गत साता मात्रै अमेरिकी टेक कम्पनी एप्पलले नयाँ आइफोनहरू सार्वजनिक गर्यो। कम्पनीले आइफोन-१४ का विभिन्न चार मोडल ल्याएको छ। यी फोनमा सिम कार्ड चल्दैन र हाल्ने ठाउँ पनि छैन।
अमेरिकाका लागि यिनमा इ-सिम मात्रै लाग्ने गरी ल्याइएको हो। अमेरिकाबाहेक अन्य देशका लागि दुवै प्रकारको सिम हाल्न मिल्ने संस्करण कम्पनीले उत्पादन गरेको छ।
इ-सिमको पूरा रूप इम्बेडेड सबस्क्राइबर आइडेन्टिटी मोड्युल हो। बोलिचालीको भाषामा यसलाई इलेक्ट्रिक सिम पनि भन्न सकिन्छ।
यस्तै इ-सिम अब हामीकहाँ पनि आउने भएको छ। नेपाल टेलिकमले इ-सिम लाग्ने फोनहरू लक्षित गर्दै इ-सिम ल्याउने तयारी गरेको हो।
यही वर्ष कम्पनीले इ-सिम सार्वजनिक गर्ने गरी काम भइरहेको टेलिकमका प्रवक्ता शोभन अधिकारीले बताए।
'वितरण पनि यसै वर्ष सुरू गर्ने तयारी छ,' प्रवक्ता अधिकारीले भने, 'छिट्टै सुरू गर्छौं होला। तर दसैंअघि नै हुने भन्ने खबर चाहिँ हल्ला हो। यकिन भन्न सकिँदैन। कामहरू बाँकी छ।'
उनका अनुसार अहिले इ-सिम परीक्षणको अन्तिम चरणमा छ। सबै परीक्षण सकिएपछि मूल्य तोकेर वितरण सुरू गरिनेछ।
इ-सिमले मोबाइल सेटलाई दूरसञ्चार सेवा प्रदायक कम्पनीको नेटवर्कसँग कनेक्ट गर्छ। अहिले प्रयोगमा भएका सिमकार्ड मोबाइलमा राखेपछि नेटवर्कसँग कनेक्ट हुन्छ। इ-सिम भने मोबाइल सेटमै इम्बेड हुने उनले बताए। इम्बेड भएकाले सानो भए पनि यो हराउने, भाँचिने चिन्तै भएन। त्यस्तै यसको प्रतिलिपि नम्बर पनि निकाल्न मिल्दैन।
'फोन हराए इ-सिमको मद्दतले फोन कुन ठाउँमा छ भन्ने पत्ता लगाउन पनि तुलनात्मक रूपमा सजिलो हुन्छ,' अधिकारीले भने।
आइफोन-१४ का फोनहरू नेपालमा पनि आउनेछन्। यिनमा हामीले चलाउँदै आएको सिमकार्ड र इ-सिम दुवैको व्यवस्था हुने नेपालका लागि एप्पलको आधिकारिक वितरक जेनेरेसन नेक्स्ट कम्युनिकेसनका बिक्री तथा मार्केटिङ प्रमुख दीपक सिंहले जानकारी दिए।
तर हाल सरकारले महँगा मोबाइल आयातमा रोक लगाएको छ। यसको असर आइफोन आयातमा पनि परेको छ।
'प्रतिबन्ध हटेसँगै आइफोन-१४ र अरू मोडलका फोन बजारमा आउनेछन्,' सिंहले भने।
नेपाली बजारमा इ-सिम लाग्ने फोन अहिले पनि उपलब्ध छन्। आइफोनकै, सामसङ, हुवावे, गुगल, ओप्पो, सोनीका फोनमा इ-सिम हाल्न मिल्ने फिचर छ। नेपाल टेलिकमले ल्याएपछि यी फोनका सिमकार्ड निकालेर इ-सिम प्रयोग गर्न सकिन्छ।
इ-सिमको मूल्य कति पर्छ भन्नेबारे अहिले कुनै जानकारी छैन। टेलिकमका प्रवक्ता अधिकारी यसको मूल्य निर्धारण गर्न बाँकी रहेको बताउँछन्।
हालको सिमकार्ड पचास रूपैयाँमै लिन सकिन्छ। यसका लागि व्यक्तिको विस्तृत विवरण हुने 'केवाइसी' फारम भर्नुपर्छ र सरकारको मान्यता प्राप्त कागजात (नागरिकता/पासपोर्ट/मतदाता कार्ड) हरू आवश्यक पर्छ।
'इ-सिम लिन पनि यिनै कागजात आवश्यक पर्छ,' प्रवक्ता अधिकारीले भने, 'यसबाहेक अन्य कागजात आवश्यक परे सर्वसाधरणलाई जानकारी गराइने छ।'
