मंगलबारदेखि सिमसिम परेको पानीले हाम्रो सडक पूर्वाधारको दुरावस्था पुनः सतहमा ल्याइदियो।
बिहीबारदेखि शुक्रबार बिहानसम्म २४ घन्टाको अवधिमा देशभर अधिकतम पानी परेको ११५.२ मिलिमिटर हो। उदयपुरको मुर्कुची बजारमा पछिल्लो २४ घन्टामा ११५.२ मिलिमिटर वर्षा मापन भएको छ। अन्यत्र सरदर १० देखि २० मिलिमिटरसम्म मात्रै वर्षा भएको छ।
त्यसो त बुधबारदेखि बिहीबारसम्म २४ घन्टाको अवधिमा इलामको बरफल्याङमा ११० मिलिमिटर वर्षा मापन भएको थियो। बुधबारदेखि बिहीबारसम्म पनि देशका केही स्थानमा सरदर ३० देखि ५० मिलिमिटरसम्म मात्रै वर्षा भएको थियो।
कोशीदेखि सुदूरपश्चिम प्रदेशसम्म परेको एक झर पानीले कर्णाली राजमार्ग अवरूद्ध नै हुन पुग्यो भने पृथ्वी राजमार्गसहित केही सडक एकतर्फी बन्यो। नेपाल प्रहरीका अनुसार कर्णाली राजमार्ग दुई ठाउँमा अवरूद्ध बनेको थियो। कालीकोटको रास्कोट नगरपालिका–८ सान्नी त्रिवेणी गाउँपालिका–३ सिस्नेमा पहिरो खसेपछि यातायात सञ्चालन हुन सकेन।
यी दुवै ठाउँमा प्रहरी र स्थानीयवासीले पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याए।
पृथ्वी राजमार्गको कृष्णभीर खण्ड भने अहिले पनि एकतर्फी नै छ।
काठमाडौंलाई पूर्वी नेपालसँग जोड्ने बिपी राजमार्गमा छिटपुट ढुंगा छर्नेबाहेक उल्लेख्य पहिरो नखसेको संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौंले जानकारी दिएको छ।
बिपी राजमार्गमा मर्मतको काम भइरहेको छ साथै निर्बाध यातायात सञ्चालन भइरहेको संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले बताएको छ।
पछिल्लो तीन दिनको झरीले अरनिको राजमार्ग अन्तर्गत सूर्यविनायक नगरपालिका–१० सूर्यमोड खण्ड, पाचालझर्ना गाउँपालिका–८ जाजरकोटको सुर्खेत–हुम्ला सडक खण्ड, बनगाड कुपिन्डे नगरपालिका–११ धारापानीको जाजरकोट सडक खण्डमा अवरोध पुर्याएको थियो।
भेरीगंगा नगरपालिका–११ साँकीखोलाको जाजरकोट सडक खण्ड, पूर्व–पश्चिम राजमार्गअन्तर्गत विनय त्रिवेणी गाउँपालिका–२ को दाउन्ने खण्ड, महाकाली नगरपालिका–५ स्थित गोकुलेश्वर–दार्चुला सडक खण्डमा अवरोध पुर्याएको थियो।
यी स्थानमा पनि यातायात सञ्चालनमा आएका छन्।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको दाउन्ने खण्डको सास्ती उस्तै छ। पानी पर्नुअघि धूलोले सवारी साधन आवतजावत कष्टकर बनाएको थियो। पानी परेपछि हिलोले यात्रा सकसपूर्ण तुल्याएन मात्र, बिहीबार सवारी आवागमन अवरूद्ध नै भयो। सवारी साधन हिलोमा फस्ने भएकाले अहिले पनि घन्टौंमा जाममा बस्नुपर्ने अवस्था रहेका यात्रुहरूले बताएका छन्।
