारेका हुन्। यसबाट सबै स्कुलमा एकरूपता ल्याउन र सबै विद्यार्थीले एकैखाले शिक्षा पाउन सघाउ पुग्ने उनको भनाइ छ।
यसमा 'माइ टेस्ट पेपर' फिचर पनि छ। यसबाट शिक्षकले एक मिनेटभन्दा कम समयमा प्रश्नपत्र तयार गर्न सक्छन्। साथै अनलाइन ट्युटर सेवा, प्रत्येक विद्यार्थीको सही मूल्यांकन गर्न आर्टिफिसियल इन्टेलिजेन्स प्रयोग गरी बनाइएको डाइग्नोस्टिक रिर्पोट, कुनै पनि बेला विद्यार्थीको क्षमता परीक्षण गर्न मिल्ने टेस्ट पेपर लगायत विशेषता छन्।
अब हरेक वर्ष अन्य तहका कक्षा पनि थप्ने र तीन वर्षपछि कक्षा एकदेखि बाह्रसम्मका पाठ्यक्रम प्लेटफर्ममा उपलब्ध गराइसक्ने योजना रहेको बुढाथोकीले बताए।
माइ सेकेन्ड टिचरले सन् २०२० मा एसिया प्यासिफिक क्षेत्रका उत्कृष्ट दस इ–लर्निङ प्लेटफर्म अवार्डका साथै अमेजनको वेबसर्भिस अवार्ड जित्न सफल भइसकेको छ। विकसित देशमा परीक्षण र कार्यान्वयन भएको प्लेटफर्म नेपाली विद्यार्थी, शिक्षक र स्कुललाई उपलब्ध हुनु, शैक्षिक प्रणालीमा ठूलो सफलता मान्न सकिने उनको भनाइ छ।
यो प्लेटफर्मको प्रणाली, विषयवस्तु र विदेशी साइट समेत हेर्न अहिले प्राविधिक, शैक्षिक र सञ्चार क्षेत्रका गरी तीन सय जना नेपाली कर्मचारी आवद्ध छन्।
'हाम्रो कम्पनी मुख्यगरी दुई टिमले चलाइरहेका छन्। एउटा टिम नेपालको पाठ्यक्रम र स्क्रिप्टमा काम गर्छन्, अर्कोले क्याम्ब्रिजको पाठ्यक्रम तयार पार्छन्,' बुढाथोकीले भने, 'हाम्रो भिडिओमा पनि नेपाली शिक्षक र कलाकार छन्। उनीहरूलाई हेरेर विश्वभरका विद्यार्थीले पढ्छन्। जापानका विद्यार्थीलाई पढाइमा केही अलमल भए उनले हाम्रो प्लेटफर्ममा प्रश्न सोध्छन् र त्यसको उत्तर नेपाली शिक्षकले दिन्छन्।'
यो प्लेटफर्म चलाउन एन्ड्रोइड/आइओएस फोनमा माइ सेकेन्ड टिचर नेपाल एप डाउनलोड गर्नुपर्छ। वेबसाइटमा गएर निःशुल्क रजिस्टर गरी सीमित भिडिओ हेर्न पनि सकिन्छ।
'अहिले केही भिडिओ निःशुल्क हेर्न सकिने छ। अरू भिडिओ हेर्न पैसा तिरेर सबस्क्राइब गर्न सकिन्छ,' बुढाथोकीले भने।
नेपाली विद्यार्थी र शिक्षकलाई बाहिरी देशको शैक्षिक प्रणालीसँग प्रतिस्पर्धा गराउन माइ सेकेन्ड टिचर जस्तो प्लेटफर्म जरूरी रहेको उनको भनाइ छ।
(माइ सेकेन्ड टिचरको वेबसाइटका लागि यहाँ क्लिक गर्नुहोस्।)
(एन्ड्रोइड एप डाउनलोड गर्न यहाँ र आइओएस एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस्)