यही साल असार २८ गते भरतपुर महानगरपालिका वडा नम्बर-२८ सिमलतालमा दुइटा यात्रुवाहक बस त्यहाँको सिन्दुरे खोल्साले बगायो। तीन यात्रुले भागेर ज्यान जोगाए। ६२ जनाभन्दा बढी बेपत्ता भए। २४ जनाको मात्रै शव फेला पर्यो।
वीरगञ्जबाट काठमाडौं आइरहेको र काठमाडौंबाट गौर जाँदै गरेको बस हिउँदमा मुट्ठीभरि पानी देख्न मुस्किल हुने खोल्साको भेलबाढीले त्रिशूलीमा खसालेको थियो।
यो थियो राजमार्गबाट खोलेको सहायक बाटो खन्दा निस्किएको माटो उचित ढंगले व्यवस्थापन नगर्दाको परिणाम। अनि मौसम विज्ञान विभागले ठूलो वर्षा हुने चेतावनी दिँदादिँदै सडक बन्द नगराउँदाको!
सिमलताल त्रासदी हाम्रो राजमार्गको सुरक्षाको स्तर र सरकारका निकायको लापरवाही देखाउन ऐना हो।
नारायणगढ–मुग्लिन सडक खण्ड हाल निर्माण पूरा भइसकेको छ। ठाउँ ठाउँमा पहिरोको जोखिम छँदैछ। ठाउँ ठाउँबाट सहायक बाटो खन्न नछाडिएको र निस्किएको माटो व्यवस्थापन सही ढंगले नगरिँदा त्यो भेलबाढीको स्रोत बन्ने जोखिम पनि छँदैछ।
मुग्लिन–नौबिसे–नागढुंगा खण्ड भने निर्माणाधीन छ। मुग्लिनबाट पोखरा जोड्ने पृथ्वी राजमार्ग पनि निर्माणकै चरणमा छ। त्यहाँ पूर्वी खण्ड करिब पूरा भइसकेको छ। पश्चिम खण्डले पनि विस्तारको गति लिएको छ। तर यहाँको दुर्दान्त कहालीलाग्दो छ।
असोज १० देखि १३ गतेसम्म परेको अविरल वर्षाले नागढुंगा नजिकै झ्याप्लेखोलामा सिमलतालकै नियति दोहोर्यायो। काठमाडौंतर्फ जाँदै गरेका हायस, माइक्रो हायस र बस पुरिए। तिनमा सवार ३५ जना यात्रुको शव भेटिएको थियो।
सिमलताल भवितव्यबाट पाठ सिकेर राजमार्गको सुरक्षामा ध्यान पुर्याउन सकेको भए क्षति न्यूनीकरण गर्न सकिन्थ्यो। एकातिर वर्षा नसकिएको समय, अर्कोतिर मौसम विभागले ठूलै पानी पर्छ भनेर जनाउ दिँदादिँदै राज्यका निकाय चनाखो नबन्दा ठूलो क्षति भयो।
अहिले हिउँद सकिँदै प्रि–मनसुन सुरू हुनै आँट्दा पनि केन्द्रीय राजधानी काठमाडौं जोड्ने राजमार्गको अवस्था ज्युँका त्युँ छ। ठूलो सास्ती झेल्दै काठमाडौं उपत्यका ओहोरदोहोर गर्नुपर्ने बाध्यतामा छन् यात्रु र सवारी चालकहरू।
विभिन्न नाकाबाट अहिले दैनिक झन्डै १९ हजार सवारी साधन काठमाडौं भित्रिन्छन्। ती सवारीमार्फत् दैनिक सरदर ६४ हजार जनाभन्दा बढी यात्रु काठमाडौं भित्रिने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ।
कार्यालयको तथ्यांक अनुसार काठमाडौं उपत्यकाबाट दैनिक झन्डै १३ हजार सवारी साधनमार्फत् साढे ६५ हजारभन्दा बढी यात्रु बाहिरिन्छन्।
यतिका धेरै सवारी र यात्रु आवतजावत गर्ने काठमाडौंको 'लाइफलाइन' मानिएका राजमार्ग भने एउटै पनि सद्दे छैनन्। कतिपय राजमार्ग विस्तार क्रममा र कतिपय वर्षाले बिगारेर लथालिंग छन्। यसले गर्दा जामको समस्या छँदैछ; सुख्खा पहिरोको जोखिम पनि उत्तिकै छ। केही दिनअघि सूर्यविनायक–धुलिखेल सडकको साँगा खण्डमा यस्तै समस्या देखिएको थियो। टेवा पर्खाल लगाउन खनिएको जगले डाँडै चिरा पारेर पहिरो खस्ने जोखिम बढाएको थियो।
प्रि-मनसुन सुरू हुन लागेका बेला काठमाडौं उपत्यका छिर्ने राजमार्गहरूको अवस्था कस्तो छ भनेर हामीले यो स्टोरीमा चर्चा गरेका छौं।