वर्षातले हिलाम्य बनेपछि दाउन्ने खण्डमा बिहीबार रोकिएका सवारी साधन। तस्बिर: रासस।मनसुन बाहिरिने बेला गत असोज १० देखि १३ गतेसम्म अविरल रूपमा परेको पानी र त्यपछि आएको बाढी–पहिरोले मात्रै ४१ वटा सडक र राजमार्ग अवरूद्ध भएको थियो। १४६ वटा पुल तथा बेलिब्रिज क्षतिग्रस्त तुल्याएको थियो।
काठमाडौंको जीवनरेखा (लाइफलाइन) मानिएको सातैवटा राजमार्ग क्षतिग्रस्त बनेका थिए। ती सडक अहिले पनि मर्मत भइसकेका छैनन्।
काठमाडौं जोड्ने पृथ्वी राजमार्ग, सूर्यविनायक–धुलिखेल, पासाङ ल्हामु राजमार्ग राजमार्गमा विस्तार कार्य चलिरहेको छ। बिपी राजमार्ग, कान्ति लोकपथ, थानकोट–चित्लाङ, बल्खु–हेटौंडा लगायत काठमाडौं उपत्यका जोड्ने सडक मर्मतकै उपक्रममा छन्।
पृथ्वी राजमार्ग, पासाङ ल्हामु, सूर्यविनायक–धुलिखेल सडकको काम चालु आर्थिक वर्षमा सकिँदैनन्। बर्खामा यी राजमार्गहरूले यात्रामा दुःख थप्ने निश्चितै छ। मर्मत भइरहेको राजमार्गले पनि सास्ती घटाउनेमा शंका गर्नुपर्नेमा प्रशस्त ठाउँ छन्।
लामो खडेरीपछि वर्षात् हुँदा मनसुन याममै चिरा परेको ठाउँबाट पसेको पानीले कतिपय ठाउँमा सानोतिनो पहिरो चलाएको हुन सक्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले जानकारी दिए।
पछिल्लो तीन दिने वर्षातले ठूलो पहिरो ननिम्त्याएको उनले बताए। त्यसो हुँदा अहिले यातायात सञ्चालनमा ठूलो कठिनाइ छैन।
तर कतिपय ठाउँमा वर्षाकै बाढी–पहिरोले सडक भासिएको पहिचान भएको छ। ती स्थानमा भने वर्षा याममा ठूलै पहिरो जाने जोखिम छ। ती ठाउँमा बर्खाअगावै रोकथामको काम नहुने भने बर्खा सकसपूर्ण हुनेछ।
बर्खामा सडकको अवरोध हटाउन 'रेस्पोन्स टिम' बनाउनेमा छलफल
यसअघिको मनसुन याममा सडक डिभिजन कार्यालयमा निर्माण उपकरण र सामग्रीहरू तयारी हालतमा राखिने गरिएको थियो। राजमार्गमै एक्स्काभेटर, डोजर आदि उपकरण तयारी हालतमा राखिएको हुँदा अवरूद्ध भएको एक–दुई घन्टाभित्रै सञ्चालनमा ल्याउन कठिन नभएको सचिव शर्माले बताए।
यस पटक 'रेस्पोन्स टिम' नै बनाएर मनसुन याममा आवागमन सहज बनाउनेबारे छलफल भइरहेको उनले बताए।
'राजमार्ग हेर्ने सम्बन्धित सडक डिभिजन प्रमुखको नेतृत्वमा रेस्पोन्स टिम बनाउने, सडक डिभिजन तथा राजमार्गहरूमा एक्स्काभेटर, डोजर आदि उपकरण, निर्माण सामग्री; रोडा–बालुवा, ढुंगा, सिमेन्ट, तार जाली आदि तयारी हालतमा राख्ने र अवरोध भएको केही समयमै यातायात सञ्चालनमा ल्याउने गरी योजना बनाइरहेका छौं,' उनले भने।
संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौंका प्रमुख शुभराज न्यौपानेले पनि रेस्पोन्स टिम बनाएर बर्खामा यातायात सञ्चालनलाई सहज बनाउनेबारे छलफल भइरहेको बताए। सडक विभाग यसबारे छिट्टै निर्णयमा पुग्नेछ।
यस्तो रेस्पोन्स टिममा राजमार्ग हेर्ने सम्बन्धित सडक डिभिजन प्रमुख, योजना प्रमुख, त्यहाँका सुरक्षा निकायका अधिकारीहरू, उपकरण अपरेटरहरू सम्मिलित हुनेछन्। त्यसको समग्र समन्वय संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले गर्नेछ।
अहिले बिपी राजमार्गमा मर्मतको काम धमाधम चलिरहेको छ। दीर्घकालीन पुनर्निर्माणका लागि चार खण्डमध्ये तीन वटामा ठेक्का आह्वान भइसकेको छ। बर्खा अगाडि मात्रै ठेक्का लागेर निर्माण कम्पनी परिचालन हुने भएकाले आउँदो मनसुन याममा सडक सञ्चालनमा ल्याउन मिल्ने गरी खोला खार्ने (गहिर्याउने), अहिले पथान्तरण (डाइभर्सन) गरिएको सडकलाई पाँच–छ मिटरसम्म उचाल्ने र रोशी खोलालाई पुरानै बहावमा फर्काउने काम भइरहेको छ। १४ किलोमिटर खण्डमा वैशाख १५ गते अगावै ती काम गरिसक्ने सडक डिभिजन भक्तपुरको तयारी छ।
अहिले माटो भरेर उचालिएको डाइभर्सनले बर्खामा काम दिन्छ भन्ने छैन। पर्खाल नलगाइ माटो मात्रै उचालिएकाले नआए पनि खोलाको सामान्य बहावले नै कटान गर्ने समस्या छ। पिप्ले लगायत ठाउँठाउँमा पहिरोको जोखिम उस्तै छ।
त्यसैले बिपी राजमार्गको धुलिखेल–नेपालथोक खण्डमा बाढी–पहिरोले अवरोध पुर्याए अरनिको राजमार्ग, तेमालबेसी हुँदै सुनकोशी किनारै किनार अघि बढ्ने मध्यपहाडी लोकमार्ग भएर डाइभर्सन गर्ने गरी तयारी भइरहेको न्यौपानेले बताए।
गत असोजको बाढी–पहिरोले कान्ति लोकपथको १३ किलोमिटर खण्ड खण्डहर बनाएको थियो। अहिले मकवानपुरको भीमफेदी गाउँपालिका–८ महादेवटार र ललितपुरको बागमती गाउँपालिका बगुवा जोड्ने खोलामा बेलिब्रिज हालेपछि त्यहाँको आवागमन सहज हुने उनले बताए।
थानकोट–चित्लाङ सडकको पनि ठेक्का आह्वान भइसकेको छ। हेटौंडाबाट भीमफेदी हुँदै बल्खु जोड्ने फाखेल र सिस्नेरी दुवैतर्फको सडक पनि मर्मत भइरहेको छ। यी सडकले पनि वैकल्पिक मार्गको काम गर्नेछ।
'राजमार्ग अवरूद्ध भएमा सम्भावित डाइभर्सनहरूको पहिचान र त्यसका लागि तयारी गर्ने काम पनि भइरहेको छ। हाम्रा राजमार्गहरूका चरित्रका आधारमा पनि ठाउँ–ठाउँमा एक्स्काभेटर, डोजर लगायत उपकरण तयारी हालतमा राख्ने गरी योजना बनाउनेछौं र बर्खामा समस्या निम्तिन दिनेछैनौं,' उनले भने।
कृष्णभीरले दुःख दिन सक्छ यो बर्खा