अधिकारीका अनुसार इ-सिम उपलब्ध गराउनेसम्बन्धी गत वैशाखमा मात्रै नेपाल टेलिकम र मोन्टी युके ग्लोबलको स्थानीय प्रतिनिधि अल्टिमेट होराइजन टेक्नोलोजिज प्रालिबीच सम्झौता भएको थियो। मोन्टी युके ग्लोबलले टेलिकमका ग्राहकलाई इ-सिम सेवा उपलब्ध गराउन आवश्यक प्लेटफर्म उपलब्ध गराउनेबारे सम्झौता भएको हो।
'यो भनेको भौतिक कुनै संरचना निर्माण गर्ने भनिएको होइन। नेपालमा इ-सिम उपलब्ध गराउने भनिएको हो,' अधिकारीले स्पष्ट पारे।
अहिले बजारमा उपलब्ध मोबाइल सेटमा धेरैमा तीन वटा सिमकार्ड चल्छन्। इ-सिममा भने ग्राहकले आफ्नो उपकरणअनुसार २० वटासम्म नेटवर्क (सिमसरह) चलाउन सकिनेछ। तर एकपटकमा एउटा मात्रै नेटवर्कसँग कनेक्ट हुन्छ। त्यस्तै यसका लागि फोनमा यो फिचर हुन आवश्यक हुन्छ।
यस्तो सुविधाले कुनै व्यक्ति विदेश जाँदैछ भने विदेशको नेटवर्क सेवा लिएरै पुरानो नेटवर्क पनि राखिराख्न सक्छ। त्यसलाई हटाउन वा अहिलेजस्तो सिम निकाल्नुपर्ने झन्झट बेहोर्नु पर्दैन। विदेशमा उतैको इ-सिम लिएर सहजै विदेशी नेटवर्कसँग कनेक्ट हुन सकिन्छ। आवश्यकता अनुसार नेटवर्कबाट डिस्कनेक्ट वा मोबाइलबाट उक्त इ-सिम हटाउन पनि सकिने अधिकारीले जानकारी दिए।
अहिले कम्पनीहरूले इ-सिम लाग्ने मोबाइल सेट उत्पादन गर्न थालिसकेका छन्। एप्पलले चार वर्षअघि नै आइफोन-एक्सएस मोडलबाट इ-सिम फिचर ल्याएको थियो।
अनलाइन इ-सिम स्टोर 'होलाफ्लाई' ले इ-सिम चल्ने विभिन्न फोनहरूको सूची तयार पारेको छ। आइफोन- एक्सएसहित आइफोन-११, आइफोन-एसई (२०२०), आइफोन-१२, आइफोन-१३ र आइफोन १४ का साथै सामसङ ग्यालेक्सी फोल्ड, ग्यालेक्सी फोल्ड- ३, ग्यालेक्सी जेड फ्लिप, ग्यालेक्सी एस-२०, एस-२१, एस- २२, नोट-२० लगायत मोडलमा इ-सिम चल्छ।
यसबाहेक हुवावे पी-४०, पी-४० प्रो, मेट-४० प्रो, मोटोरोला आरएजेडआर-२०१९, आरएजेडआर- फाइभ जी, ओप्पो फाइन्ड- ३ प्रो, रेनो-५ ए, रेनो-६ प्रो फाइच जी, फाइन्ड एक्स-५, एक्स-५ प्रो र ए-५५ एसमा पनि इ-सिम लाग्छ।
गुगल पिक्सेल-३, पिक्सेल-३ ए, पिक्सेल-४, पिक्सेल-४ ए, पिक्सेल-५, पिक्सेल-६, पिक्सेल-६ ए र पिक्सेल-६ प्रोमा पनि इ-सिम चलाउन सकिन्छ।
नेपाल टेलिकमले मोबाइलका लागि मात्र नभएर स्मार्टवाचहरूका लागि इ-सिम ल्याउने तयारी गरिरहेको प्रवक्ता अधिकारी बताउँछन्। इ-सिम चलाउन सकिने स्मार्टवाचहरू नेपाली बजारमा पाइन्छ। कतिपय विकसित मुलुकमा ल्यापटपमा पनि इ-सिम फिचर आइसकेको छ।
नेपाल दूरसञ्चार प्राधिकरणको गत जेठमा सार्वजनिक तथ्यांकअनुसार हाल बजारमा विभिन्न नेटवर्क प्रदायकमार्फत चार करोड ५ लाख ६९ हजार एक सय ११ वटा सिम वितरण भइसकेको छ। नेपाल टेलिकमको मात्रै बजारमा दुई करोड १३ लाख ७७ हजार १०४ वटा सिम वितरण भएको छ।
त्यसैले बजारमा इ-सिमको संख्या एकैपटक बढाउन चुनौतीपूर्ण रहेको टेलिकमका प्रवक्ता अधिकारी बताउँछन्।
'नेपाली बजारमा इ-सिम लाग्ने उपकरणको संख्या नै कम छ। त्यसैले वितरणपछि पनि हामी यसको संख्या एकैपटक बढ्छ भन्नेमा निश्चित छैनौं,' उनले भने।