अस्तव्यस्त छ मुग्लिन–नागढुंगा
काठमाडौं छिर्ने महत्त्वपूर्ण नाका मुग्लिन–नागढुंगा सडक हो। माघ २३ गतेको तथ्यांक अनुसार यो नाकाबाट करिब साढे ३ हजार गाडी बाहिरिन्छन्, उति नै संख्यामा बाहिरिन्छन्। यी गाडीबाट झन्डै ३१ हजार यात्रु भित्रिन्छन्, यस्तै संख्यामा बाहिरिन्छन्।
कुल ९५ किलोमिटर लामो यो सडक खण्ड अहिले विस्तारको चरणमा छ। सात वर्षभित्र चार लेनमा स्तरोन्नति गर्ने सरकारको लक्ष्य छ। विश्व बैंकको सहयोगमा ७४ अर्ब ६५ करोड २७ लाख रूपैयाँ बजेट परिचालन गरेर स्तरोन्नति भइरहेको हो।
तीनवटा प्याकेज बनाएर कामलाई गति दिइरहेको सडक विभागले जनाएको छ। यहाँ अहिले पनि ठाउँठाउँमा पहिरो छन्। नागढुंगाबाट ओह्रालो झर्नेबित्तिकै यात्रु र सवारी चालकको सास्ती सुरू भइहाल्छ। यो सास्तीले मुग्लिनसम्म पछ्याइरहन्छ।
यो सडकमा कृष्णभीर लगायत पुराना पहिरा पनि छन्। सडकको चौडाइ विस्तार गर्दा ती पहिरो चल्ने सम्भावना छ। यो जोखिम न्यूनीकरण गर्ने गरी निर्माण कम्पनी परिचालन गरिएको संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयका सुपरिटेन्डेन्ट इन्जिनियर शुभराज न्यौपानेले जानकारी दिए।
'त्यो सडक खण्डमा बनाउनुपर्ने थुप्रै ठाउँ छन्। कल्भर्ट, नाला निकासको प्रबन्ध मिलाउनुपर्ने हुन्छ। हिउँदमा सुख्खा पहिरो खस्ने, बर्खामा पहिरो जाने हुन सक्छ। त्यसले आवागमन अवरूद्ध हुने भएकाले चालु ठेक्काबाटै ती काम पनि गराउने योजना छ,' न्यौपानेले सेतोपाटीसँग भने।
१३ किलोमिटर मर्मत गर्नुपर्ने छ कान्ति राजमार्ग
हेटौंडालाई काठमाडौंसँग छिटो र सहज रूपमा जोड्ने यो राजमार्ग २०१६ सालमै खुलेको हो। २०१३ सालमा तत्कालीन शाही सेनाले बनाउन सुरू गरेको यो सडक २०१६ सालमै बनेको थियो। २०५९ सालमा कोरियन सरकारको सहयोगमा विस्तृत सर्वेक्षण तथा डिजाइनको काम गरी विस्तृत परियोजना प्रतिवेदन तयार पारिएको थियो।
मकवानपुरतर्फ ५१ किलोमिटर र ललितपुरतर्फ ३९ किलोमिटर रहेको यो सडक काठमाडौं उपत्यका जोड्ने अर्को महत्त्वपूर्ण सडक हो।
गत असोजको अविरल वर्षाले यो सडकको ठाउँठाउँमा क्षति पुर्याएको छ। सडकको बागमती नदी खण्ड (मकवानपुरको भीमफेदी गाउँपालिका–८ महादेवटार र ललितपुरको बागमती गाउँपालिका बगुवा जोड्ने) मा बेलिब्रिजको ठेक्का निस्किएको इन्जिनियर न्यौपानेले जानकारी दिए।
गत बर्खामा घपेली–बगुवा खण्डको करिब १३ किलोमिटर सडकमा क्षति पुगेको थियो।
'अहिले यो सडक पुनर्निर्माणका लागि ५० करोड रूपैयाँ लाग्ने देखिएको छ। सोको माग गरेर हामीले अर्थ मन्त्रालयमा फाइल पठाउने तयारी गरेका छौं। केही दिनमै यसबारे निर्णय हुनेछ,' उनले भने।
कान्ति राजमार्गबाट अहिले दैनिक सरदर डेढ सय गाडीमा साढे पाँच सय यात्रु काठमाडौं भित्रिन्छन्। करिब १२० गाडीमा ४२० जना यात्रु बाहिरिन्छन्।
निर्माणाधीन सूर्यविनायक–धुलिखेल
सूर्यविनायक भएर काठमाडौं उपत्यकामा झन्डै ८ हजार सवारी भित्रिन्छन्।
भक्तपुर पूर्व काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, रामेछाप मात्र नभई देशको पूर्वी भेगबाट पनि गाडी भित्रिन्छन्। धुलिखेल–बर्दिबास जोड्ने बिपी हाइवेका गाडी पनि यही नाका भएर भित्रिने हुन्।