विक्रम सम्वत् २०५० को दशकको अन्त्यतिर राजमार्गको सास्ती र गोताको विम्ब कृष्णभीर थियो। २०५७ सालको साउनको २७ गते कृष्णभीरमा २५० मिटर चौडाइ र २०० मिटर उचाइको पहिरो खस्दा पृथ्वी राजमार्ग ११ दिन ठप्प भएको थियो। काठमाडौं आउँदै र काठमाडौं जाँदै गरेकाहरू यात्रुहरू बाटैमा भात न पानीसँग रोक्किनुपरेको त्रासदीपूर्ण विगत मानिसहरूले बिर्सिइसकेका छैनन्।
झन्डै चार वर्ष लगाएर, ५ करोड ३४ लाख रूपैयाँ खर्चिएर बायो इन्जिनियरिङ विधिबाट उक्त पहिरो रोकथाम गरेपछि कृष्णभीरको पहिरो रोकिएको थियो। पहिराले थिलोथिलो बनाएको जमिन यथास्थानमा बसेको थियो।
यस पटक कृष्णभीर क्षेत्रमा दुःख ब्युँतिने सम्भावना देखिएको भौतिक पूर्वाधार तथा यातायात सचिव शर्माले जानकारी दिए। उनका अनुसार कृष्णभीरमा सडकको तल्लो भाग भास्सिन थालेको छ। साथै खोलाले कटान सुरू गरेको छ।
२०७० को दशकमै सडकको माथिल्लो भागमा समस्या देखापरेको पूर्वाधार विज्ञहरूले बताएका थिए। सडकको तलमाथिकै भागको पानी निकासको प्रबन्ध बिग्रिएकाले, बायो इन्जिनियरिङका संरचना नासिन थालेकाले जतिबेलै समस्या निम्तिन सक्नेतर्फ उनीहरूले सचेत गराएका थिए। सडक विभागको पर्याप्त ध्यान पुगेन।
नभन्दै त्यहाँको समस्या पुनरावृत्ति हुने तहमा पुगेको छ।
'त्यो ठाउँमा त्रिशूली नदीले तलबाट कटान गरेर पर्खालसमेत भत्काइसकेको छ। अहिले त्यहाँ सडक एकतर्फी बनेको छ। त्यहाँको समस्या पहिचान भइसकेकाले बर्खाअगाडि नै समाधान निकाल्छौं,' शर्माले भने।
यसबाहेक पृथ्वी राजमार्ग अन्तर्गत थाक्रे गाउँपालिकाभित्र पर्ने महेश खोलाको चार किलो भन्ने स्थानमा पनि समस्या देखिएको शर्माले बताए।
महेश खोला क्षेत्रमा करिब एक सय मिटरजति सडक भासिएको थाक्रे गाउँपालिका अध्यक्ष रामकुमार आचार्यले जानकारी दिए।
'गत असोज १०–१३ गतेसम्मको बाढीले धार्केनजिकै सय मिटर सडक भासिएको थियो। नाला पुरेर सडक दुईतर्फी बनाइएको थियो। भासिएको सडक नबनाइएकाले आउँदो बर्खामा पनि दुःख दिने देखिन्छ,' उनले भने।
नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत २६ किलोमा पनि सडक भास्सिएको छ। यो खण्ड पनि गत असोजकै वर्षातले क्षति पुर्याएको हो।
'२६ किलो खण्डमा त्यतिबेला सडक भासिएको देखिएको थिएन। दुई–तीन महिनापछि क्रमशः भासिन थाल्यो। उक्त खण्ड पनि बर्खा अगावै मर्मत गरिएन भने मनसुन याममा दुःख दिन्छ,' उनले भने।
त्रिभुवन राजपथ अन्तर्गत झ्याप्ले खोलामा यस वर्ष पनि ग्रेग्रानसहितको बाढीको उच्च जोखिम रहेको उनले बताए।
गत असोज १० देखि १३ गतेसम्म निरन्तर परेको पानीले धादिङ धुनिबेसी र चन्द्रागिरि नगरपालिकाको सीमा क्षेत्रमा पर्ने झ्याप्ले खोलामा पहिरो जाँदा तीन वटा सवारी साधन पुरिएका थिए। त्यसमा सवार ३५ जनाको मृत्यु भएको थियो।
