धितोपत्र बोर्ड नेपाल (सेबन) ले प्राथमिक सेयर (आइपिओ) निष्काशन गर्न ढिलाई गर्दा ऊर्जा क्षेत्रका लगानीकर्ताले मात्र एक खर्ब ८ अर्ब ५० करोड रुपैयाँ गुमाएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) ले जनाएको छ।
२०८० साल जेठपछि आइपिओ र राइट सेयर निष्काशनमा ढिलाई गर्दा ९७५ मेगावाट बराबरका आयोजना निर्माण गरिरहेका ४३ वटा आइपिओ र ७ राइट सेयर गरी ५० कम्पनीले निर्माण अघि बढाउन नसक्दा ठूलो रकम गुमाउनु परेको इप्पानको भनाइ छ।
इप्पानले गरेको अध्ययनको आधारमा बिहीबार सेबनलाई पठाएको पत्रमा गरी ५० कम्पनीको समयमै सेयर जारी नहुँदा २३ अर्ब २७ करोड ८ लाख बराबरको निष्काशन हुन नसकेको तथा समयमै जारी नभएको कारण १२ अर्ब ४० करोड ५४ लाखको ब्याज रकम बढेको, २४ अर्ब ३० करोड ६७ लाख लागत बढेको र ७१ अर्ब ७८ करोड ८१ लाख राजस्व आम्दानी गुमाउनु परेको उल्लेख छ।
पहिला लामो समय सेबनमा अध्यक्ष नियुक्ति हुन नसक्नदा अनुमतिमा रहेका कम्पनी थपिँदै जाने तर स्वीकृति नहुने समस्याले प्रक्रियामा रहेको संख्या निकै बढेको थियो।
सेयर निष्काशनका लागि ९० प्रतिशतभन्दा बढी नेटवर्थ हुनुपर्ने लगायतका कारण देखाउँदै सेबनले सेयर निष्काशनमा ढिलाई गर्दै आएको इप्पानले जनाएको छ। यस अवधिमा १० कम्पनीलाई मात्र आइपिओका लागि सेबनले अनुमति दिएको छ। ११ कम्पनीलाई राइट सेयरका लागि अनुमति दिएको छ।
बिहीबार इप्पान अध्यक्ष गणेश कार्कीले सेबनलाई लेखेको पत्रमा आइपिओको लागि आवेदन दिएर कुरिरहेको र आवेदकबाट हटाइएका लागि पुनः सहभागी गराई ती कम्पनीको तुरून्तै आइपिओ जारी गर्न पाउनु पर्ने माग गरिएको छ।
साथै, उत्पादन पछिको आइपिओ निष्काशन र छुट्टाछुट्टै आइजिन कार्यान्वयन नगर्न अनुरोध गर्दै समस्या समाधान नभए आन्दोलनमा जान बाध्य हुने उल्लेख गरिएको छ।
यसअघि पनि पटकपटक इप्पानले सेबनका साथै प्रधानमन्त्री र अर्थमन्त्रीलाई पत्र लेखेपनि हालसम्म सुनुवाई नभएको उल्लेख छ। नयाँ सरकार गठन भएपछि पुनः लामो समयदेखि रोकिएको सेयर निष्काशनलाई अघि बढाउन इप्पानले सेबनलाई पुनः पत्र पठाएको हो।