सुन अभावले काम गर्ने वातावरण नबनेको भन्दै केही साताअघि बुटवल, चितवन लगायत सहरमा सुनचाँदी व्यवसायीले विरोध जनाए।
उनीहरुले पसल नै बन्द गरेर अवस्था उस्तै रहे नखोल्ने चेतावनी दिए। विरोध स्थगित गर्न सुनचाँदी व्यवसायी महासंघले औपचारिक रुपमा आग्रह गर्यो। व्यवसायी केही मत्थर त भए, सुन अभाव भने झनै बढेको उनीहरुको गुनासो छ।
तीज नजिकिँदै गर्दा दैनिक औसत ५० केजी माग भए पनि २० केजीले धान्नुपर्ने अवस्था भएको व्यवसायी बताउँछन्। ‘अहिले मैले नै ग्राहकलाई अर्डरअनुसार सुन दिन नसकेर फर्काउन परेको छ’ महासंघका पूर्व अध्यक्ष मणिरत्न शाक्यले भने।
ग्राहकको आर्थिक स्तर बढेकाले चाडपर्व बेला माग अत्यधिक हुने उनले बताए।
‘भुइँचालो बेला कतिपयको गरगहना हरायो। पुरियो। यतिबेला उनीहरू पनि जोडजाममा लागेकाले माग बढेको हो’ शाक्यले थपे। खासगरी तीज, दसैं, तिहार र विवाह लगन बेला सुन अभाव हुने शाक्य बताउँछन्।
आयात गर्न दिइएको २० केजी कोटा बढाउन महासंघले राष्ट्र बैंकलाई दवाव दिएपछि बैंकले चाडपर्व बेला आयात कोटा ३० केजीसम्म पुर्याउन सक्नेगरी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा प्रस्ताव पठाएको छ।
चाडपर्व बेला दैनिक ३० केजीसम्मको परिमाण आयात गर्न सक्नेगरी स्वीकृतिका लागि मन्त्रालयलाई पत्र पठाइएको डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले जानकारी दिए।
‘चाडपर्व बेला ५ केजी बढी ल्याउन सक्ने व्यवस्था नै बढाएर १० केजीसम्मको व्यवस्था गर्न मन्त्रालयसँग स्वीकृति मागिएको छ’ सिवाकोटीले भने ‘स्वीकृति भए मात्रै त्यो लागू हुने हो।’
यदि राष्ट्र बैंकको प्रस्ताव स्वीकृत भए चाडपर्व बेला बैंकहरुले दैनिक ३० केजीसम्म सुन आयात गर्न सक्नेछन्। चार्डपर्व लक्षित गर्दै राष्ट्र बैंकले १ वर्षअघि बैंकहरुलाई दैनिक ५ केजी बढी अर्थात २५ केजीसम्म आयात गर्न पाउने व्यवस्था गरेको थियो।
माग बढेका बेला दैनिक २० केजीका हिसाबले एक महिनासम्मको परिमाण एकमुष्ठ आयात गर्न सक्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ। माग र आपूर्तिको सही सम्वोधन गर्न राष्ट्र बैंकले यो व्यवस्था गरे पनि सहज नभएको व्यवसायी बताउँछन्। बैंकहरुले नाफाअनुकूल समय खोज्दा सिजनमा भनेजति सुन नपाएको व्यवसायीको आरोप छ।
एकातिर डलरको मूल्य बढ्दै गएकाले ब्यापार घाटा चुलिने स्थिति छ। अर्कोतर्फ सुन आयात बढाउँदा थप भार पर्नेछ। यसकारण मन्त्रालयले सुन आयात परिमाण अहिलेको अवस्थाबाट बढाउन नसक्ने संभावना उत्तिकै छ।
‘व्यापार घाटा चुलिँदै गए, लक्जरियस सामानको समेत आयात घटाउनुपर्ने हुन सक्छ’ सिवाकोटीले भने ‘अहिलेकै अवस्थामा सुन आयात बढाउन मन्त्रालयले उपर्युक्त नठान्न पनि सक्छ।’
राष्ट्र बैंकको तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा ३२ अर्ब २० करोड रुपैयाँको सुन आयात भएको छ। बर्सेनी सुन आयात बढ्दै गएको पनि तथ्याङ्कले देखाउँछ। अघिल्लो आवमा २७ अर्ब ४३ करोड रुपैयाँको सुन भित्रिएको थियो।