नागढुंगा साढे दुई किलोमिटर पर मात्रै त्यत्रो त्रासदी निम्तिँदा सुरक्षाकर्मी पुग्न सकेका थिएनन्। खबर दिँदा पनि पुग्न नसकेको भन्दै सुरक्षाकर्मीको आलोचना भएको थियो।
झ्याप्ले खोलामा दुई दशकअघि; २०५९ साउन ६ गते पनि त्यस्तै पहिरो गएको थियो। त्यतिबेला एकै परिवारका तीनसहित ४ जनाको मृत्यु भएको थियो। पाँच जना बेपत्ता भएका थिए।
आउँदो बर्खामा पनि त्यहाँ पहिरो–गेग्रान बहावको सम्भावना रहेको शर्माले बताए।
गत बर्खायाममा असोज १०–१३ अगाडि पनि झ्याप्ले खोलाको माथिल्लो सडक खण्ड आसपास पहिरो गएको थियो। पहिरो पन्छाउँदा माटो खोल्सामै फालिएकाले गेग्रान बहावको रूप लिएको थियो।
थानकोट–झ्याप्ले खोलाको बाटाको 'राइट अफ वे' भन्दामाथि अहिले पनि जग्गा खण्डीकरण नरोकिएको शर्माले बताए। त्यहाँको माटो सडकमा आउने अवस्था छँदैछ। प्लटिङसम्म पुग्ने पहुँचमार्ग समेत बनाएकाले त्यसको माटोको व्यवस्थापन पनि यथोचित ढंगले नभएको शर्माले बताए।
त्यसभन्दा पनि ठूलो समस्या चाहिँ त्यस भेगकै पानीको निकास झ्याप्ले खोलाबाट मात्रै हुन्छ। अन्यत्र निकास पठाउने ठाउँ छैन।
'त्यसले गर्दा खोल्सालाई पानी चाप बढी पर्ने गरेको छ। बाटाको राइट अफ वेभन्दा माथि जग्गा प्लटिङ गर्ने क्रम चलिरहेकाले त्यहाँको माटो खोल्सामा आउने अवस्था छँदै छ। यस कारण झ्याप्ले खोलामा पुनः बाढी–पहिरोको जोखिम देखिएको छ। बर्खा अगाडि नै यस क्षेत्रको समस्या पनि हामी समाधान गर्छौं,' शर्माले भने।
शर्मालाई प्रश्न–दाउन्नेको दुःख कहिले हट्छ?
तीन दिन सिमसिम पानी परेकाले नारायणगढ–मुग्लिन सडक अन्तर्गत् दाउन्ने खण्ड दबदबे हिलोमा यात्रा गर्नुपर्ने अवस्था छ। दुई दिन अघिसम्म त्यहाँ धूलोले प्रताडित नै तुल्याएको थियो।
अप्ठ्यारो घुम्ती र धूलोका कारण सवारी गुड्न नसकेर घन्टौं जाममा बस्नुपर्ने अवस्था र त्यसले निर्माण कार्यमा नै बाध पुर्याएपछि चैत २७ गतेदेखि बिहान ११ बजेबाट दिउँसो ३ बजेसम्म सडक बन्द गरिएको छ। यो क्रम शनिबारसम्म रहनेछ। आइतबारबाट राति ११ बजेदेखि बिहान ५ बजेसम्म सडक बन्द गर्ने नारायणगढ–बुटवल सडक योजनाले बताएको छ।
सवारीले हिलो छिचोल्नै नसकेकाले अहिले दाउन्ने खण्डमा धमाधम ग्राभेल बिछ्याउने काम भइरहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव शर्माले जानकारी दिए।
दाउन्ने खण्डको भूबनोट 'मडस्टोन' प्रकृतिको छ। त्यस्तो माटोको बनोट हुनाले सुख्खा याममा धूलो थुप्रिने र पानी पर्नेबित्तिकै हिलो हुन्छ। गाडी त्यही दबदबे हिलोमा गाडिन पुग्छ।
