दुरीका हिसाबले जम्मा चार किलोमिटर हो। विशालकाय पहरो भत्काउँदै बाटो छिचोल्नुपर्ने पनि होइन।
महत्त्वको कुरा गर्ने हो भने, धुलिखेलबाट पूर्व जाने यो सडक नेपाल–चीन जोड्ने व्यापारिक राजमार्ग त हुँदै हो; पूर्वी सिन्धुपाल्चोक, दोलखा, रामेछापलाई काठमाडौंसँग जोड्ने 'लाइफ लाइन' पनि हो।
यति हुँदाहुँदै अरनिको राजमार्ग अन्तर्गतको चार किलोमिटर बाटो चौडा पार्ने काम लगभग तीन वर्षदेखि पूरा भएको छैन।
हामी कुरा गर्दैछौं, धुलिखेल–खावा सडक खण्डको।
यहाँ चलिराखेको बाटोलाई दायाँतर्फ ढिस्को काट्ने र बायाँतर्फ केही ठाउँमा पर्खाल लगाएर चौडा गर्नुपर्ने थियो। यो बाटो पहिले ९ मिटर चौडा थियो। त्यसलाई बढाएर १२ मिटर बनाउने गरी ठेक्का लगाइयो। गिटी, बालुवा बोकेका ठूला गाडी धेरै गुड्ने भएकाले २० सेन्टिमिटर बाक्लो सिमेन्ट मिसाइएको बेस हाल्ने र दुई चरण (डिबिएम र आस्फाल्ट) कालोपत्रे गर्ने भनिएको थियो।
सडक विस्तारको काम २२ महिनाभित्र पूरा गर्ने गरी गौरी पार्वती निर्माण सेवाले ठेक्का पायो। २०७९ जेठ २० गते भएको ठेक्का सम्झौता अनुसार २०८० चैत १९ सम्म बनाइसक्नुपर्ने थियो।
यसबीच स्थानीयले पटकपटक आन्दोलन गरे। संसदको पूर्वाधार विकास समितिले अनुगमन गर्यो। तैपनि निर्माण कम्पनीले काम सक्न चासो देखाएन। झन्डै तीन वर्ष ठेक्का ओगटेर ३८ प्रतिशत पनि काम नगरेपछि आखिरमा गत फागुन १५ गते सडक डिभिजन भक्तपुरले ठेक्का नै रद्द गर्यो।
यसरी धुलिखेल–खावा खण्डले हाम्रो सार्वजनिक निर्माणको ऐना देखाइरहँदा यहाँ वास्तवमै के भएको हो भनेर हामीले निर्माण पक्षबाट कुरा सुरू गर्यौं।
ठेकेदार कम्पनीले हामीसँगको कुराकानीमा सडकको नक्सा र डिजाइन नै त्रुटिपूर्ण रहेको बताएको छ।
कम्पनीका प्रतिनिधि भरत थापाका अनुसार यो सडक खण्ड केही भिरालो भू–भागमा छ। सडकको दायाँतर्फ कमजोर चट्टानयुक्त पहाड छ। बर्खामा मात्र होइन, हिउँदमा समेत सुख्खा पहिरो खस्छ। यसबाहेक साना–ठूला ढिस्का धेरै भएकाले काम गर्न चुनौतीपूर्ण रहेको उनले बताए।
यति मात्र होइन, धुलिखेलबाट झर्दै गएपछि खावासम्मको भू–भाग सेपिलो छ। ठाउँ ठाउँमा साना–ठूला पानीका स्रोत भएकाले भित्तातर्फ पानी बगिरहन्छ।
-ink-1740822316.jpeg)
पहिले नाला र कल्भर्टको प्रबन्ध राम्रो नहुँदा सडकबाटै पानी बग्ने अवस्था थियो। २०७३ सालमा १५ करोड रूपैयाँ खर्चिएर धुलिखेलदेखि पाँचखालसम्म सडक स्तरोन्नति गरियो। तैपनि पानीको निकास व्यवस्थित नहुँदा सामानको भारी बोकेर रातबिरात हिँड्ने टिपरले बाटो क्षतविक्षत बनाए। त्यसैले गिटी, बालुवा बोक्ने टिपरको भार थाम्ने गरी सडक स्तरोन्नतिको ठेक्का लगाइएको हो।
'यस्तो भूबनोट भएको ठाउँमा बिनाअध्ययन तराईको समथर भू–भागजस्तो नक्सा र डिजाइन बनाएपछि काम गर्न अप्ठ्यारो हुने नै भयो,' थापाले भने, 'हामीले सडक डिभिजनलाई यो डिजाइन त्रुटिपूर्ण छ, सच्याउनुपर्छ भनेर पटक पटक भनेका थियौं। उनीहरू सुन्न तयार भए पो!'
