नागढुंगा–नौबिसे सुरूङ मार्गको मुख्य सुरूङ सोमबार छिचोलिएको छ।
जापानी संस्कृति र नेपाली पक्षले हिन्दू परम्पराअनुसार सोमबार विशेष पूजा गरेर मुख्य सुरूङको 'ब्रेक थ्रु' गरिएको हो।
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले विद्युतीय स्वीच थिचेर ब्लास्टिङ गरी सुरूङ 'ब्रेक थ्रु' गरिएको हो।
२ हजार ६ सय ८८ लम्बाइको सुरूङमध्ये दुई मिटर खन्न बाँकी थियो। सोमबार दुई मिटर सुरूङ खनेर ब्रेक थ्रु गरिएको छ।
गत वर्ष फागुनमै सुरूङ खनिसक्ने योजना थियो। तर स्थानीय बासिन्दाले विभिन्न माग राखेर अवरोध गरेपछि केही समय धकेलिएको थियो।
यो सुरूङले काठमाडौंतर्फ बलम्बु र धादिङ सिस्नेखोलास्थित पृथ्वीराजमार्गलाई जोड्छ। सिस्नेखोलादेखि काठमाडौं बलम्बुसम्म अहिले सडकको दूरी ८ किमी छ।
सुरूङमार्ग बनेपछि सिस्नेखोला-बलम्बु दूरी ५ किमी हुन्छ। सिस्नेखोला-बलम्बु जोड्ने सुरूङ तयार गरेर २.८ किमी दूरी घटाउन लागिएको हो।
दूरीका हिसाबले सुरूङ मार्ग र अहिलेकै सडकबीच त्यति धेरै फरक नदेखिए पनि सुरूङ मार्गको प्रयोगबाट समयसँगै पेट्रोलियम पदार्थको पनि बचत हुने अपेक्षा छ।
सिस्नेखोलादेखि नागढुंगासम्म दिनहुँ सवारी साधन जाम हुने समस्या छ। सुरूङमार्ग सञ्चालनपछि यो समस्या हट्ने विश्वास छ। सुरूङमार्ग हुँदै काठमाडौंतर्फ आउँदा ३३ मिनेट र काठमाडौं बाहिर जाँदा २३ मिनेट समय बचत हुनेछ।
यो आयोजनामा एउटा मुख्य र अर्को उद्धार (रेस्क्यु) गरी दुइटा सुरूङ छ। रेस्क्यु सुरूङको लम्बाइ २,५,५७ मिटर छ। यो इभ्याकुएसन सुरूङ ब्रेक-थ्रु भइसकेको छ।
मुख्य सुरूङको दुवैतर्फ सवारीसाधन हुन्छन्। दुर्घटना भइहाल्यो भने तुरून्तै उद्धार गरिन्छ।
रेस्क्यु सुरूङ मुख्य सुरूङबाट ३० मिटर फरकमा छ। रेस्क्यु सुरूङमा सवारी गुड्ने सडक साढे चार मिटर चौडा हुनेछ। यो सुरूङमा भेन्टिलेटर र जेट फ्यानको सुविधा हुनेछ। आकस्मिक अवस्थामा प्रयोग हुने यो सुरूङमा दमकल, एम्बुलेन्स जस्ता साधन गुड्न पाउँछन्।
मुख्य सुरूङ र रेस्क्यु सुरूङमा विभिन्न ७ ठाउँमा क्रस प्यासेज राखिएको छ। सुरूङभित्र दुर्घटना भएको अवस्थामा वा अन्य आपतकालीन अवस्थामा ती क्रस प्यासेजबाट एम्बुलेन्स तथा दमकल जस्ता साधन आवतजावत गर्न सक्छन्।
आयोजनाको मुख्य सुरूङमा सवारी गुड्ने सडक साढे ९ मिटर चौडा हुन्छ। जसमा दायाँबायाँ साढे तीन/तीन मिटर र बीचमा तीन मिटर सडक छुट्टाछुट्टै रेखांकन गरिएको हुन्छ। बीचको तीन मिटर दुवै तर्फका सवारी साधनले प्रयोग गर्न सक्छन्।
कुनै सवारी बिग्रियो भने पनि छेउमा अड्याएर राख्ने ठाउँ होस् र अन्य सवारी सजिलै आवतजावत गर्न सकून् भनेर बीचमा ३ मिटर खाली राखिएको आयोजनाले बताएको छ। सुरूङको दायाँबायाँ पैदलयात्रीका लागि पेटी रहन्छ। पेटी दुवैतर्फ एक/एक मिटर उल्लेख गरिएको छ।
आयोजनामा तीन वटा अन्डरपास हुनेछन्। हाल तीन वटै पूरा भइसकेको आयोजनाले बताएको छ।
त्यस्तै बक्स कल्भर्ट चार वटै निर्माण सकिएको छ। एउटा ओभरपास पनि निर्माण भइसकेको छ। तीन वटै पुल निर्माण सकिएका छन्। फ्लाइओभर निर्माणको काम पनि अन्तिम चरणमा छ।
योजनाअनुसार खत्रीपौवामा ’रोड साइड सर्भिस स्टेसन’ रहन्छ। काठमाडौंबाट बाहिरिने र भित्रिने यात्रुका लागि कनेक्सन पोइन्ट हुने गरी स्टेसन बनाइने योजना छ।
यो स्टेसन एउटा पार्कजस्तै डिजाइन गरिएको छ। यात्रुहरूको विश्राम स्थलका रूपमा डिजाइन गरिएको यो स्टेसनमा रेस्टुरेन्ट, पार्किङ स्थल, शौचालय रहन्छन्। त्यहाँका स्थानीयले आफ्नो उत्पादन पनि बिक्री गर्न सक्छन्।
स्टेसन डिजाइन गरिएको स्थानमा जग्गा विवाद छ। जसले गर्दा यस्तो स्टेसन बनाउनका लागि स्थानीयको सहयोगको खाँचो देखिएको छ।
सवारी साधन कहिलेबाट गुड्न पाउँछन्?