कुल १३ किलोमिटर खण्डमा यस्तो जटिलता छ।
दाउन्ने खण्डमा तीन लेनको सडक विस्तार गर्ने कार्य भइरहेको छ। डाँडा कटिङ गर्नुपर्ने, टेवा पर्खालसहितको संरचना बनाउनुपर्ने हुनाले आवागमन सहज बन्न नसकेको शर्माले बताए। अझ लेन अनुशासन मिच्दै हुइँकिने साना सवारीले घन्टौं जाम गराउने शर्माले बताए। ठूला मालवाहक सवारी साधन बिग्रिए बाटो खुलाउनै कठिन हुने उस्तै समस्या छ।
उनका अनुसार त्यस खण्डमा मात्रै १२४ वटा बक्स कल्भर्ट बनाउनुपर्नेछ।
अत्यधिक धूलो उड्न थालेपछि ट्यांकरबाट पानी पनि हालिएको तर सुख्खा धेरै भएकाले त्यति बेला कामयावी नभएको उनले बताए।
बुधबार र बिहीबार दाउन्ने खण्डमा परेको पानीले बाटो हिलो बनाएकाले अहिले त्यसलाई सोहोरेर ग्राबेल बिछ्याउने काम भइरहेको उनले बताए।
'अहिले हिलो सोहोर्ने र त्यसमाथि ग्राभेल बिछ्याउने काम गरिरहेका छौं। कति खण्डमा ग्राभेल बिछ्याइयो भनेर दिनहुँ विवरण पनि मागिरहेको छु। यसले केही सहज गराउँछ। बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सवारी साधन रोकेकाले चाप पनि कम छ। यो समयमा निर्माण कार्यलाई तीव्रता दिइनेछ,' उनले भने, 'कल्भर्ट र टेवा पर्खा लगाउने काम सकिएपछि सब बेस र बेस बिछ्याउन थाल्छौं। त्यसपछि आवागमन सहज हुनेछ।'
उनले बर्खाअगावै दाउन्ने खण्ड सहज बनाउने पनि जानकारी दिए।
वर्षातले हिलाम्य बनेको दाउन्ने खण्डमा ग्राबेल हालिँदै। तस्बिरः सडक विभाग।बुटवल–नारायणगढ सडकको पूर्वी खण्डको ६३ किलोमिटरमध्ये ५० किलोमिटरमा एकतर्फी कालोपत्र भइसकेको छ। पश्चिमतर्फ पनि समानान्तर रूपमा काम भइरहेको उनले बताए।
दाउन्नेदेखि बुटवलसम्मको ४८.५ किलोमिटर पनि आधाभन्दा बढी एकतर्फी कालोपत्रे भइसकेको छ। दाउन्नेदेखि बर्दघाट र देवदहदेखि बुटवलसम्मको भाग बाहेक अरू भागमा एकतर्फी कालोपत्रे भइसकेको छ।
'बाँकी रहेको ठाउँमा पनि वर्षा अगावै एकतर्फी कालोपत्र गरिसक्नेछौं,' उनले भने, 'आउँदो बर्खामा नारायण–बुटवल सडकको आवागमन सहज तुल्याउँछौं।'
वर्षातले हिलाम्य बनेको दाउन्ने खण्डमा ग्राबेल हालिँदै। तस्बिरः सडक विभाग।यो पनि:
हिउँद घर्किन लागिसक्यो, लथालिंग छन् काठमाडौं जोड्ने सबै राजमार्ग
हिउँदमा खोलाबाटै काम चल्यो, बर्खामा के हुन्छ बिपी हाइवे?
अब पूरै सडक एकैपटक भत्काउन नपाउने, खण्ड-खण्ड स्तरोन्नति गर्नुपर्ने
बिपी हाइवे पुनर्निर्माण गर्न अर्थले गर्यो स्रोत सुनिश्चित, बर्खाअघि नै लाग्छ ठेक्का?
तीन वर्षमा पनि बन्न सकेन ४ किलोमिटर सडक, ठेक्का नै रद्द