दाङको घोराही उपमहानगरपालिका–६ का गाउँबस्तीका सडक विस्तार हुँदा स्थानीयलाई सुविधा भएको छ।
चैनपुर– अघरा सडक वर्षौंदेखि ‘ग्राभेल’ मात्र थियो। अहिले पक्की नालासहितको सडक विस्तारले गाउँलेलाई हिँड्डुल गर्न सजिलो भएको हो।
सो सडकमा पक्की नाला र सडक विस्तार सकिएको छ।
घोराही उपमहानगरपालिका–६ अघराका रमा घर्ती घोराही बजार पुग्न आधा घण्टा पैदल हिँडेपछि मात्र गाडी भेट्ने ठाउँमा पग्थिन्।
अहिले गाउँको सडक नालीसहित विस्तार भएपछि घरमै अटोरिक्सा आउने गरेको उनले बताइन्।
स्थानीय सरकारले पूर्वाधार विकासमा जोड दिँदै गाउँलाई सडक सञ्जालमार्फत जोड्ने काम तीव्र रुपमा अघि बढाएका कारण सहज भएको उनले बताइन्।
सडक विस्तार भएसँगै गाउँघरको जीवनशैलीमा परिवर्तन आएको उनको भनाइ छ। गाउँघरमा उत्पादन भएका कृषिजन्य उत्पादन सजिलै सहरसम्म पु-याउन सकिने र आम्दानी गर्न सकिने उनले बताइन्।
अघरा–जजरागाउँ सडकमा पक्की नाला निर्माण र सडक विस्तार सकिएको छ।
सडक सञ्जालको विस्तारले शिक्षा र स्वास्थ्यमा सकारात्मक प्रभाव पारेको स्थानीय चन्द्रीका शर्मा बताउँछिन्।
वर्षामा हिलो र हिउँदमा धुलो उड्ने भएकाले बालबालिकालाई विद्यालय पुग्न असजिलो थियो। अहिले सडक बिस्तार भएसँगै सबैलाई सजिलो भएको उनले बताइन्।
गाउँमा सञ्चार, विद्युत्, खानेपानीका धारा घरघरमा पुगेका छन् ।
घोराही उपमहानगरपालिका–६ का अध्यक्ष विष्णुराम आचार्यले वडाभित्र सडक नपुगेका स्थानमा नयाँ ट्रयाक खोल्ने र भएका सडकमा स्तरोन्नति गरिरहेको बताए।
स्थानीय सरकारले स्थानीयस्तरमा आर्थिक वर्षश्यकतालाई प्राथमिकतामा राखेर काम गरेको उनको भनाइ छ।
त्यसैगरी आर्थिक वर्ष २०७९/८० मा १० किमि र आर्थिक वर्ष २०८०/८१ मा १८ दशमलव ८० किमि सडक कालोपत्रे भएको उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले जानकारी दिए।
उनका अनुसार सात वर्षमा कूल २१७.२५ किमि सडकको ग्राभेल तथा स्तरोन्नति गरिएको छ । त्यसैगरी एक सय ६८ किलोमिटर नयाँ सडकको ट्रयाक खोल्ने काम गरिएको छ।
उपमहानगरपालिकाले ७ मिटरका सडकहरुमा नालासहित कालोपत्रे गरिरहेको र नालासहित कालोपत्रे गर्दा ढल निकासमा सहयोग पुग्ने चौधरीले बताए।