माघ २३ गतेकै तथ्यांक अनुसार भक्तपुरको जगाती नाकाबाट साढे ७ हजारभन्दा बढी गाडी भित्रिए जसमा झन्डै २५ हजार यात्रु थिए। बाहिरिने गाडी र यात्रुको संख्या पनि यस्तै छ।
अरनिको राजमार्गको खावा–धुलिखेल र बिपी राजमार्ग अन्तर्गत नेपालथोक–भकुन्डेबेँसी हुँदै आउने सवारी र यात्रुहरूले पाउने सास्ती वर्णन गरेर सकिँदैन।
धुलिखेल–खावा चार किलोमिटर सडक बनाउन २० करोड १९ लाख रूपैयाँ विनियोजन गरिएको थियो। २२ महिनामा सक्ने गरी २०७९ जेठ २० गते गौरी पार्वती निर्माण सेवासँग सम्झौता गरे पनि अहिलेसम्म काम भएको छैन। बर्खामा हिलाम्य भएर गाडी गुड्नै नसकेपछि स्थानीयले आन्दोलन समेत गरेका थिए। हिउँदमा पनि धूलो उडेर सकस छ। तैपनि निर्माणले गति लिन सकेको छैन।
सूर्यविनायक–धुलिखेलतर्फ भने साँगादेखि धुलिखेल र साँगादेखि सूर्यविनायकसम्म अलग अलग ठेक्का लगाएर काम भइरहेको छ। सूर्यविनायक– साँगा ७.५ किलोमिटर सडक तीन अर्ब ८८ करोड ९३ लाख लागतमा आशिषकुमार श्रेष्ठ बन्दन भगवती जेभीले ठेक्का सम्झौता गरेको छ। त्यस्तै साँगा–धुलिखेल ८.४ किलोमिटर सडक लामा कन्स्ट्रक्सनले ४ अर्ब पाँच करोड ६४ लाख रूपैयाँमा ठेक्का सम्झौता गरेको छ।
पुलका लागि छुट्टै ठेक्का लगाउनुपर्ने भएकाले यो सडक निर्माण सक्न करिब साढे १० अर्ब रूपैयाँ लाग्ने आयोजनाले जानकारी दिएको छ। सडकको भइपरी आउने मर्मत पनि उक्त ठेक्का रकमबाटै हुनेछ।
वारपार नै भत्काएर सडक निर्माण भइरहेकाले यात्रु, चालक र स्थानीयले सकस बेहोरिरहेको बनेपा नगरपालिकाका मेयर शान्तिरत्न शाक्य बताउँछन्।
'दिउँसोपख साँगामा सवारी जाम थपिएर अर्को सास्ती भएको छ,' उनले भने।
धुलिखेलबाट बर्दिबास जोड्ने १६० किलोमिटर सडकमध्ये भकुन्डेबेँसी–नेपालथोक खण्डमा ८.७ किलोमिटर रोशी नदीले बगाएको थियो। सो खण्डमा अहिले खोलैबाट काम चलाउ बाटो बनाइएको छ। अस्थायी रूपमा खोलिएको ट्र्याक जोखिममुक्त छैन। यात्रुहरू घन्टौं जाममा बस्नुपर्ने बाध्यता छ। सुख्खा पहिरो खस्ने सम्भावना उत्तिकै छ।
भकुन्डेबेँसी–नेपालथोक खण्डमा २८ किलोमिटर बाटो यही हिउँदमा मर्मत गर्नुपर्नेछ। अन्यथा बर्खामा गाडी गुड्न सक्दैनन्। तर सरकारले अहिलेसम्म ठेक्का प्रक्रिया अघि बढाएको छैन। मर्मत गर्न करिब १० अर्ब रूपैयाँ लाग्ने सडक विभागको अध्ययनबाट देखिएको छ।
नालासहित १० मिटर चौडा हुने यो सडकको सात मिटर चौडाइ कालोपत्र गरिनेछ। यसको विस्तृत परियोजना प्रतिवेदन तयार पारेर सडक विभागले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पेस गरिएको संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालयका सुपरिटेन्डेन्ट इन्जिनियर शुभराज न्यौपानेले बताएर।
यो प्रस्ताव केही दिनमा अर्थ मन्त्रालयमा पेस हुनेछ। अर्थले स्रोत सुनिश्चित गरेपछि ठेक्का प्रक्रिया अघि बढ्नेछ। यसरी हेर्दा, ठेक्का लाग्न कम्तीमा बर्खासम्म पर्खिनुपर्ने छ। यसको अर्थ, यो बर्खामा पनि यो रूटका सवारी चालक र यात्रुले सास्ती बेहोर्नुपर्ने निश्चित छ!