यो डिजाइनमा आफूहरूले मात्र होइन, अर्को कुनै पनि ठेकेदार कम्पनीले संरचना तयार पार्न नसक्ने उनले दाबी गरे।
उनले यसका केही आधार पनि प्रस्तुत गरे।
पहिलो, यो सडक खण्डका लागि सडक डिभिजन भक्तपुरले तयार पारेको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) मा ४० हजार घनमिटर मात्र माटो कटान (डाँडा ताछ्ने) गर्नुपर्ने उल्लेख छ। काम गर्दै जाँदा दुई लाख घनमिटरभन्दा बढी माटो कटान भइसकेको छ।
'धुलिखेल–खावाजस्तो फुसफुसे माटोयुक्त अग्ला डाँडाहरूमा बाह्रैमास पहिरो झरिरहने समस्या देखिन सक्छ। यसलाई रोकथाम गर्न टेवा पर्खाल लगाउनुपर्छ,' थापाले भने, 'सडक डिभिजनले तयार पारेको डिजाइनमा टेवा पर्खालको संख्या अत्यन्तै कम छ।'
दोस्रो, बर्खा याममा माथिदेखि भेल आउन सक्ने भएकाले चेक ड्यामसहितको कल्भर्ट पनि निर्माण गर्नुपर्छ। डिजाइनमा भने कल्भर्टको सट्टा सामान्य ह्युमपाइप मात्र राखिएको थापाले बताए।
'हामीले सुरूमा ह्युमपाइप पनि राखेर हेर्यौं। बर्खामा सबै बगायो। केही ह्युमपाइप स्थानीयले उक्काएर फालिदिनुभयो,' उनले भने, 'उहाँहरूले ह्युमपाइप राख्ने खालको १२ वटा संरचनाको डिजाइन दिनुभएको थियो। हामीले यो काम लाग्दैन, कल्भर्ट नै राख्नुपर्छ भनेका थियौं।'
तेस्रो, केही ठाउँमा माटो कटान गर्दा दसौं वर्ष पहिरो जाने खतरा थियो। यस्तो अवस्थामा फेरि प्राविधिक आकलन गरेर काम अगाडि बढाउनुपर्थ्यो।
कटिङ नै नगरेको ठाउँमा पनि तीन हजार घनमिटर पहिरो गएर पन्छाउनुपर्ने अवस्था भएकाले यस्तो भूबनोट भएको ठाउँमा कसरी काम गर्ने भनेर प्राविधिक सल्लाह पनि मागेको उनले बताए। तर त्यसको सुनुवाइ भएन।
चौथो, सम्झौताभन्दा ४८० घनमिटरभन्दा बढी ग्याभिन वाल (तारजालीयुक्त पर्खाल) लगाउँदा पनि केही ठाउँमा पहिरो रोकथाम गर्न कठिन भयो।
तारजालीयुक्त पर्खाल लगाउँदा पनि पहिरो नथेगिएको र कतिपय ठाउँमा नयाँ पहिरो गएकाले मेसिनरी वाल लगाउनुपर्ने देखिएको भन्दै थप अध्ययनका लागि आग्रह गरेको उनले बताए।
यी त भए सडक डिजाइनका प्राविधिक त्रुटिको कुरा। यसबाहेक वन कार्यालयले १७ महिना रूख काट्न अनुमति नदिएको थापाले सुनाए।
थापाका अनुसार धुलिखेल–खावा खण्डमा ८४२ वटा रूख पर्ने र ती रूख काट्न वन कार्यालयसँग अनुमति माग्दा लामो समय अड्काएर राखियो। २२ महिनाभित्र निर्माण सक्नुपर्ने आयोजनामा रूख काट्ने अनुमति नै १७ महिनापछि पाएको उनले बताए।
-ink-1740822314.jpeg)
विस्तार भइरहेको खण्डमा खानेपानी पाइप र बिजुलीका खम्बा स्थानान्तरण हुन नसक्नाले पनि काममा व्यवधान खडा भएको उनको भनाइ छ।
'हामीलाई सबैतिरबाट एकोहोरो खेद्ने काम भयो। साइटमा देखिएका समस्या ज्युँका त्युँ छन्। त्यहाँको एउटा होटलले सडक विस्तारमा बाधा पुग्ने गरी २०८० कात्तिक २४ गते उच्च अदालत पाटनबाट अन्तरिम आदेश जारी गराएर ल्यायो। निषेधाज्ञा आदेश भएको ठाउँमा डाँडो कटानको काम नै गर्न पाएनौं, अनि कसरी अघि बढ्छ?' उनले भने।
गत असोजमा आएको बाढी–पहिरोको कहरले पनि सडक निर्माणमा समस्या ल्याएको उनी बताउँछन्।
असोज १० देखि १३ गतेसम्म बागमती र गण्डकी प्रदेशका केही भूभागमा अत्यधिक वर्षा भएको थियो। त्यो अवधिमा धुलिखेल–खावामा करिब २२५ मिलिमिटर (२४ घन्टा अवधिमा) पानी परेको र त्यसले बनिसकेका अधिकांश संरचना बिगारेको थियो।
