दक्षिण कोरियाली कम्पनी सामसुङले आफ्नो फ्ल्यागसिप फोन ‘ग्यालेक्सी नोट ८’ बुधबार सार्वजनिक गर्ने भएको छ। कम्पनीले आज राति ९ बजेतिर एक विशेष समारोहबीच न्यूयोर्कमा सो फोन सार्वजनिक गर्ने प्रविधिसम्बन्धि समाचारमाध्यमले जनाएका छन्।
ग्यालेक्सी नोट ८ का विशेषताबारे पहिलेदेखि नै जानकारीहरु बाहिरिने र अनुमान गर्ने काम भइरहेको छ। सार्वजनिक हुनु केही घण्टा अघिसम्मका प्राप्त सबै जानकारीका आधारमा समाचारमाध्यमहरुले यसका केही विशेषता उल्लेख गरेका छन्। जसअनुसार यसको डिस्प्ले ६.४ इन्च हुनेछ भने यो दुई संस्करणमा आउनेछ।
एक संस्करणमा क्वालकम स्न्यापड्र्यागन ८३५ चिपसेटका साथमा एड्रिना ५४० जीपीयू प्रोसेसर हुनेछ भने अर्कोमा एक्सनोस ८८९५ चिपसेटका साथमा माली जी ७१ जीपीयू हुनेछ।
फोनमा ६ जिबि र्याम हुनेछ भने इन्टरनल मेमोरी ६४, १२८ र २५६ जिबिको विकल्पसहित आउनेछ।
१३ मेगापिक्सल क्यामरा भएको फोनमा ३३०० एमएएच पावरको ब्याट्री हुनेछ।
नोट ८ ले एन्ड्रोइड नगेट ७.१.१ अपरेटिङ सिस्टममा काम गर्नेछ।
यसको मूल्यबारे पनि विश्लेषहरुले आकलन गरेका छन्। ६४ जिबिको करिब ९७ हजार, १२८ जिबिको १ लाख १० हजार र २५६ जिबिको १ लाख २४ हजार रुपैयाँ पर्ने अनुमान छ। तर, देशअनुसार यो मूल्यमा धेरै फरक आउनसक्नेछ।
सामसुङका नोट सिरिज फोन निकै रुचाइएका भएपनि नोट ७ को ब्याट्रीमा आएका खराबीका कारण यसको छवि बिग्रिएको थियो। कम्पनीले आफूले बेचेका सबै फोन फिर्ता लिएर अर्कोसँग साटिदिएको थियो।
केही समय उत्पादन नै बन्द गरेर नयाँ नोट ७ कम्पनीले बजारमा ल्याएपनि यसले खास प्रभाव पार्न सकेन। कम्पनीले नोट ७ बाट निकै घाटा बेहोर्नु परेको थियो।
अब नोट ८ बाट कम्पनीले बिग्रेको आफ्नो छवि सुधार्ने र गुणस्तरमा ग्राहकको विश्वास जित्ने आशा गरेको छ। यसका लागि कम्पनीले नोट ८ लाई विशेष बनाउन निकै मिहेनत गरेका बताइएको छ।
यसले ग्राहकलाई कति आकर्षण गर्न सक्छ भन्ने त फोन बजारमा आइसकेपछि नै थाहा हुनेछ।