समस्याग्रस्त दक्षिणकाली हुँदै हेटौंडा जोड्ने सडक
कान्तिपथबाहेक काठमाडौं–हेटौंडा जोड्ने अरू तीनवटा सडक छन्।
- बल्खु–दक्षिणकाली–सिस्नेरी–कुलेखानी–भिमफेदी–हेटौंडा
- बल्खु–दक्षिणकाली–फाखेल–कुलेखानी–भिमफेदी–हेटौंडा
- चन्द्रागिरि–मार्खु–कुलेखानी–भिमफेदी–हेटौंडा
गत बर्खामा यी सबै सडकमा क्षति पुगेको थियो। अहिले चन्द्रागिरि–चित्लाङबाहेक अरू सडक बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले हेरिरहेको छ। मन्त्रालयले यी लगायत प्रदेश मातहतका सडकमा पुगेको क्षतिको विवरण यकिन गरी मर्मतका लागि आर्थिक मामिला तथा योजना मन्त्रालयमा पेस गरेको छ।
प्रदेशको भौतिक मन्त्रालयले बल्खुबाट हेटौंडा जोड्ने दुवै सडकको मर्मतका लागि करिब ६ करोड रूपैयाँ माग गरेको छ। प्रदेशभित्रका अरू सडकसहित कुल १५ करोड रूपैयाँ माग गरिएको मन्त्रालयका प्रवक्ता भूपेन्द्रकुमार यादवले जानकारी दिए।
'केही दिनभित्रै अर्थ मन्त्रालयले स्रोत सुनिश्चितको निर्णय गर्छ। त्यसपछि हामी मर्मतको प्रक्रियामा जान्छौं,' उनले भने।
असोजको बाढीले बल्खु–दक्षिणकाली–सिस्नेरी–कुलेखानी–भिमफेदी–हेटौंडा सडकको सिस्नेरी खण्ड कटान गरेको थियो। त्यहाँ बाढीले बगाएको करिब चार सय किलोमिटर सडक बनाउनुपर्नेछ। यसबाहेक यो खण्डमा अनगिन्ती साना–ठूला पहिरा छन्। त्यसलाई यही हिउँदमा रोकथाम नगरे बर्खामा समस्या बन्छ।
चन्द्रागिरि–चित्लाङ सडक मर्मतका लागि सडक विभागले १५ करोड रूपैयाँ माग गरी प्रस्ताव अर्थ मन्त्रालय पठाएको छ। यो सडक भएर दैनिक सरदर साढे चार सय गाडी र चार हजार यात्रु काठमाडौं भित्रिन्छन्। करिब पाँच सय गाडी र पाँच हजार यात्रु बाहिरिन्छन्।
विस्तारित हुँदैछ पासाङ ल्हामु राजमार्ग
विस्तारका नाममा सास्ती नै सास्ती थोपरिएको सडक हो पासाङ ल्हामु राजमार्ग।
बालाजु, रानीपौवा, त्रिशूली हुँदै रसुवाको स्याफ्रूबेँसी जोड्ने यो सडकको २०७१ सालबाट विस्तार थालिएको थियो। बालाजु–रानीपौवा १७.१ किलोमिटर एउटा खण्ड र रानीपौवा–त्रिशूली ३४.०९ किलोमिटर दोस्रो खण्ड बनाएर ठेक्का लगाइएको थियो। तर सम्झौता अनुसार काम भएन। गत वर्ष ठेक्का तोडेर नयाँ प्रक्रिया सुरू गरिएको छ।
सुरूमा २३.६ किलोमिटर सडक बनाउने गरी गत फागुनमा मोतिदान कन्स्ट्रक्सनलाई नयाँ ठेक्का दिइएको छ। कुल ७० करोड रूपैयाँ लागतको नयाँ ठेक्का अनुसार दुई वर्षभित्र काम पूरा गर्नुपर्छ। मुड्खु–तीनपिप्ले खण्ड भने छुट्टै ठेक्काबाट स्तरोन्नति भइसकेको छ।
