निर्माण व्यवसायीहरुले काम भए पनि सरकारले भुक्तानी गर्न बाँकी रकम करिब १ खर्ब पुगेको निर्माण व्यवसायी महासंघले दाबी गरेको छ।
वर्षको सुरुदेखि नै काम भए पनि विभिन्न कारणले अड्किंदै आएको तर पछिल्लो समय लकडाउनले गर्दा ठप्प भएको भुक्तानी गर्न बाँकी रकम १ खर्ब पुगेको नेपाल निर्माण व्यसायी महासंघका अध्यक्ष रवी सिंहले जानकारी दिए।
लकडाउन अघि नै काम भएका र लकडाउनकै बीचमा पनि भइरहेका कामको मूल्यांकन नहुँदा भुक्तानी रोकिएको उनले जानकारी दिए।
महासंघले लकडाउनका क्रममा प्रभावित भएका कामको सामुहिक रुपमा म्याद थप गर्नुपर्ने र बाँकी रकम भुक्तानीका लागि सरकारसँग छलफल गरिरहेको छ।
'असार मसान्तसम्म सरकारले देशभरका निर्माण व्यवसायीलाई दिनुपर्ने रकम १ खर्ब हुन्छ। त्योसँगै यो बीचमा म्याद सकिएका ठेक्काको म्याद थप पनि गर्नुपर्ने छ। हामीले सरकारसँग यसबारेमा छलफल गरिरहेका छौ' उनले भने।
पछिल्लो समय लक्ष्यअनुसारको राजश्व संकलन नभएपछि नियमित आम्दानी तथा बजेटका स्रोतबाट जम्मा भएको रकमबाट भुक्तानी गर्न सरकारलाई समस्या भइरहेको छ। ठूलो चालु दायित्व भएको सरकारलाई विकास निर्माणका लागि रकम दिन झनै कठिन हुने अनुमान गरिकएको छ।
यद्यपी पछिल्लो समय व्यवसायीहरुले स्वतस्फुरत कर तिरिरहेका छन् भने केही सरकारी कोषबाट रकम तानेर भएपनि भुक्तानी गर्ने सरकारले तयारी गरिरहेको छ।