संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले भैरहवामा निर्माण भइरहेको अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग अवको ६ महिनाभित्र संचालनमा आउने बताएका छन्। राष्ट्रिय सभाको सार्वजनिक सरोकार समितिमा बोल्दै अधिकारीले अहिले निर्माण भइरहेको उक्त धावनमार्ग ६ महिनाभित्र संचालन हुने जानकारी दिए।
२०७६ को साउनदेखि व्यवासायिक उडान गर्ने घोषण गरेपनि २०७६ को माघ अघि संचालन नहुने भएको छ। यद्यपी धावनमार्ग बनेपछि अहिले भइरहेका आन्तरिक उडानका जहाज नयाँ धावनमार्गबाट उडान तथा अवतरण गराउने सरकारको तयारी रहेको छ।
धावनमार्गमा कालोपत्रे गर्नमात्र बाँकी रहेपनि विमानस्थलमा आवस्यक पर्ने ट्राफिक, संचारसँग सम्बन्धित साधन जडान गर्नको लागि भर्खर टेन्डर भएकोले ढिला हुने भएको छ। विमानस्थलको सिभिल वक्र्सको काम असारसम्म सकिएपनि बाँकी कामको टेन्डर भर्खर प्रकाशित हुँदा व्यवासायिक उडान ढिला हुने भएको छ।

२०७६ को जेठसम्मको समयसीमा पाएको चिनियाँ ठेकेदार कम्पनीले धावनमार्ग, टर्मिनल भवन, कन्ट्रोल टावर, धावनमार्गमा लाइटिङ सिस्टम बनाउनु पर्नेछ। उसले त्यहाँको भौतिक काम तोकिएको समयमा गरिसक्ने बताएको छ।
विमानस्थलमा उडान तथा अवतरणका लागि आवश्यक सञ्चार, सर्भि, नेभिगेशन तथा एयर ट्राफिक इक्यूपमेन्ट जडानको खरिद प्रक्रिया ढिला गरी सुरु हुँदा सरकारको योजना पुरा नहुने भएको छ।
टेन्डर निकालेको ९० दिन अर्थात् ३ महिनाको सुचना अवधि हुन्छ, त्यस्तै मूल्यांकनको लागि एक महिना रहन्छ। टेन्डर अवार्ड गर्दासम्म पाँच महिनाको समय लाग्छ। असोजमा टेन्डर आह्वान भएकोमा माघमा टेण्डर अवार्ड हुन्छ।
त्यसपछि आवश्यक इक्यूपमेन्टको निर्माण तथा तयारीको लागि कम्तीमा ४ महिना लाग्ने अधिकारीहरूको भनाइ छ। यसरी जाँदा जेठसम्म तयार हुनसक्छ।
‘जेठमा तयार भएपछि भदौसम्म त्यसको जडान कार्य तन्किन्छ भने कम्तीमा पनि १ महिना परीक्षण आवश्यक हुन्छ। त्यस हिसाबले कात्तिक÷मंसिर नभइ विमानस्थल तयार हुने अवस्था छैन’ प्राधिकरणका एक कर्मचारीले भने।