मुड्खु भञ्ज्याङबाट अहिले दैनिक २ सयभन्दा बढी गाडी र एक हजार हाराहारी यात्रु काठमाडौं भित्रिन्छन्। बाहिरिनेको संख्या थोरै मात्र तलमाथि छ।
यसबाहेक काठमाडौंको उत्तरपूर्वी साँखुबाट पनि यात्रु काठमाडौं भित्रिन्छन्। यहाँबाट दैनिक साढे सात सय गाडीमा पन्ध्र सय हाराहारी यात्रु भित्रिन्छन्। साढे पाँच सय गाडीमा १८ सय यात्रु बाहिरिन्छन्।
काठमाडौं छिर्ने अर्को नाका सीतापाइला, रामकोटबाट दैनिक साढे चार सय गाडीमा १७ सय हाराहारी यात्रु भित्रिन्छन्। सरदर चार सय ३० वटा गाडीमा पन्ध्र सय यात्रु बाहिरिन्छन्।
यसरी दैनिक हजारौं गाडी र यात्रुको आवतजावत हुने सडकहरूको अहिलेको अवस्था नाजुक छ। यी सडकको अवस्था सुधार नभए, आउँदो बर्खामा सास्ती र क्षति दुवैको जोखिम उच्च छ।
हिउँद घर्किनै लाग्दा सडक नबनेको र यात्रुले सास्ती पाएको विषय सदनमा पनि उठ्न थालेको छ।
बिहीबार प्रतिनिधि सभा बैठकमा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बाढीले क्षति पुर्याएका सडक लगायत संरचना पुनर्निर्माणमा भइरहेको कामबारे जानकारी गराउन माग गरे।
'४१ वटा सडक खण्ड पुनर्निर्माण गर्न २५ अर्ब रूपैयाँ चाहिन्छ। जाजरकोटको भूकम्पको पुनर्निर्माण लगायत काम गर्न एक खर्ब रूपैयाँ चाहिन्छ। सरकारले बजेटमा २१ अर्ब रूपैयाँ छुट्टयाएको छ। पैसाबाट कहाँ ल्याउने भनेर सरकारले सोच्नुपर्नेछ। बर्खाका बेलामा बाटोहरू कसरी बन्छन्?,' उनले प्रश्न गर्दै भने, 'यसबारे गरिएका कामकुरा, स्रोत जुटाउनेबारे कसरी सोचिएको छ, यी सबैबारे सदनलाई जानकारी गराइयोस्।'
कांग्रेस नेता एवं अर्थशास्त्री विश्व पौडेलले पनि काठमाडौं जोड्ने सबै बाटा कहीँ न कहीँ खराब भएकाले आउँदो बर्खा झनै जोखिमपूर्ण हुने बताएका छन्। बिग्रिएका सडकका अस्थायी संरचना पनि ठूलो बाढी आए सबै एकैपटकमा बगाइदिने जोखिम रहेको उनले बताए।
'दैनिक हजारौं यात्रु हिँड्ने यी सडकमा काम गराइ अति नै ढिलो छ। पहिले पनि ढिलो हुने हो तर यो वर्ष स्थिति झन् जटिल छ,' उनले भने, 'प्रधानमन्त्री केपी शर्मा ओलीले अरू खुद्राखाद्री कुरा छाडेर दुर्घटनामुक्त सडक बनाउन ध्यान दिए केही होला कि!'
यो पनि पढ्नुस्- हिउँदमा खोलाबाटै काम चल्यो, बर्खामा के हुन्छ बिपी हाइवे?