प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समिति बैठक मंगलबार बस्दैछ। आज दिउँसो ३ बजे बस्ने बैठकमा हुलाकी, बिपी, अरनिको लगायत राष्ट्रिय राजमार्गहरूको अहिलेको अवस्थाबारे छलफल हुने संसद् सचिवालयले जानकारी दिएको छ।
यस वर्षको मनसुन याममा बाढी–पहिरोले बिगारेका राष्ट्रिय राजमार्ग अन्तर्गतका सडक खण्डहरू अहिलेसम्म पुनर्निर्माण भएको छैन।
काठमाडौं जोड्ने सातवटा सडकमध्ये अधिकांश बिग्रिएका छन्। सूर्यविनायक–धुलिखेल, कान्ती लोकपथ, पृथ्वी राजमार्गलगायत कतिपय राष्ट्रिय राजमार्ग विस्तारको क्रममा रहेकाले पनि आवतजावतमा सास्ती खेप्नुपर्छ।
गत असोजको बाढी–पहिरोले बिपी राजमार्गको करिब २८ किलोमिटर खण्डमा क्षति पुर्याएको थियो। यो सडक खण्ड पुनर्निर्माणका लागि करिब १० अर्ब रुपैयाँ लाग्ने अनुमान छ। अर्थ मन्त्रालयले साढे आठ अर्ब रुपैयाँको स्रोत सुनिश्चित गरिदिएपछि दुई खण्डको ठेक्का आह्वान भएको छ।
अरनिको राजमार्गमा ठाउँठाउँमा सडक खण्ड पुनर्निर्माण गर्नुपर्नेछ। अरनिको राजमार्गअन्तर्गतकै धुलिखेल–खावा चार किलोमिटर सडक तीन वर्षदेखि अलपत्र छ। करिब २३ करोड लागतको यो खण्ड निर्माण कम्पनीले काम नै नगरेपछि ठेक्का रद्द गरिएको छ।
करिब १६६३ किलोमिटरको हुलाकी राजमार्ग पनि निर्माणाधीन छ। कतिपय खण्डको काम अलपत्र रहेको भन्दै सार्वजनिक लेखा समितिमा छलफल हुन लागेको हो।