विश्वव्यापी रूपमा कारोबार विस्तार गरिरहेको रेमिटेन्स तथा भुक्तानी प्लेटफर्म आयो रेमिटले प्रतिष्ठित ‘ब्रिट फिनटेक अवार्ड २०२५’ मा ‘एमएसबी ग्लोबल’ उपाधि जितेको छ।
बेलायतमा आयोजित एक समारोहमा यो सम्मान प्रदान गरिएको हो।
विश्वकै प्रतिष्ठित फिनटेक सम्मानमध्ये एक मानिने यस अवार्डले नवीनता, पारदर्शिता र ग्राहक सन्तुष्टिमा उत्कृष्ट योगदान दिएका कम्पनीलाई सम्मान गर्छ।
आयो रेमिटलाई यसको मनी सर्भिस बिजनेस सञ्चालनमा नवीन दृष्टिकोण र बलियो नियमन संरचनाका आधारमा चयन गरिएको हो।
नेपाली मूलका उद्यमी कल्पित भण्डारी र प्रसुन भण्डारीद्वारा स्थापना गरिएको आयो रेमिटको मुख्यालय बेलायतमा रहेको छ भने क्षेत्रीय कार्यालयहरू अष्ट्रेलिया र साइप्रसमा छन्।
‘यो सम्मान हाम्रा ग्राहकहरूको विश्वास र हाम्रो टिमको अथक समर्पणको प्रतिफल हो। हामी सीमा पार भुक्तानीलाई अझ सरल र सुलभ बनाउने दिशामा निरन्तर अग्रसर छौं,’ कम्पनीका सह–संस्थापक प्रसुन भण्डारीले भने।
उनका अनुसार यो उपलब्धिले डिजिटल फाइनान्समा आयो रेमिटको नेतृत्वदायी भूमिका र विश्व मञ्चमा नेपाली उद्यमशीलताको प्रभाव दुवै उजागर गरेको छ।