'हामीले करिब २.५ किलोमिटर सडक खण्डमा सब–बेस र बेस बिछ्याएर कालोपत्र गर्न ठिक्क पारेका थियौं। वर्षाले सबै बगाइदियो। ठुल्ठूला पहिरा गए। ६० हजार घनमिटर पहिरो पन्छाउनुपर्ने अवस्था आयो। त्यसपछि कात्तिक ४ गते सडक डिभिजनलाई पत्र पठाएर भेरिएसन हुने हो कि होइन भनेर सोधेका थियौं। अहँ जबाफ पाएनौं,' थापाले भने।
सडक डिभिजन भक्तपुरले भने समयमा काम नसक्ने देखेपछि अघिल्लो माघ २० गते नै स्पष्टीकरण मागेको थियो। त्यति बेला पनि कार्यालयमा उपस्थित भएर वस्तुस्थिति जानकारी गराएको उनले बताए।
'अहिले पनि निरन्तर काम गरिरहेका थियौं। दुई महिनाभित्र कालोपत्रे गर्ने गरी काम सक्ने तयारीमा थियौं,' उनले भने, 'हिउँदमा कालोपत्रे गर्न तापक्रम पुग्दैन। अहिलेलाई बेस हालेर ठिक्क पार्ने र तापक्रम बढ्न थालेपछि कालोपत्रे गर्न थालिहाल्ने योजना थियो। त्यसबारे जानकारी पनि गराएका हौं। तर सडक विभागले एक्कासि ठेक्का रद्द गरिदियो।'
उक्त सडक खण्डमा ३८ प्रतिशत काम भएको र २८ प्रतिशत भुक्तानी लिएको पनि उनले दाबी गरे।
धुलिखेल–खावा सडक खण्ड २० करोड १९ लाख ४६ हजार ५०१ (भ्याटसहित) रूपैयाँमा ठेक्का लिए पनि भेरियसनका कारण २३ करोड हाराहारी पुगिसकेको छ। निर्माण कम्पनीले तीन करोडभन्दा बढी भुक्तानी लिन बाँकी छ।
'हामीले त्यो रकम पाउने अवस्था छैन। तैपनि हामी काम गरिरहेका थियौं। तपाईंहरूको डिजाइन नै त्रुटिपूर्ण छ भन्दाभन्दै ठेक्का रद्द गरियो,' उनले भने, 'अब हामी अदालत जान्छौं। यसबाहेक अर्को विकल्प छैन।'
सडक डिभिजन भने निर्माण कम्पनीका तर्क मान्न तयार छैन।
डिभिजन प्रमुख सुमन योगेश ठेकेदारको चरम लापरबाहीकै कारण धुलिखेल–खावा सडकको ठेक्का रद्द गर्नुपरेको बताउँछन्।
'काम गर्न नसकेर ठेक्का रद्द भएपछि डिजाइन गलत थियो भनेर हुन्छ?' डिभिजन प्रमुख योगेशले भने, 'उहाँहरूलाई के गर्न भनेको हो? बाटो कालोपत्रे गर्न भनेको होइन? त्यो उहाँहरूले गर्नुभयो त? उहाँहरूले काम गर्ने विश्वास दिलाउन सकेको भए यो अवस्था आउने नै थिएन।'
सडक डिभिजनले पटक पटक पत्राचार गर्दा पनि निर्माण कम्पनी सम्पर्कमा नआएको उनले बताए। पछिल्लो समय त निर्माण कम्पनीले कामै नगरेको र साइटमा भएका दुई–तीन जना कामदार पनि भागेपछि बाध्य भएर ठेक्का रद्द गर्नुपरेको उनको भनाइ छ।
'स्थानीय र त्यो बाटो हुँदै यात्रा गर्ने यात्रुहरूले मात्र दुःख पाएका होइनन्, यो त राष्ट्रिय मुद्दा नै बन्यो। चिसो मौसम भएकाले फागुन १५ सम्म पर्खिऔं, त्यसपछि पनि सम्पर्कमा नआए ठेक्का रद्द गर्छौं भनेर हामीले स्थानीय समेतलाई भनेका थियौं,' उनले भने, 'फागुन १५ पछि पनि काम गर्ने अवस्था देखिएन। त्यसपछि रद्दबाहेक अरू विकल्प भएन।'
निर्माण कम्पनीले भनेकै भरमा डिजाइन नबदलिने र यही डिपिआर अन्तर्गत रहेर छिट्टै अर्को ठेक्का लगाउने उनले बताए।
'अबको एक साताभित्रै प्रक्रिया सुरू हुन्छ,' डिभिजन प्रमुख योगेशले भने, 'कुनै कामको भुक्तानी बाँकी छ भने दाबी गर्न आउनुहोस् भनेका छौं। त्यसको म्याद बिहीबारसम्म बाँकी रहेकाले त्यसपछि नयाँ ठेक्का प्रक्रियामा जान्छौं।'
अहिले सबै सामग्रीको मूल्य बढेकाले धुलिखेल–खावा सडक खण्डको लागत ४० करोड रूपैयाँ हाराहारी पुग्न सक्ने उनको भनाइ छ।
***
-ink-1740822313.jpeg)
-ink-1740822314.jpeg)
-ink-1740822315.jpeg)
-ink-1740822316.jpeg)
-ink-1740822315.jpeg)
सबै तस्बिरः नेपाल फोटो लाइब्रेरी