तुलसीपुर उपमहानगरपालिकामा औद्योगिक ग्राम स्थापना हुने भएको छ।
मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उपमहानगरपालिका र उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालयबीचमा औद्योगिक ग्राम स्थापनाका गर्नेबारे समझदारी पत्रमा हस्ताक्षर भएको हो।
हस्ताक्षर पत्रमा मन्त्रालयका तर्फबाट सहसचिव शोभाकान्त पौडेल र उपमहानगरपालिकाका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत आनन्द सारुले हस्ताक्षर गरेका छन्।
त्यसक्रममा उपमहानगरपालिकालाई ९२ लाखको चेक समेत हस्तान्तरण गरिएको उपमहानगरपालिकाका प्रेस सल्लाहाकार वसन्त आचार्यले जानकारी दिए।
हस्ताक्षर पत्रमा ३ महिनाभित्र विस्तृत परियोजना प्रतिवेदन बनाएर काम अगाडि बढाउने उल्लेख छ।
मन्त्रालयले पहिलो चरणमा मुलुकभरका ३२ वटा स्थानीय तहमा यो कार्यक्रम लागू गरेको छ।
दाङमा १० वटा स्थानीय तहमध्ये तुलसीपुरमा मात्रै यो कार्यक्रम लागू हुने भएको छ।
समझदारी पत्र हस्तान्तरण कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, राज्यमन्त्री मोतिलाल दुगड लगायतको सहभागिता रहेको थियो।