सुरूङ छेडिनेबित्तिकै सवारी साधन गुड्न पाउँछ त? धेरैको जिज्ञासा छ। तर सुरूङ छेडिएपछि थप एक वर्षपछि मात्रै सवारी साधन गुड्न पाउने गरी निर्माण सकिने आयोजनाले बताएको छ।
यो आयोजना विकासका लागि जापान सहयोग नियोग (जाइका) को सहयोगमा २०६९ देखि २०७२ सालसम्म सर्वेक्षण गरिएको थियो।
आयोजनाको औपचारिक निर्माण २०७६ कात्तिक २८ गतेदेखि थालिएको हो। सडक विभाग र जापानी निर्माण कम्पनी हाज्मा आन्दो कर्पोरेसनबीच अप्रिल, २०२३ (४२ महिना) भित्र आयोजना निर्माण सक्ने गरी सम्झौता भएको थियो।
कोभिड महामारीका कारण पनि आयोजना निर्माण काम पछाडि धकेलिएको भन्दै ठेकेदार कम्पनी हाज्मा आन्दो जेभीले ४१६ दिन म्याद थप प्रस्ताव गरेको थियो।
आयोजना कार्यालयले ८६ दिन म्याद थप गरेको थियो। म्याद थपपछि आयोजना थपिएको समयअनुसार जुलाई, २०२३ भित्र उक्त आयोजना बनिसक्नुपर्ने थियो। उक्त अवधिमा पनि काम नसकिएपछि २५ अप्रिल २०२४ सम्मका लागि म्याद थपिएको छ। पछिल्लो म्याद सकिन पनि अब १० दिन मात्रै बाँकी छ।
आयोजनाले अझै एक वर्ष म्याद थप गर्न माग गर्ने बताएको छ।
सुरूङ मार्गबाट कस्ता सवारी गुड्न पाउँछन्?
सुरूङ मार्ग बनिसकेपछि सबै किसिमका सवारी साधनले यहाँबाट गुड्न पाउने छैनन्।
दुई पांग्रे (मोटरसाइकल स्कुटर) लाई सुरूङ मार्गबाट आवतजावत गर्न दिइने छैन। आयोजनाका अनुसार पेट्रोलियम पदार्थ बोकेका ट्यांकरहरू, ग्यास बोकेका सवारी सुरक्षाका हिसाबले सुरूङबाट जान पाउँदैनन्।
यस्ता सवारी साधन अहिलेकै सडक प्रयोग गरेर गुड्नुपर्छ। त्यस्तै मापदण्डभन्दा बढी ठूलो आकार बनाएर सामग्री बोकेका मालबाहक ट्रकहरू पनि सुरूङ मार्ग प्रयोग गर्न पाउँदैनन्।
सुरूङबाट मापदण्डअनुसार सामग्री बोकेका मालबाहक ट्रक, एम्बुलेन्स, दमकललगायत खतरारहित सवारी साधनहरू गुड्न पाउनेछन्।
सुरूङ प्रयोग गर्ने सवारी साधनले छुट्टै शुल्क तिर्नुपर्ने!
सुरूङ मार्ग प्रयोग गर्ने सवारी साधनहरूले छुट्टै शुल्क तिर्नुपर्नेछ। सुरूङ प्रयोग गर्दा हुने समय तथा पेट्रोलियम पदार्थ बचतलाई आधार बनाइ शुल्क निर्धारण गरिने उल्लेख छ।
जाइकाले ऋण लगानी गर्दा नै पैसा कसरी उठाउने भन्ने कुरा उठेको थियो। टनेल प्रयोग गर्दा अर्थतन्त्रमा परेको प्रत्यक्ष र अप्रत्यक्ष लाभलाई आधार बनाएर शुल्क उठाउने र यसबाट क्रमशः ऋण तिर्ने कुरा सम्झौतामा उल्लेख छ।
आयोजनाको नियमित सञ्चालन खर्चका लागि पनि शुल्क उठाउनुपर्ने आवश्यकता औंल्याइएको छ। शुल्क के कति भन्ने खुलाइएको छैन।
यो आयोजनाको कुल लगानी २२ अर्बभन्दा बढी लाग्ने अनुमान छ। कूल लागतमध्ये १६ अर्बभन्दा बढी जाइकाले सहुलियत ऋण उपलब्ध गराएको छ। यसको ब्याजदर ०.०१ प्रतिशत छ।
सुरूको १० वर्ष मिनाहासहित चुक्ता समय ४० वर्ष छ। नेपाल र जापान सरकारबीच २२ डिसेम्बर २०१६ मा सहुलियत ऋण सम्झौता भएको थियो। ६ अर्बभन्दा बढी सरकारको लगानी छ।