बाराको कलैयास्थित नेपाल विद्युत प्राधिकरण कलैया सब-स्टेसनमा पानी पसेका कारण सिम्रौनगढ क्षेत्रमा पनि विद्युत सेवा अवरूद्ध छ।
कलैया सब-स्टेसनको पानी कलैया उपमहानगरपालिकाको दमकल र मोटर लगाएर फालिएको छ। तर पनि कन्ट्रोल रूममा जमेको पानी बाँकी नै छ।
प्राधिकरणको सिम्रौनगढ सब-स्टेसनका प्रमुख तैयव अन्सारीले कलैया स्टेसनबाट सेवा सुरू भएपछि मात्र सिम्रौनगढ क्षेत्रमा विद्युत सेवा दिन सकिने जानकारी दिए।
'कलैया सब-स्टेसनमा पानी घटेको छ तर कन्ट्रोल रूममै पानी पसेकोले सेवा दिन सक्ने अवस्था छैन,' उनले भने।
कलैया सब-स्टेसनको कन्ट्रोल रूम अग्लो स्थानमा बनाउन आवश्यक देखिएको उनको भनाइ छ।
सब-स्टेसन बनाउँदा वरपर बस्ती र बाटो थिएन। अहिले बस्ती र बाटो बनेकोले स्टेसन भएको ठाउँ होचो भइसकेको छ।
'विगतमा पानी जमेका कारण समस्या भोग्नुपरेको थियो, यस वर्ष पनि समस्या देखियो। अब सब-स्टेसनको कन्ट्रोल रूम अग्लो स्थानमा बनाउनुपर्छ,' उनले भने।