सामसुङको हालसम्मकै ठूलो डिस्प्ले भएको ‘नोट ८’ मा दुई क्यामरा, के छन् अरू विशेषता?


सामसुङले आफ्नो बहुप्रतिक्षित फ्ल्यागसिप फोन ‘ग्यालेक्सी नोट ८’ सार्वजनिक गरिसकेको छ। आफ्नो बिग्रिएको छवि उकास्न कम्पनीले ‘नोट ८’ मा उत्कृष्ट विशेषता र सुविधा दिएको छ।

‘नोट ७’ को ब्याट्रीमा समस्या देखिएपछि कम्पनीले सो मोडल बजारबाट फिर्ता लगेको थियो भने उसको बिक्री दर निरन्तर ओरालो लागेको थियो।

तर यसै अंग्रेजी वर्ष ‘एस ८’ र ‘एस ८ प्लस’ ल्याएसँगै फोनको पहिलो ८ महिनाको विक्रीदर गत वर्षको यसै अवधिमा भन्दा ७.५ प्रतिशतले बढेको छ।

हालै सार्वजनिक गरिएको ‘नोट ८’ मा निकै आकर्षक र अपग्रेड गरिएका विशेषता र सुविधा छन्। यसै कारण यसले राम्रो बजार लिन सक्नेमा कम्पनी तथा प्रविधि विश्लेषहरु आशावादी देखिएका छन्।

के छन् विशेषता?

डिस्प्लेः
सामसुङ ‘नोट ८’ मा ‘एस ८’ र ‘एस ८ प्लस’ मा झैं इन्फिनिटी डिस्प्ले (बेजल लेस, फुल फ्रन्टल ग्लास तथा एज टु एज स्क्रिीन) छ। त्यस्तै यसमा भएको ६.३ इन्चको फुलएचडी सुपर एमोलेड डिस्प्ले सामसुङका मोडलमै हालसम्मको ठूलो हो।

यसमा ‘मल्टी विन्डो मोड’ छ जो अन गरेपछि एकै समयमा दुई एपहरु खोल्न सकिन्छ।

फोन पानी र धुलो दुवैले असर नगर्ने प्रविधि (वाटर र डस्ट प्रुफ) भएको कम्पनीको दावी छ।

एस पेनः
‘नोट ८’ को अर्को आर्कषक विशेषता हो, एस पेन। यसमा समावेश एस पेनको सहायताले डिस्प्लेमा लेख्न सकिनेछ जसले स्क्रिनमा लेखिरहनुपर्ने वा औँला चलाईरहनु पर्ने झन्झट हुँदैन।

त्यस्तै यसबाट फोनको लक नखोली डिस्प्लेमा लेख्न सकिन्छ भने आफूले नबुझेको कुरा अनुवाद (ट्रान्स्लेट) समेत गर्न सकिन्छ। एस पेनमा पनि पानी र धुलो दुवैले असर नगर्ने प्रविधि छ।

क्यामराः
सामसुङले ‘नोट ८’ मार्फत क्यामरामा निकै सुधार गरेको छ। पछाडि दुई वटा क्यामरा हुने सामसुङको पहिलो मोडल ‘नोट ८’ नै हो।

यसको पछाडि १२ मेगापिक्सेलका दुईवटा र अगाडि ८ मेगापिक्सेलको एक क्यामरा छ।

दुई क्यामरामा एफ १.७ अपेचर लेन्ससहित दुई पिक्सेल सेन्सर छन्।

फोनको भिडियो रेकर्डिङ प्रविधि पनि उत्कृष्ट छ। फोनको अगाडि र पछाडिका दुवै क्यामराले फोरके भिडियो रेकर्ड गर्न सक्छन्।

साथै फोनमा फेस डिटेक्सन, अटोफोकस मोड, प्लेब्याक मोड, एलइडी फ्लयास् लगायतका सुविधा छन् जसमार्फत प्रकाश वा उज्यालो कम हुँदा वा राति पनि उत्कृष्ट फोटो खिच्न सकिने कम्पनीको दावी छ।

पफर्मेन्सः
फोनमा एन्ड्रोइड नगेट ७.१ अपरेटिङ सिस्टम छ।

यसको र्याम ५ जिबि छ भने यो ६४, १२८ र २५६ जिबि संस्करणमा उपलब्ध छ।फोनको पछाडि फिंगरप्रिन्ट (औंला) र अगाडि आइरिस (आँखा) स्क्यानर छ।

यसमा ‘बिक्सबी’ विकल्प पनि छ जसले प्रयोगकर्ताको आवाजको भरमा फोनभित्र एप, सेटिङ लगायत खोल्न सक्छ।

ब्याट्रीः
फोनको अर्को आर्कषक पक्ष भनेको यसको ब्याट्री हो। वायरलेस ब्याट्री चार्जिङ सुविधा भएको यसमा कुनै तार बिना नै ब्याट्री चार्ज गर्न सकिन्छ। यसमा ३३०० एमएएच क्षमताको ब्याट्री छ।

यो फोन कालो, निलो, खरानी र सुनौलो गरी चार रङमा उपलब्ध छ। सामसुङले अन्तर्राष्ट्रिय बजारमा ‘नोट ८’ सेप्टेम्बर १५ बाट उपलब्ध हुने बताएको छ। नेपालमा यो फोन त्यसै समयमा आउने आकलन छ। फोनको सुरुवाती मूल्य ९३० अमेरिकी डलर अर्थात करिब ९५ हजार रुपैयाँ हुने बताइएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.